साफ यू-२० च्याम्पियनसिपमा भारतले विजयी सुरुवात गरेको छ।
सोमबार एन्फा कम्प्लेक्समा भएको समूह ‘बी’ को खेलमा साविक विजेता भारतले भुटानमाथि १-० गोलको कठिन जित निकाल्यो।
भारतका लागि खेलको ३७ मिनेटमा मनिरुल मल्लले गरेको गोल निर्णायक सावित भयो। उनले कर्नर बलमा हेडमार्फत् गोल गरेका थिए।
गोल गरेपछि उनले भारतको कोलकातामा डाक्टरको बलात्कारपछि हत्या भएको घटनाको 'पीडितलाई न्याय' लेखिएको टिसर्ट देखाएका थिए।
खेलमा भुटानले इन्जुरी समयको अन्तिम मिनेटमा बराबरी गर्ने अवसर गुमाएको थियो।भुटानका कप्तान पेमाको प्रहार पोलमा लागेको थियो।
खेलमा भारतका दुई र भुटानका एक खेलाडीले रातो कार्ड पाए। दोस्रो हाफमा फ्रिकक हान्ने क्रममा हात हालाहाल हुँदा रेफ्रीले भारतका प्रम्भिर गुइ र केल्भिन सिंहलाई रातो कार्ड दिए। यस्तै झगडा गरेका भुटानका किन्ले ग्यालसेनले पनि रातो कार्ड पाए।
प्रतियोगितामा भोलि समूह ‘ए’ को खेलमा श्रीलंका र बंगलादेश खेल्नेछन्।
नेपालले पहिलो खेलमा श्रीलंकालाई १-० गोलले हराएको थियो। नेपालले दोस्रो खेल बिहीबार बंगलादेशसँग खेल्नेछ।