नवौं राष्ट्रिय खेलकुदको कार्यकारी समितिको बैठकले विभिन्न १२ विषयगत उपसमिति गठन गर्ने निर्णय गरेको छ।
कार्यकारी समितिका संयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङको अध्यक्षतामा बुधबार बसेको बैठकले १४ मध्ये १२ उपसमिति गठन गर्ने निर्णय गरेको हो। विषयगत उपसमितिका संयोजक र सचिव पनि तोकिएको छ।
बाँकी दुई उपसमिति सुरक्षा प्रबन्ध र अनुसन्धान उपसमिति चाँडै गठन गरिने बैठकको निर्णय सार्वजनिक गर्न बुधबारै आयोजित पत्रकार सम्मेलनमा सदस्य–सचिव घिसिङले जानकारी गराए।
समारोह उपसमितिको संयोजकमा राखेपका सदस्य एकेन्द्र कुँवर र सचिवमा प्रशासकीय अधिकृत शारङ्गिन् निरौला, प्राविधिक उपसमितिको संयोजकमा नायब वरिष्ठ प्रशिक्षक हिमालराज दाहाल र सचिवमा नायब वरिष्ठ प्रशिक्षक प्रचण्ड शर्मा छन्।
खेलस्थल व्यवस्थापन उपसमितिको संयोजकमा राखेपका सदस्य राजेश गुरुङ र सचिवमा प्रशिक्षण प्रमुख कृष्णप्रसाद तिमिल्सिना, बसोबास व्यवस्थापन उपसमितिको संयोजकमा राजकुमार थापा र सचिवमा प्रशासकीय अधिकृत चन्द्रकुमार राई रहेका छन्।
अनुशासन उपसमितिको संयोजकमा पेमा लामा र सचिवमा कानून शाखाका प्रमुख नारायणराज अर्याल तथा स्वास्थ्य उपसमितिको संयोजकमा डा. बुलन्द थापा र सचिवमा ज्ञानेन्द्रविक्रम शाह रहेका छन्।
त्यस्तै यातायात व्यवस्था उपसमितिको संयोजकमा राखेपका सदस्य प्रकाश कुसारी र सचिवमा पौडी शाखाका प्रमुख देवराज कटुवाल, प्रचार प्रसार उपसमितिको संयोजकमा दिपेन्द्र विष्ट र सचिवमा मकवानपुर जिल्ला खेलकुद विकास समितिका प्रमुख खुसराज दाहाल रहेका छन्।
खेल सामाग्री तथा पोशाक व्यवस्थापन उपसमितिको संयोजकमा राखेपका सदस्य अन्जन धमला र सचिवमा आपूर्ति तथा भण्डार शाखाका प्रमुख सुजन खतिवडा, श्रोत परिचालन उपसमितिको संयोजकमा बागमती प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारी र सचिवमा संघ संस्था समन्वय शाखाका प्रमुख सरोजकुमार पोखरेल, स्वयंसेवक उपसमितिको संयोजकमा राखेपका सदस्य जनक बर्तौला र सचिवमा प्रशासकीय अधिकृत लिलाराम बस्नेत तथा एन्टी डोपिङ उपसमितिको संयोजकमा डा. नमिसमान प्रधान र सचिवमा प्रशासकीय अधिकृत दोबे तामाङ छन्।