अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकपको फाइनल खेलमा टिकट बिक्रीबाटै रु १० लाखभन्दा बढी संकलन भएको छ। सोमबार फाइनल खेल हेर्नका लागि चार हजार ५६ जना दर्शकले टिकट लिएका थिए।
प्रतिव्यक्ति रु दुई सय ५० का दरले टिकट बिक्री गरिएको थियो। उक्त टिकट बिक्रीबाट रु १० लाख १४ हजार सङ्कलन भएको आयोजकले जनाएको छ। फाइनल खेल करिब १२ हजार दर्शकले अवलोकन गरेको आयोजक लाखेजात्रा सञ्चालन समितिले जनाएको छ।
पहिलो चरणका खेल हेर्न रु एक सय, सेमिफाइनलका खेल हेर्न रु दुई सय र फाइनल खेल हेर्नका लागि रु दुई सय ५० दरका टिकट निर्धारण गरिएको थियो। दर्शकको सुविधाका लागि प्याराफिट निर्माणसहितका काममा मोटो रकम खर्च हुने भएकाले टिकट काट्नुपर्ने बाध्यता रहेको आयोजकले बताएको छ।
गोल्डकपको उपाधि भने सगरमाथा युथ क्लब मोरङले जितेको छ। सलहेस यूथ क्लब सिरहालाई १–० गोल अन्तरले पराजित गर्दै मोरङले उपाधि जितेको हो। सगरमाथा युथ क्लबलाई उपाधिका लागि खेलको तीन मिनेटमै विजय भुजेलले गरेको गोल नै निर्णायक बन्यो।
विजेता मोरङले नगद रु पाँच लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता सलहेस युथ क्लब सिरहाले नगद रु दुई लाख ५० हजार पाँच सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
सगरमाथाले घरेलु टोली सङ्घर्ष स्पोर्टिङ युवा क्लबलाई २–१ गोल अन्तरले र सलहेस युथ क्लबले विर्तामोड युनाइटेड फुटबल क्लब झापालाई ट्राईबेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका थिए।
प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लब, बुटवल लुम्बिनी फुटबल क्लब, भारत सिलगढीको कञ्चनजङ्घा फुटबल क्लबसहित आठ टिम सहभागी थिए। लाखेजात्राका अवसरमा भदौ ३ गतेदेखि प्रतियोगिता शुभारम्भ भएको थियो।
हरेक वर्ष लाखेजात्राका अवसरमा आयोजना हुँँदै आएको प्रतियोगिताले खेल पर्यटनको विकाससँगै जिल्लाको पहिचान थप बलियो हुँदै गएको आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङले बताए।