एसियाली फुटबल महसंघ (एएफसी) को तेस्रो श्रेणीको क्लब स्तरीय फुटबल प्रतियोगिता एएफसी च्यालेन्ज लिग २०२४-२५ सिजन आजबाट सुरु हुँदैछ।
लिगमा नेपलको लिग च्याम्पियनको हैसियतमा चर्च ब्वाइज युनाइटेडले भाग लिँदैछ।
चर्च ब्वाइजले प्रारम्भिक चरणको खेलमा आज भुटानको पारो एफसीसँग खेल्दैछ। यो खेलमा जित हात पार्ने टोली समूह चरणमा पुग्नेछ।
च्यालेन्ज लिगको समूह चरणमा २० टोलीले प्रतिस्पर्धा गर्नेछन्। १८ टोलीले खेल्ने पक्का हुँदा दुई टोली प्रारम्भिक छनोटबाट पुग्नेछन्।
२० टोलीलाई चार-चार टोली सम्मलित पाँच समूहमा विभाजन गरिनेछ। जसमा पश्चिम क्षेत्रका तीन समूह र पूर्व क्षेत्रका दुई समूहमा प्रतिस्पर्धा हुनेछ।
आज दशरथ रंशगालामा पारो र चर्च ब्वाइजबीचको खेलमा जित हात पार्ने टोली पश्चिम क्षेत्रको समूह चरणमा पुग्नेछ। एएफसी च्यालेन्ज लिगको कम्पिटिसन रेगुलेसनमा उल्लेख भएअनुसार समूह चरणमा पुग्ने टोलीलाई तयारी खर्च स्वरुप १ लाख अमेरिकी डलर प्रदान गरिनेछ। त्यसैले आज दशरथ रंशगालामा जित हात पार्ने टोलीले समूह चरणको तयारीका लागि १ लाख डलर प्राप्त गर्ने पक्का छ।
एएफसीले समूह चरणमा खेल्ने २० टोलीका लागि १-१ लाख डलर दिनेछ। समूह चरणमा एक जितको २० हजार डलर पुरस्कार हुनेछ।
समूह चरणमा एक समूहको खेल एकै स्थानमा हुनेछन्। त्यसपछि क्वार्टरफाइनल पुग्ने आठ टोलीले थप ८० हजार डलर र सेमिफाइनल पुगे थप १ लाख २० हजार डलर रकम प्राप्त गर्नेछन्।
लिगको विजेताले १० लाख डलर र उपविजेताले ५ लाख डलर पुरस्कार पाउनेछ।