सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आज फाइनल खेल हुँदैछ।
त्रिवि मैदान कीर्तिपुरमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच आज उपाधि भिडन्त हुँदैछ।
शनिबार अपराह्न साढे तीन बजेदेखि सुरू हुने खेलबाट दोस्रो संस्करणको च्याम्पियन टुंगो लाग्नेछ।
सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो।
इलिमिनेटरमा काठमान्डु गोर्खाज् र दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई नै पराजित गरेर लुम्बिनीले पनि फाइनलमा स्थान पक्का गरेको हो।
लिग चरणका सातमध्ये ६ खेल जितेर सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा रहँदै प्लेअफ पुगेको थियो। उसले लिग चरणमा विराटनगरसँग मात्रै हार ब्यहोरेको थियो।
लुम्बिनी लिग चरणमा ७ मध्ये ४ खेल जितेर ८ अंक बनाउँदै तालिकाको चौथो स्थानमा रहेर प्लेअफ पुगेको थियो।
उसले लिग चरणमा जनकपुर, विराटनगर, पोखरा र चितवनलाई पराजित गरेको थियो।
लिग चरणमै सुदूरपश्चिमसँग भने लुम्बिनी ७ विकेटले पराजित भएको थियो।
लिग चरणको हारको बदला लिँदै प्रतियोगिताको उपाधि जित्ने लुम्बिनीको लक्ष्य रहनेछ।
सुदूरपश्चिम पहिलो संस्करणमा उपविजेतामै सीमित भएको थियो। अघिल्लो संस्करणमा असफल भएको उसका लागि यसपालि सफल हुँदै उपाधि जित्ने मौका हुनेछ।
लुम्बिनीका कप्तान नेपाली राष्ट्रिय टिमका समेत कप्तान रहेका रोहित पौडेल छन्। सुदूरपश्चिमको कप्तानी दीपेन्द्रसिं ऐरी छन्। उनी राष्ट्रिय टिमका उपकप्तान हुन्।
लुम्बिनीमा रोहित पौडेल (कप्तान), दिनेश अधिकारी, समीर अली, तिलकराज भण्डारी, थोमस ड्राका, अभिषेश गौतम, दुर्गेश गुप्ता, सन्दीप जोरा, आदिल खान, सुमित महर्जन, शेर मल्ल, गुलबदीन नाइब, दिलीप नाथ (विकेटकिपर), विशाल पटेल, डार्सी सर्ट, जेजे स्मिथ र रुबेन ट्रम्पलम्यान छन्।
सुदूरपश्चिममा दीपेन्द्र सिंह ऐरी (कप्तान), विनोद भण्डारी (विकेटकिपर), अविनाश बोहरा, दीपक बोहरा (विकेटकिपर), मिलन बोहरा, जोश ब्राउन, हेमन्त धामी, स्कट कुगेइलिन, क्रिस लिन, हिम्मत महरा, ईशान पाण्डे, टेक रावत (विकेटकिपर), नरेन साउद, हर्मीत सिंह, आरिफ शेख र दीपेन्द्र थापा (विकेटकिपर) रहेका छन्।