एन्फा महिला लिगमा कोशी प्रदेशले विजयी सुरुवात गरेको छ।
आइतबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको उदघाटन खेलमा कोशीले वालिङ नगरपालिका स्याङ्जालाई ४-० गोलले पराजित गर्यो।
कोशीको जितमा सन्जु तामाङले दशौं मिनेटमा पहिलो गोल गरिन्। समिक्षा मगरले ५१ र ५९ मिनेटमा गरी दुई गोल गरिन्। वालिङकी यम विकले ६९ मिनेटमा आत्मघाती गोल गर्दा कोशीले सहज जिततर्फ अघि बढेको थियो।
लिगमा १० टोलीबीच प्रतिस्पर्धा हुँदैछ। कोशी, सुदूरपश्चिम, चन्द्रपुर नगरपालिका, एपिएफ, त्रिभुवन आर्मी, संकटा, नेपाल पुलिस, बागमती, कर्णाली र वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा हुँदैछ।
२०७८ को चैतमा चितवनमा भएको लिगपछि पहिलो पटक महिला लिग हुन लागेको हो।
लिगको पहिलो चरणमा सिंगल राउन्ड रोविनका आधारमा खेल हुनेछन्। त्यसपछि शीर्ष पाँच टोलीबीच डबल राउन्ड रोविन हुनेछन्।
जहाँबाट शीर्ष चार टोलीले क्वालिफायर हुँदै फाइनल खेल्नेछन्।
लिगको विजेतालाई १० लाख र उपविजेतालाई ५ लाख तथा उत्कृष्ट खेलाडी तथा फेयर प्ले टिमले १-१ लाख पाउनेछन्। उत्कृष्ट गोलकिपर र उच्च गोलकर्ताले समान ५० हजार रुपैयाँ पाउनेछन्।