एन्फा प्रेसिडेन्ट लिग फुटबल २०८२ अन्तर्गत मकवानपुरस्थित गौरीटार खेल मैदानमा बिहीबार भएको खेलमा काँक्रेविहार युथ क्लबले हैरान्स यूथ क्लबलाई ३–२ ले हराएको छ।
काँक्रेविहारका लागि सुजन बालाम्पाकी मगर, आशिष् चापागाँइ र अनीश घर्ती क्षेत्रीले गोल गरे। हैरान्सका लागि समराज थोकर र विश्व लामाले गोल गरे । विजयी टोलीका रोहन कार्की सो खेलको म्यान अफ द म्याच घोषित भए ।
अर्को खेलमा टाइगर्स टिमले गाईघाटलाई २–१ ले हरायो। विजयी टोलीका सुजन लामा र आशिष श्रेष्ठले गोल गरे।
गाईघाटका युगन राईले गोल गरे । टाइगर्स टिमका सुसन लामा प्लेयर अफ द म्याच घोषित भए ।
२ मङ्सिरसम्म हेटौडामा आयोजना हुने लिगमा १० टोलीको सहभागिता छ । सहभागी टोलीमा गाईघाट फुटबल क्लब, देउराली यूथ क्लब, नव जागृति क्लब, चित्लाङ फुटबल क्लब, टाइगर्स टिम टिकालाथाल, जन जागृति युवा क्लब,काँक्रेविहार यूथ क्लब, विजय स्पोट्र्स क्लब,हैरान्स क्लब र लालिगुराँस एसोसिएसन क्लब छन् ।
लिग कम नकआउटको आधारमा सञ्चालन हुने सो प्रतियोगितामा विजेता टोलीले १० लाख रुपैयाँ पुरस्कार पाउने छ। उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। दुवै समूहमा शीर्ष दुई स्थान पाउने टोली सेमिफाइनल प्रवेश गर्ने छन्। सेमिफाइनल प्रवेश गर्ने टोलीले राष्ट्रिय लिगमा प्रवेश पाउने छन्। राष्ट्रिय लिग पुसमा हुने छ।