एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणको खेलमा नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड भुटानको पारो एफसीसँग पराजित भएको छ।
मंगलबार हिलाम्मे दशरथ रंगशालामा २-१ गोलले पराजित भएसँगै चर्च ब्वाइज लिगको समूह चरणमा पुग्न असफल भएको छ।
खेलको ३९ मिनेटमा लाकेन लिम्बूले गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाए।
एक मिनेटपछि भुटानी क्लबले बराबरी गोल फर्कायो। उसका किकमा वाङचुकले बराबरी गोल गरे।
पारोले ६७ मिनेटमा अग्रता लियो। उसका लागि विलियम वोपुकुले डिबक्स बाहिरबाट हानेको शक्तिशाली प्रहारले गोल पोस्टको दिशा लिएको थियो।
पारोबाट जापानका स्टार खेलाडी होन्डाले खेले। जापानबाट तीनपटक विश्व कप खेलेका उनी कप्तानको भूमिकामा थिए। यसअघि उनले नेपालको मैदानलाई खराब भनेका थिए। उनले भनेझैं दशरथ रंगशालाको स्थिति मंगलबार खराब रह्यो। वर्षाका कारण मैदान हिलाम्मे हुँदा बल पास हुन ढिलाइ भएको थियो। यस्तै हिलोका कारण खेलाडीले कुद्न समस्या भएको थियो।
विजेता लिगको समूह चरणमा पुगेको छ। एएफसीको तेस्रो श्रेणीको लिगको समूह चरणमा २० टिमबीच प्रतिस्पर्धा हुनेछ। पाँच समूहमा चार चार टिम हुनेछन्। एक समूहको खेल एकै भेन्यूमा हुनेछ।