विर्तामोडस्थित डोमालाल रङ्गशालामा जारी छैटौँ संस्करणको झापा गोल्डकपको आजको खेलमा एपिएफ फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। एपिएफले बागमती युथ क्लबलाई ४–३ गोल अन्तरले हराउँदै सेमिफाइनल यात्रा सुरक्षित गरेको हो ।
एपिएफका तर्फबाट सुमन श्रेष्ठ, फोडे फोफोना, कुलदीप कार्की र प्रदीप लामाले गोल गरेका थिए ।
एपिएफ ‘ए’ डिभिजन लिगबाट रेलिगेसनमा परेको टिम हो। यद्यपि, एपिएफले अर्काे क्लबमाथि गरेको उजुरी छानबिन नभएसम्म यसको निर्णय भएको छैन।
एपिएफले पहिलो चरणको खेलमा ‘टाइब्रेकर’मा सङ्कटा फुटबल क्लबलाई हराउँदै क्वार्टर फाइनल प्रवेश गरेको हो।
खेलको १०औँ मिनेटमा पेनाल्टी एरियाबाट बागमतीका अनिल राना मगरले गरेको कडा प्रहार फ्रेममा पर्न सकेन । २६औँ मिनेटमा सनम धिमालले पेनाल्टी एरियाबाट गरेको प्रहार एपिएफका गोलरक्षक एञ्जल श्रेष्ठले पञ्च गरेर बचाए ।
खेलको ‘प्लेयर अफ द म्याच’ एपिएफ फुटबल क्लबका गोलरक्षक एञ्जल श्रेष्ठ घोषित भएर रु ११ हजार नगद पुरस्कार प्राप्त गरे । पहिलो चरणको खेलमा पनि श्रेष्ठ ‘प्लेयर अफ द म्याच’ भएका थिए । मङ्गलबारको दोस्रो क्वार्टर फाइनल खेल एनआरटी फुटबल क्लब काठमाडौँ र चर्च ब्वाइज युनाइटेड काठमाडौँबीच हुनेछ ।