सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबारको महत्वपूर्ण खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १३३ रनको सामान्य लक्ष्य दिएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले ६ विकेटको क्षतिमा १३२ रन बनायो।
खराब सुरूवात गरेको जनकपुरका लागि संगिथ कुरेले नटआउट ४५ रन बनाए। उनले ३८ बलमा २ चौका र १ छक्का प्रहार गरे। मयन यादवले २३ बलमा नटआउट २७ रन बनाउने क्रममा १ चौका र १ छक्का प्रहार गरे।
उसका ओपनर माज सदाकत ६ रनमा जेजे स्मिटको बलमा विकेटकिपर निरोशन डिक्वेलाबाट इनिङको पाँचौ बलमै आउट भए।
चौथो ओभरमा अनिलकुमार साह ७ रन बनाएर पेभिलियन फर्के। अनिल रुबेन ट्रम्पलम्यालनलाई चौका प्रहार गरे लगत्तै एलबिडब्लूको धरापमा परे।
पावरप्लेमा तेस्रो विकेट गुमाउने क्रममा जनकपुरका ओपनर आशिफ शेख २० रनमा शेर बल्लको बलमा ट्रम्पलम्यानबाट क्याच भए। आशिफले १७ बलमा २ चौका र १ छक्का प्रहार गरे।
शुभ कंसाकारले ११ रन जोड्न सके। लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले १४औं ओभरमा लगातार २ विकेट लिए।उनले दोस्रो बलमा सञ्जय कृष्णमूर्तिलाई डार्शी सटबाट क्याच गराए। उनले ११ बलमा १४ रनको योगदान गरे। लगत्तै अर्को बलमा कप्तानको भूमिकामा रहेका यान निकोल लफ्टी इटन एलबिडब्लूको धरापमा परे।
बलिङमा लुम्बिनीका शेर मल्ल र रोहित पौडेलले २-२ विकेट लिए। मल्लले ४ ओभरमा २० रन दिए भने पौडेलले २ ओभरमा १५ रन खर्चिए। जेजे स्मिट र ट्रम्पलम्यानले १-१ विकेट हात पारे।
यसअघिका दुई खेलमा कप्तानी गरेका वायन पार्नेलको स्थानमा नामिबियाका यान निकल लफ्टी इटनले जनकपुरको कप्तानी गरेका थिए। त्यसअघि जनकपुरको कप्तान अनिलकुमार साह थिए।
खेलका लागि लुम्बिनीमा कुनै परिवर्तन गरिएको छैन भने जनकपुरमा वायन पार्नेलको स्थानमा संगिथ कुरे रहेका छन्।
लुम्बिनी लायन्स
रोहित पौडेल (कप्तानी) सन्दीप जोरा, दिलिप नाथ, शेर मल्ल, अभिशेष गौतम, सुमित महर्जन, तिलकराज भण्डारी, जेज स्मित, रूबेन ट्रम्पलम्यान, निरोशन डिक्वेला (विकेटकिपर), डार्शी शर्ट।
जनकपुर बोल्ट्स
आशिफ शेख (विकेटकिपर), अनिलकुमार साह, शुभ कंशाकार, सचिन भट्ट, मयन यादव, आदित्य महता, रुपेश सिंह, संगिथ कुरे, माज सदाकद, यान निकोल लफ्टी इटन, सञ्जय कृष्णमुर्थि
कसलाई के चाहिन्छ?
एनपिएलको लिग चरणका खेल अन्तिम चरणमा पुगेका छन्। अब लिग चरणका अन्तिम चार खेल बाँकी छन्।
आठ टोलीबीचको प्रतिस्पर्धामा शीर्ष चार टोली प्लेअफमा पुग्नेछन्। अन्तिम चार खेल बाँकी रहदा तीन टोलीको प्लेअफमा स्थान पक्का भइसकेको छ। सुदूरपश्चिम रोयल्सले लगातार ६ खेलमा जित निकालेर शीर्ष स्थान पक्का गरिसकेको छ।
यस्तै सबै खेल खेलिसकेको काठमान्डु गोर्खाज पनि ७ मध्ये ५ खेलमा जित निकालेर प्लेअफमा पुगेको छ।
बिहीबार सुदूरपश्चिमले चितवन राइनोजलाई पराजित गरेपछि अंक तालिकाको तेस्रो स्थानको विराटनगर किंग्सको पनि शीर्ष चार स्थान पक्का भएको थियो।
अब शीर्ष चारमा रहेर प्लेअफमा पुग्नका लागि एक टोली बाँकी छ। लुम्बिनी लायन्स, चितवन राइनोज, पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्समध्ये एक टोली मात्र प्लेअफमा पुग्नेछ।
चार टोलीको समिकरणमा लुम्बिनीको मात्र आफ्नै हातमा छ। लुम्बिनीले जित निकालेको अवस्थामा बाँकी रहेका तीन टोली सिधै बाहिरिनेछन्।
लुम्बिनी पराजित भएमा मात्र बाँकी तीन टोलीको सम्भावना हुनेछ। तर उनीहरूले आफ्ना सबै खेल जितेर मात्र पुग्दैन अरु टोलीको रनरेटमा पनि भर पर्नुपर्नेछ।
अब लिग चरणमा शुक्रबार लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच खेल हुँदैछ। शुक्रबार हुने यहि नतिजाले अरू टोलीको यात्राको निर्क्यौल गर्नेछ।
शनिबार विराटनगर किंग्स र सुदुरपश्चिम रोयल्सबीचको खेलले प्लेअफ समिकरणमा प्रभाव पार्नेछैन। यद्यपी ठूलो अन्तरको जितले विराटनगर शीर्ष दुईमा पर्न सक्छ।
शनिबार नै चितवन राइनोज र पोखरा एभेन्जर्स भिड्दैछन्। शुक्रबार लुम्बिनी पराजित भए मात्र चितवन र पोखराबीचको विजेताको प्लेअफ सम्भावना हुनेछ।
यस्तै आइतबारको अन्तिम खेलमा जनकपुर र कर्णाली याक्सबीच खेल हुनेछ। कर्णाली याक्सका प्लेअफबाट बाहिरिसकेको छ। जनकपुरका लागि प्लेअफमा पुग्न तीन वटा नजिता आफ्नो पक्षमा आउनुपर्छ।
पहिलो आज लुम्बिनीलाई पराजित गर्नु पर्छ, दोस्रो शनिबार चितवन र पोखराबीचको खेलको हार जित कम अन्तरको हुनुपर्छ। र आइतबार कर्णालीलाई हराउनु पर्छ। आज लुम्बिनीसँग पराजित भएमा आजै खेल खत्तम हुनेछ, जनकपुरको मात्र होइन अरु टोलीको पनि यात्रा सकिनेछ।