प्रदेश नम्बर १ सरकारले त्यहाँको खेलकुद विकास बोर्डको सदस्य सचिवमा पर्शुराम बस्नेतलाई नियुक्त गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न राजनीतिक नियुक्त गर्दै बस्नेतलाई खेलकुद विकास बोर्डको सदस्य सचिव नियुक्त गरेको हो।
उनलाई यसअघिको शेरधन राईको सरकारले नै नियुक्त गर्न खोजेको थियो। तर, तत्कालीन सामाजिक विकास मन्त्री जीवन घिमिरेले अडान लिएका कारण बस्नेतको नियुक्ति हुन सकेको थिएन।
बस्नेत आपराधिक पृष्ठभूमिबाट राजनीतिमा आएका हुन्। उनी खेलकुदको गतिविधिमा असंलग्न व्यक्ति भए पनि प्रदेश सरकारले बोर्डको सदस्य सचिव नै बनाएको हो।
आपराधिक गतिविधिबाट अकुत आर्जन गरेको आरोप पुष्टि हुन नसकेको भन्दै सर्वोच्च अदालतले उनलाई हालसालै सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा सफाइ दिएको थियो।
उनी हाल नेकपा एमालेको प्रदेश कमिटी सदस्य छन्। बस्नेत एमाले अध्यक्ष केपी ओलीसँग निकट सम्बन्ध राख्छन्।
बैठकले प्रदेश पर्यटन बोर्डको सदस्यमा विराटनगरका फणिन्द्र अधिकारी, सुनसरीका देवी गौतम, सोलुखुम्बुका भीमराज राई, धनकुटाका उमेश घिमिरे, सुनसरीकी प्रेरणा थापा र झापाकी इन्दिरा श्रेष्ठलाई नियुक्त गरेको छ।
बैठकले प्रदेश श्रम सल्लाहकार समिति गठन गरेको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ। उपाध्यक्ष राजीव घिमिरे र सदस्यहरूमा भीम घिमिरे, सरोज श्रेष्ठ, सीता उपाध्याय, रञ्जु सिग्देल, किशोर धमला, अरुण थापा, नारायणबाबु कार्की, सुनिता घिमिरे, टिका प्रसाईं, निलम साह सोनारलाई नियुक्त गरेको छ।
प्रदेश सरकार गठन भएलगत्तै अल्पमतमा रहेका मुख्यमन्त्री भीम आचार्यले कार्यकर्तालाई नियुक्ति दिन आयु लम्ब्याएको आरोप विपक्षी दलले लगाउँदै आएका छन्।