उरूग्वेका स्ट्राइकर लुइस स्वारेजले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन्।
स्वारेजले विश्वकप छनोटअन्तर्गत शनिबार पाराग्वेविरुद्धको खेल आफ्नो देशको लागि अन्तिम खेल हुने पुष्टि गरेका छन्। संन्यासको घोषणा गर्दा ३७ वर्षीय स्ट्राइकरको आँखामाआँशु थिए।
इंग्लिस क्लब लिभरपुल र स्पेनिस क्लब बार्सिलोनाबाट व्यावसायिक खेल खेलेका स्वारेज आफ्नो देशका महान् खेलाडीमा पर्छन्।
उनले उरूग्वेका लागि १४२ खेलमा ६९ खेल गरे। उनी उरूग्वेका लागि सर्वाधिक गोलकर्ता समेत हुन्।
उनले सन् २००७ को फेब्रुअरीमा कोलम्बियाविरूद्धको खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेका थिए।
‘म राष्ट्रिय टोलीसँग मेरो अन्तिम खेल खेल्दै आराम गर्न चाहन्छु। अन्तिम खेल खेल्नको लागि उस्तै उत्साहित हुनेछु जस्तो म २००७ मा पहिलोपटक मेरो राष्ट्रिय टोलीबाट खेल्दा थिएँ,’ भावुक हुँदै उनले भने, ‘त्यो १९ वर्षीय केटा अब एक अनुभवी खेलाडी हो, एक पुरानो खेलाडी।’
स्वारेजले उरूग्वेका लागि ९ वटा प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगिता खेले।
२०१० को विश्वकपको क्वार्टरफाइनलमा घानालाई सेमिफाइनलमा पुग्नबाट रोक्न अतिरिक्त समयको अन्तिम मिनेटमा गोल लाइनमा ह्यान्ड गर्दा उनले रातो कार्ड पाएका थिए।
सन्डरल्याण्डका पूर्वस्ट्राइकर असामोह ग्यानले त्यसपछिको पेनाल्टमा गोल गर्न सकेनन्। त्यसपछि उरूग्वेले ४० वर्षमा पहिलोपटक विश्वकपको सेमिफाइनलमा स्थान बनाउँदा पेनाल्टी सुटआउटमा खेल जित्यो।
२०११ मा अर्जेन्टिनामा भएको कोपा अमेरिकामा उरूग्वे जित्दा उनी चार गोलका साथ प्रतियोगिताको दोस्रो सर्वाधिक गोलकर्ता भए।
२०१४ को विश्वकपमा उनले उरूग्वेलाई समूह चरणमा इंग्ल्याण्डविरुद्ध जित दिलाउन दुई गोल गरेका थिए। समूहको अन्तिम खेलमा इटालीका डिफेन्डर जर्जियो चिलिनीलाई टोक्दा उनी विवादित बने। त्यसपछि उनलाई नौ खेलको अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाइएको थियो जसका कारण उनले २०१५ कोपा अमेरिका गुमाएका थिए।
उनले २०१८ र २०२२ को विश्वकप पनि खेले भने उनले कोपा अमेरिकाको पाँच संस्करणमा सहभागिता जनाए।