साफ यू-२० च्याम्पियनसिपअन्तर्गत समूह ‘ए’ को विजेताका लागि नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा भइरहेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भइरहेको खेलको पहिलो हाफमा नेपालले २-१ गोलको अग्रता लिएको छ।
खेलमा नेपालले दुई मिनेटको अन्तरमा दुई गोल गरेको थियो। खेलको १७ मिनेटमा समिर तामाङको गोलबाट नेपालले अग्रता लियो।
डिबक्स बाहिर रहेका बंगलादेशका गोलकिपर हसन साब्रोनले बल नियन्त्रण गर्न ढिला गरेपछि समिरले उनको खुट्टाबाट बल खोस्दै खाली पोस्टमा गोल गरेका थिए।
त्यसको एक मिनेटपछि निराजन धामीले नेपालको अग्रता दोब्बर पारे। उनले डिबक्स भित्र प्राप्त पासमा उत्कृष्ट फिनिसिङ गरेका थिए।
बंगलादेशले ४२ मिनेटमा पेनाल्टीबाट गोल गर्यो। नेपालका राम थापाले बंगलादेशका मिराजुल इस्लामलाई डिबक्सभित्र लगाए पनि रेफ्रीले पेनाल्टी दिने निर्णय गरे। केही मिनेटअघि मैदान छिरेका इस्लामले पेनाल्टीमा गोल गर्न सफल भए।
नेपाल र बंगलादेश दुवै टोली यसअघि नै सेमिमफाइनलमा पुगिसकेका छन्। दुवैले पहिलो खेलमा श्रीलंकालाई हराएका थिए। आजको खेल जित्ने टोली समूह विजेता बन्नेछ।