साफ यू-२० च्याम्पियनसिपको उपाधिका लागि आयोजक नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको छ।
सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दोस्रो सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा ४-३ गोलले पराजित गर्दै बंगलादेशले नेपालसँगको उपाधि भिडन्त पक्का गरेको हो।
निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएको थियो।
त्यसपछि भएको पेनाल्टी सुटआउटमा भारतीय खेलाडीको पहिलो र चौथो प्रहार बंगलादेशका गोलकिपर सब्रोनले विफल पार्दै आफ्नो टोलीलाई फाइनल पुर्याए।
बंगलादेशका लागि पेनाल्टी प्रहार गरेका सबै खेलाडी सफल भए।
यसअघि पहिलो सेमिफाइनलमा नेपालले पनि भुटानलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो।
फाइनल बुधबार दशरथ रंगशालामा हुनेछ।
बंगलादेश र नेपाल यसअघि समूह चरणमा पनि भिडेका थिए। सो खेलमा नेपाल २-१ गोलले विजयी भएको थियो।