सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबारको महत्त्वपूर्ण खेलमा जित निकालेसँगै लुम्बिनी लायन्स शीर्ष चारमा रहेर प्लेअफमा पुग्ने चौथो टोली बनेको छ।
लिगको आफ्नो अन्तिम खेलमा साविक विजेता जनकपुरलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले प्लेअफमा स्थान पक्का गरेको हो।
यसअघि सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज र विराटनगर किंग्सले प्लेअफमा स्थान बनाएका थिए। यससँगै जनकपुर, पोखरा एभेन्जर्स र चितवन राइनोज बाहिरिएका छन्। कर्णाली याक्स यसअघि नै बाहिरिएको थियो।
सुदूरपश्चिमले शीर्ष स्थान पक्का गरिसकेको छ। अब शनिबार हुने सुदूरपश्चिम र विराटनगर किंग्सबीचको खेलले दोस्रो हुने टोलीको टुंगो लाग्नेछ। विराटनगरका लागि दोस्रो हुन ठूलो अन्तरको जित आवश्यक छ। विराटनगरले सानो अन्तरको जित वा पराजय भोगेमा काठमान्डु दोस्रो हुनेछ। विराटनगर तेस्रो र लुम्बिनी चौथो हुनेछन्।
आज लुम्बिनीले जित हात पारेसँगै शनिबार हुने चितवन र पोखराबीचको दोस्रो खेल तथा आइतबार राति हुने कर्णाली याक्स र जनकपुरबीच हुने औपचारिकतामै सीमित हुनेछ। यी दुई खेलले प्लेअफमा कुनै अर्थ राख्नेछैन।
अंक तालिकाको शीर्ष दुई टोलीले मंगलबार पहिलो क्वालिफायर खेल्नेछन्। जित हात पार्ने टोली मंसिर २७ गते हुने फाइनलमा पुग्नेछ। हार्ने टोलीले दोस्रो क्वालिफायरमा पुगेर फाइनल पुग्ने अवसर प्राप्त गर्नेछ।
तेस्रो र चौथो हुने टोलीले बुधबार इलिमिनेटर खेल्नेछन्। इलिमिनेटरको विजेता टोली दोस्रो क्वालिफायरमा पुग्नेछ भने हार्ने टोली बाहिनेछ।
बिहीबार दोस्रो क्वालिफायर हुनेछ। जित हात पर्ने टोली फाइनल पुग्नेछ भने हार्ने टोली बाहिरिनेछ।
लगातार तेस्रो जित निकाल्दै लुम्बिनी शीर्ष चारमा
लगातार तेस्रो जित निकाल्ने क्रममा लुम्बिनीले शुक्रबार जनकपुरले दिएको १३३ रनको लक्ष्य ६ विकेटको क्षतिमा १९.१ ओभरमा पूरा गर्यो। यसअघि लुम्बिनीले पाँचौ खेलमा पोखरा र छैटौं खेलमा विराटनगरलाई पराजित गरेको थियो।
लुम्बिनीको जितमा कप्तान रोहितकुमार पौडेलले ३४ रनको योगदान गरे। रोहितले १२औं ओभरमा मयन यादवबाट एलबिडब्लू आउट हुनुअघि ३२ बलमा २ चौका र १ छक्का प्रहार गरे।
त्यसअघि ओपनर सुमित महर्जन गोल्डेन डकआउट भए। उनलाई इनिङको पहिलो बलमा संगिथ कुरेले बोल्ड गरेका थिए।
अर्का ओपनर डार्शी सटले भने ३० रन बनाए। आठौैं ओभरमा कुरेकै एलबिडब्लूको धरापमा पर्नुअघि सटले २४ बलमा १ चौका र २ छक्का प्रहार गरे।
खेलमा रोमाञ्चकता त्यतिबेला थपियो जतिबेला लुम्बिनीका रोहित आउट भए लगत्तै अर्को बलमा जनकपुरले सन्दीप जोरालाई शून्यमा पेभिलियन फर्कायो। १२औैं ओभरको पाँचौ बल र छैटौं बलमा मयनले दुवैलाई एलबिडब्लूको धरापमा पार्दा लुम्बिनीका चार ब्याटर आउट भए। यो ओभरमा मयनले २ विकेट लिँदा ३ रन मात्र दिएका थिए।
त्यसपछि निरोशन डिक्वेला र जेजे स्मिटले लुम्बिनीलाई अघि बढाए। डिक्वेला २४ रनको साझेदारी भयो। डिक्वेला १६औं ओभरमा सञ्जय कृष्णमूर्तिबाट फेरि एलबिडब्लू आउट भए। त्यतिबेला लुम्बिनीलाई जितका लागि २५ रन चाहिएको थियो।
अन्त्यमा जेजे २१ रन बनाएर आउट हुन पुगे। उनी १८औं ओभरको पाँचौ बलमा कृष्णमूर्तिको बलमा अनिल साहबाट बाउन्ड्रीमा क्याच भए। अन्तिम ओभरमा तीन रन चाहिएको बेला पहिलो बलमा दिलीप नाथले चौका प्रहार गर्दै टोलीलाई जित दिलाए। नाथले नटआउट १५ रन बनाए भने ट्रम्पलम्यानले नटआउट ६ रन बनाए। १९औं ओभरमा ट्रम्पलम्यानको क्याच मिस हुँदा जनकपुरको आशा सकिएको थियो।
बलिङमा जनकपुरका संगिथ कोरीले ३ विकेट लिए भने मयन यादवको नाममा २ विकेट रह्यो।
टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले ६ विकेटको क्षतिमा १३२ रन बनायो।
खराब सुरूवात गरेको जनकपुरका लागि संगिथ कुरेले नटआउट ४५ रन बनाए। उनले ३८ बलमा २ चौका र १ छक्का प्रहार गरे। मयन यादवले २३ बलमा नटआउट २७ रन बनाउने क्रममा १ चौका र १ छक्का प्रहार गरे।
उसका ओपनर माज सदाकत ६ रनमा जेजे स्मिटको बलमा विकेटकिपर निरोशन डिक्वेलाबाट इनिङको पाँचौ बलमै आउट भए।
चौथो ओभरमा अनिलकुमार साह ७ रन बनाएर पेभिलियन फर्के। अनिल रुबेन ट्रम्पलम्यालनलाई चौका प्रहार गरे लगत्तै एलबिडब्लूको धरापमा परे।
पावरप्लेमा तेस्रो विकेट गुमाउने क्रममा जनकपुरका ओपनर आशिफ शेख २० रनमा शेर बल्लको बलमा ट्रम्पलम्यानबाट क्याच भए। आशिफले १७ बलमा २ चौका र १ छक्का प्रहार गरे।
शुभ कंसाकारले ११ रन जोड्न सके। लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले १४औं ओभरमा लगातार २ विकेट लिए।उनले दोस्रो बलमा सञ्जय कृष्णमूर्तिलाई डार्शी सटबाट क्याच गराए। उनले ११ बलमा १४ रनको योगदान गरे। लगत्तै अर्को बलमा कप्तानको भूमिकामा रहेका यान निकोल लफ्टी इटन एलबिडब्लूको धरापमा परे।
बलिङमा लुम्बिनीका शेर मल्ल र रोहित पौडेलले २-२ विकेट लिए। मल्लले ४ ओभरमा २० रन दिए भने पौडेलले २ ओभरमा १५ रन खर्चिए। जेजे स्मिट र ट्रम्पलम्यानले १-१ विकेट हात पारे।
यसअघिका दुई खेलमा कप्तानी गरेका वायन पार्नेलको स्थानमा नामिबियाका यान निकल लफ्टी इटनले जनकपुरको कप्तानी गरेका थिए। त्यसअघि जनकपुरको कप्तान अनिलकुमार साह थिए।
लुम्बिनी लायन्स
रोहित पौडेल (कप्तानी) सन्दीप जोरा, दिलिप नाथ, शेर मल्ल, अभिशेष गौतम, सुमित महर्जन, तिलकराज भण्डारी, जेज स्मित, रूबेन ट्रम्पलम्यान, निरोशन डिक्वेला (विकेटकिपर), डार्शी शर्ट।
जनकपुर बोल्ट्स
आशिफ शेख (विकेटकिपर), अनिलकुमार साह, शुभ कंशाकार, सचिन भट्ट, मयन यादव, आदित्य महता, रुपेश सिंह, संगिथ कुरे, माज सदाकद, यान निकोल लफ्टी इटन, सञ्जय कृष्णमुर्ति