एएफसी वुमन्स च्याम्पियन्स लिग २०२४-२५ मा नेपालको प्रतिनिधित्व गर्दै सशस्त्र प्रहरी बलको एपिएफ क्लबले डेब्यू गर्दैछ।
यो प्रतियोगिता एसियाली फुटबल महासंघ (एएफसी) ले नयाँ स्वरुपमा सुरु गर्न लागेको हो। यो एसियाका महिला फुटबल क्लबको उच्चस्तरीय प्रतियोगिता हो।
प्रतियोगितामा नेपालको एपिएफले लिग च्याम्पियनको हैसियतमा डेब्यू गर्न लागेको हो।
जसमा एपिएफले प्रारम्भिक चरणमा प्रतिस्पर्धा गर्नेछ। प्रारम्भिक चरणमा एपिएफ समूह ‘सी’ मा छ। एपिएफले उज्वेकिस्तानको पिएफसी नासाफ र मलेसियाको सबा एफएसँग खेल्नेछ।
मलेसियामा हुने प्रारम्भिक चरणका खेल आइतबारदेखि सुरु हुनेछन्। नेपालले आइतबार नसाफसँग खेल्नेछ। यस्तै दोस्रो खेलमा सबासँग बुधबार खेल्नेछ।
तीन मध्ये शीर्ष हुने टोली समूह चरणमा पुग्नेछ। समूह चरणमा पुग्न सक्ने टोलीले समूह चरणमा चीनको वुहान जियान्दा र दक्षिण कोरिया इन्चोन रेड एन्जल्स र अर्को प्रारम्भिक चरणको टोलीसँग प्रतिस्पर्धा गर्नेछ।
प्रारम्भिक चरणको खेलका लागि एपिएफ बिहीबार राति मलेसिया प्रस्थान गरिसकेको छ।