पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट तत्काल संन्यास लिने आफ्नो कुनै योजना नभएको बताएका छन्। तर उनले समय आएपछि संन्यास लिने निर्णय गर्न गाह्रो नहुने समेत बताएका छन्।
३९ वर्षीय रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबल इतिहासमा २१२ खेलमा १३० गोल गरिसकेका छन्। उनी सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने र गोल गर्ने खेलाडी हुन्।
युइएफए नेसन्स लिगमा उनी क्रोएसिया र स्कटल्यान्डविरूद्ध खेल्ने पोर्चुगिज टोलीमा छन्।
युरोपियन च्याम्पियनसिप २०२४ मा निराशाजनक प्रदर्शनपछि रोनाल्डोको अन्तर्राष्ट्रिय करिअरबारे प्रश्न उठेको थियो। युरो २०२४ मा उनले गोल गर्न सकेनन्।
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड, स्पेनिस रियल म्याड्रिड र इटालियन क्लब युभेन्ट्सका पूर्वखेलाडी रोनाल्डो हाल साउदी अरबको क्लब अल-नासरमा आबद्ध छन्।
‘समय आएपछि अगाडि बढ्छु,’ संन्यास बारे उनले भने, ‘यो निर्णय गर्न गाह्रो हुनेछैन। अब केही पनि योगदान गर्न सक्दिन भन्ने लाग्यो भने म छोड्ने पहिलो हुनेछु।’
पाँच पटकको बालोन डि'ओर विजेता रोनाल्डोले युरो २०२४ पछिको आलोचनाको बाबजुद ‘राष्ट्रिय टोली छोड्ने विचार कहिल्यै नगरेको’ पनि स्पष्ट पारेका छन्।
रोनाल्डो र ४१ वर्षीय डिफेन्डर पेपे युरो २०२४ का सबैभन्दा पाका दुई खेलाडी थिए।
यूरोबाट बाहिरिएपछि पोर्चुगलका पूर्व अन्तर्राष्ट्रिय खेलाडी जोसे फन्टेले भनेका थिए, ‘उनीहरूलाई थाहा छ कि यो राष्ट्रिय टोलीको अन्त्य हो। उनीहरूले पोर्चुगलको लागि धेरै गरेका छन्। कहिलेकाहिँ तपाईंले आफ्नो ठाउँ युवा केटाहरूलाई दिनुपर्छ।’
त्यसपछि पेपेले संन्यास लिएका थिए। तर रोनाल्डोले भने अझै राष्ट्रिय टोलीबाट खेल्ने बताएका छन्।
‘जब मैले राष्ट्रिय टोली छोड्छु, म कसैलाई पहिले नै बताउँदिन र यो मेरो तर्फबाट धेरै सहज निर्णय हुनेछ, तर यो धेरै राम्रोसँग सोचेपछि मात्र हुनेछ,’ उनले भने।