साविक विजेता ललितपुर सिटी एफसी नेपाल सुपर लिग २०२५ को फाइनलमा पुगेको छ।
शनिबार दशरथ रंगशालामा भएको पहिलो क्वालिफायरको खेलमा १० खेलाडीमा सीमित ललितपुरले धनगढी एफसीलाई २-१ गोलले हराउँदै फाइनलमा पुगेको हो।
खेलको १६औं मिनेटमै ललितपुर १० खेलाडीमा सीमित बन्यो। उसका मणिकुमार लामालाई रेफ्रीले रातो कार्ड देखाएका थिए। बल प्रहार गर्ने क्रममा धनगढीका जाउएनीले मणिको छातिमा हानेको देखिए पनि रेफ्री उमेश बिडारीले मणीलाई रातो कार्ड देखाए भने जाउएनीले पहेँलो कार्ड मात्र पाए।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ललितपुरले ५७ मिनेटमा बेलफोर्डको गोलबाट अग्रता लियो।
६१ मिनेटमा धनगढीले बराबरी गोल फर्कायो। उसका लागि जर्जप्रिन्स कार्कीले डिबक्समा क्लियर नभएको बलमा गोल गरे।
७९ मिनेटमा ललितपुरले खेलमा दोस्रो पटक अग्रता लिएको थियो। उसका लागि पापा केबेले उत्कृष्ट गोल गरेका थिए।
तनावग्रस्त खेलमा ललितपुरका पेपे डिएकेटलाई आक्रमक व्यवहार देखाएपछि रेफ्रीले रातो कार्ड दिएका थिए।
अब इलिमिनेटमा चितवन एफसी र पोखरा थन्डर्सबीच खेल हुनेछ। यो खेलको विजेताले दोस्रो क्वालिफायरमा धनगढीसँग खेल्नेछ। दोस्रो क्वालिफायरको विजेता र ललितपुरबीच उपाधि भिडन्त हुनेछ।