एसिसि यू–१९ प्रिमियर कपको उपाधिका लागि युएईलाई नेपालले २ सय ८१ रनको लक्ष्य दिएको छ।
मलेसियमा जारी खेलमा टस जितेर ब्याटिङ थालेको नेपालले उक्त लक्ष्य दिएको हो।
कप्तान देव खनालको कीर्तिमानी शतकको मद्दतमा नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८० रनको योगफल तयार पारेको थियो। खनालले ९० बलमा शतक रन पुरा गरेका थिए ।
नेपालले खराब सुरूआत गरेको थियो। नेपालले १४ रन जोड्दा २ विकेट गुमाइसकेको थियो।
उत्तम थापा मगरले ५७ रन जोडे भने अर्जुन कुमालले ५५ रन बनाए। अर्जुन र देवले तेस्रो विकेटका लागि एक सय २५ रनको उत्कृष्ट शतकीय साझेदारी गरे। दीपक डुम्रेले २८ रन बनाए भने दीपेश कँडेलले १०, दीपक बोहराले पाँच, हेमन्त धामीले सात तथा विशाल विक्रम केसी तीन रनमा आउट भए।
युएईका लागि हरित शेठ्ठीले पाँच विकेट लिए भने कप्तान आयन खानले दुई विकेट लिए।