जिरीमा पुनः पर्यटकीय गतिविधि सुचारू गराउने उद्धेश्यले युवा सञ्जाल जिरीले विजया दशमी तथा सुभ दिपावलीको अवसरमा जिरी च्याम्पियनशिप २०७८, बागमती प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता एवं खुला म्याराथन दौड प्रतियोगिता आयोजना गर्ने भएको छ।
पर्यटन तथा खेलकुद विकास, वातावरण संरक्षण एवं सुसासनको क्षेत्रमा विगत ६ वर्षदेखि काम गर्दै आएको युवा सञ्जालले तत्कालिन समयको दोलखाकै सर्वाधिक धनराशी भएको जिरी च्याम्पियनशिप, राष्ट्रिय हुचिल तथा लाटोकोसेरो उत्सव, जिरी स्ट्रिट फुड फेस्टिभललगायत दर्जनौं कार्यक्रम गरिसकेको छ।
‘कोभिड १९ महामारीका कारण विगत २ वर्षदेखि देशमा खेलकुद, मनोरन्जन, पर्यटनलगायत गतिविधि ठप्प छ। अधिकांस समय घरभित्र नै बस्नुपर्ने बाध्यात्मक परिस्थितिका कारण आम मानिस शारीरिक तथा मानसिक समस्याबाट गुज्रिरहेका छ। त्यसैले यस खेलकुद प्रतियोगिताको माध्यमबाट सम्पूर्ण खेलाडी तथा दर्शकलाई कोभिड महामारीको दुख कस्ट, पीडा भुलाउँदै अत्यधिक मनोरन्जन प्रदान गर्ने हाम्रो उद्देश्य हो’, युवा सञ्जालका अध्यक्ष केन्द्र ज्योति खड्काले भने।
उनले प्रतियोगिताको माध्यमबाट पर्यटकीय नगरी जिरीको पर्यटन व्यवसाय पुनः लयमा फर्कने बताए।
प्रतियोगिता सञ्चालनका लागि जिरी नगरपालिका र दोलखा समाज जापानले सहयोग गर्ने भएका छन्।
खेलकुदको माध्यममबाट सुन्दर पर्यटकीय नगरी जिरीको पर्यटन प्रवर्धन गर्नुका साथै प्रतियोगिताबाट उत्कृष्ट खेलाडीको पहिचान गरि उनीहरुलाई अन्य उच्चस्तरको प्रतियोगितामा छनोटको अवसर दिनु कार्यक्रमको प्रमुख उद्धेश्य रहेको अध्यक्ष खड्काले बताए।
हाई अल्टिच्युड माउन्टेन म्याराथनमार्फत साहासिक खेल पर्यटनको प्रवर्धन गर्नु पनि प्रतियोगिताको मुख्य लक्ष्य रहेको उनले बताए।
भलिबल प्रतियोगिता लिङ्कन बजारस्थित जिरी प्राविधिक शिक्षालयको प्राङ्गढमा हुने भएको छ। यस्तै म्याराथका लागि जिरी माउन्टे भ्याली सर्किटलाई रूट तय गरिएको आयोजकले जानकारी दिएको छ।
प्रतियोगितामा बागमति प्रदेश भित्रका पालिकाले भाग लिन पाउनेछन्। प्रतियोगिता कात्तिक १२ देखि १५ सम्म हुने भएको छ। टिम दर्ताका लागि कात्तिक ८ गतेसम्म मिति तोकिएको छ।
प्रतियोगिताको अनुमानित खर्च ९ लाख त्रिपन्न हजार गरिएको छ। विजेताले भलिबलतर्फ नगद १ लाख, दोस्रो हुनेले ५० हजार, तेस्रो हुनेले २५ हजार र सान्तवना १० हजार तथा ट्रफी र मेडल पाउनेछन्।
यस्तै म्याराथनतर्फ विजेताले २० हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार पुरस्कार पाउनेछन्।