राष्ट्रिय खेलकुद परिषदको ११३ औ बैठक युवा तथा खेलकुद महेश्वर गहतराजको अध्यक्षतामा आज बसेको छ।
बैठकमा नवौं राष्ट्रिय खेलकुदको विषयमा छलफल भएको छ। बैठकले नवौं राष्ट्रिय खेलकुदमा खेलाडी तथा अफिसियललाई दैनिक २ हजार रूपैयाँ भत्ता दिने निर्णय गरेको छ।
यस्तै प्रदेश छनोटका लागि आवश्यक बजेट उपलब्ध गराउने र सम्वन्धित जिल्ला तथा प्रदेशका खेलाडीहरुले मात्र सम्बन्धित टिममा सहभागी हुनुपर्ने पनि निर्णय गरिएको छ।
प्रदेश तथा विभागिय टिमहरुले भदौ १५ गते सम्म खेलाडीको संख्या र २५ गते सम्म नाम दर्ता गराई सक्नुपर्नेछ। यस्तै प्रत्येक टिमबाट खेलाडी महिला ३३९ र पुरुष ३६९ जनाको कोटा निर्धारण गरिएको छ।
प्रतियोगिताको एकल प्रतिष्पर्धामा स्वर्णपदक विजेता खेलाडीलाई २५ हजार, टिम इभेन्टमा स्वर्ण विजेतालार्ई रु १५ हजार तथा नयाँ राष्ट्रिय रेकर्ड राख्ने खेलाडीलाई ५० हजार रूपैयाँ उपलव्ध गराइनेछ।
प्रतियोगिताको मूल ट्रफी प्रधानमन्त्रीबाट सार्वजनिक गरिने तथा ट्रफीलाई सातै प्रदेश तथा तीन विभागिय टोलीको मुख्यालयमा प्रर्दशन गरिनेछ।
बोर्ड बैठकले परिषदको कर्मचारी सेवा,शर्त सम्वन्धी विनियम तयार गर्न परिषद सदस्य प्रकाश कुसारीको संयोजकत्मा समिति गठन गर्ने निर्णय गरेको छ।
परिषदको भौतिक संरचना तथा सम्पत्ति यकिन तथा प्रदेशमा हस्तान्तरण सम्वन्धी परिषद सदस्य अन्जन धमलाको संयोजकत्वमा समिति गठन गरिएको छ।
खेल संघ विवाद सहजिकरणमा उपाध्यक्ष शिव कोईरालाको संयोजकत्वमा समिति गठन गर्ने निर्णय भएको छ।
परिषद अन्तर्गत कार्यरत कर्मचारीहरुलाई अर्को व्यवस्था नभए सम्मका लागि कामकाज गर्न प्रदेश खेलकुद संरचनामा पठाइने भएको छ।
२०२३ मा हुने चौधौं साग, २०२३ मा हुने १९ औ एशियाली खेलकुद, २०२४ मा पेरिस ओलम्पिक, २०२६ मा शितकालिन ओलम्पिक र २०२६ को डकार युथ ओलम्पिक गेम्सका तयारीका लागि बजेट व्यवस्था तथा तयारी गर्ने पनि निर्णय भएको छ।
बैठका अन्य निर्णयमा ओ एन्ड एम सर्भे समिति गठन, खेलाडी छात्रवास निर्माण र मूलपानीमा एनएससी फिट्नेस सेन्टरको स्थापना गर्ने रहेका छन्।