आगामी आइतबारदेखि दशरथ रंगशालामा साफ यू-२० च्याम्पियनसिप हुँदैछ।
खेल तालिकाअनुसार समूह ‘ए’ मा नेपाल, बंगलादेश र श्रीलंका छन्। समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन्।
आगामी आइतबार नेपाल र श्रीलंकाबीच दिउँस चार बजे उद्घाटन खेल हुनेछ। प्रतियोगिताका समूह चरणका ६ खेल, सेमिफाइनलका २ खेल र फाइनल गरी कुल ९ खेल दशरथ रंगशालामा गर्ने तयारी छ।
तर दशरथ रंगशालाको मैदानको अवस्था खराब भएपछि त्यसको विकल्पमा अर्को मैदानमा खेलाउन एन्फाले दक्षिण एसियाली फुटबल महासंघ (साफ) लाई पत्राचार गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा साफ यू-२० प्रतियोगिता गराउन सकिने विषयमा साफलाई एन्फाले पत्राचार गरेको हो।
‘प्रतियोगिताको म्याच कमिसनर भोलि आइपुग्नुहुन्छ। दशरथ रंगशालाको निरिक्षण गरेपछि उहाँले निर्णय गर्नुहन्छ,’ एन्फाका प्रवक्ता सुरेश शाहले भने, ‘दशरथ रंगशालामा खेलाउन असम्भव भएमा हामीले एन्फा कम्प्लेक्समा प्रतियोगिता गराउने तयारी गरेका छौं।’
यसअघि मंगलबार एएफसी च्यालेन्ज लिगअन्तर्गत नेपालको लिग च्याम्पियन चर्च ब्वाइज क्लब र भुटानको पारोबीच प्रारम्भिक चरणको खेलमा दशरथ रंगशालामा खेल भएको थियो।
तर मैदान हिलो हुँदा आलोचना भएको थियो। हिलोका कारण बल राम्ररी गुड्न सकेको थिएन भने दश मिनेटको खेल नसकिदै दुवै टोलीका खेलाडी जर्सी तथा बुट हिलाम्मे भएको थियो। यस्तै चिप्लोका कारण खेलाडीहरुलाई कुद्न समस्या भएको थियो भने प्रहार गरेको बल ठाँउमा पुग्न कठिनाइ भएको थियो।
खेलमा जापानी स्टार होन्डाले पारोको कप्तानी गरेका थिए। उनको कप्तानीमा पारोले २-१ ले खेल जितेको थियो। खेलअघि होन्डा तथा पारोले मैदानको अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै खराब भएको प्रतिक्रिया दिएका थिए।