ब्राजिलका लिजेन्ड फुटबलर रोबर्टो कार्लोस आगामी चैत ९ गते नेपाल आउने भएका छन्।
नेपाल सुपर लिग (एनएसएल) का लागि शुक्रबार काठमाडौं आउने भनिए पनि उनी चैत ९ गते आउने भएका हुन्। उनी चैत १० सम्म नेपालमा बस्नेछन्।
उनी स्वास्थ्यको कारण शुक्रबार नेपाल आउन नसक्ने भएको थिए।
कार्लोस सन् २००२ मा ब्राजिलले विश्वकप जित्दा प्रमुख खेलाडी थिए। त्यसअघि सन् १९९८ को विश्वकपको फाइनल खेल्दा पनि उनी टोलीका लागि महत्वपूर्ण खेलाडी थिए।
५१ वर्षीय कार्लोसले ब्राजिलका लागि सन् १९९२ देखि २००६ सम्म १२५ खेलमा ११ गोल गरेका थिए।
उनी लेफ्टब्याकमा विश्वमा कहलिएका खेलाडी थिए। उनले प्रहार गरेको फ्रिकिक बलले घुमाउरो रूप लिँदै विपक्षी टिमको पोष्टको जाली चुमेको दृश्य फुटबलप्रेमीहरूले बिर्सन सक्दैनन्। स्पेनिस क्लब रियाल मड्रिडबाट लामो समय क्लब फुटबल खेलेका उनी ब्राजिलले २००२ को विश्वकप जित्दाका महत्वपूर्ण टिम सदस्य थिए।