प्रदीप खड्का र अभिलाषा विष्टले तेश्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको सिंगल्स उपाधि शनिबार जितेका छन्। पुरुषमा प्रदीप र महिलामा अभिलाषा च्याम्पियन बनेका हुन्।
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको पुरुष फाइनलमा प्रदीपले ऋतिक राणालाई ७–५, ४–६ र ६–३ को सेटमा पराजित गरे।
महिलाको उपाधि भिडन्तमा अभिलाषाले प्रकृति श्रेष्ठलाई ६–० र ६–० ले सहजै हराइन्। पुरुष/महिला दुवैमा पहिलो हुनेले १ लाख तथा दोश्रोले ५० हजारका दरले नगद पुरस्कार हात पारे।
प्रदीप र अभिलाषाले प्रतियोगितामा दोहोरो स्वर्ण जिते। दुवैले डबल्समा पनि स्वर्ण जिते। प्रदीपले निहालजंगबहादुर थापा तथा अभिलाषाले माहिका राणासंग मिलेर स्वर्ण हात पारेका हुन्।
भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा पूर्व सिंगल्स राष्ट्रिय च्याम्पियन जितेन्द्र परियार पहिलो भए। उनले फाइनलमा कमलबहादुर भण्डारीको चुनौती ६–२, १–६ र १०–८ ले पन्छाए। जितेन्द्रले ५० हजार तथा कमलले २५ हजार नगद पुरस्कार पाए।
वीर गणेशमान सिंह फाउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा संयुक्त आयोजित प्रतियोगिता सिनियर, भेट्रान र जुनियरमा गरी जम्मा २३ स्पर्धामा प्रतिस्पर्धा भएको थियो। यसअघि भेट्रान ३५ वर्षमाथि पुरुष डबलसमा सुभाष बस्नेत र सन्तोष खत्री, ४५ वर्षमाथि पुरुष सिंगल्समा महेश श्रेष्ठ, ४५ वर्षमाथि पुरुष डबल्समा रोहित सुनुवार र यज्ञबहादुर भण्डारी, ५५ वर्षमाथि पुरुष सिंगल्समा विमलकुमार गुरुङ, ५५ वर्षमाथि पुरुष डबल्समा सुदर्शन विष्ट र जीवन घिमिरे तथा ६५ वर्षमाथि पुरुष सिंगल्समा कमल थापा पहिलो भए।
जुनियरमा शिभाली गुरुङ, विश्वविशेष डल्लाकोटी, सरा पन्त र वृजेश अर्यालले पनि दोहोरे स्वर्ण जित्न सफल भए। शिभालीले यु–१२ र यु–१४ गल्र्स सिंगल्समा स्वर्ण जितिन्। विश्वले यु–१० र यु–१२ ब्वाइज सिंगल्सको फाइनलमा बाजी मारे। सरा यु–९ र यु–१० गल्र्स सिंगल्समा अब्बल बनिन्। यु–१४ ब्वाइज सिंगल्समा स्वर्ण जितेका वृजेशले डबल्समा साश्वत वज्राचार्यसंग मिलेर पहिलो बने।
त्यस्तै यु–८ सिंगल्सको ब्वाइजमा भिरल अग्रवाल र गल्र्समा निम्ति कुँवर, यु–९ ब्वाइज सिंगल्समा निश्चल ज्ञवाली तथा गल्र्स डबल्समा स्वस्तिका विष्ट र मेरिशा थापाले शीर्ष स्थान हात पारे।
विजेतालाई पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह, प्रतियोगिता संयोजक भाष्करमान सिंह, नागर्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत, तार्केश्वर नगरपालिकाका मेयर हरिकृष्ण महर्जन, नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा र महासचिव मनोहरदास मुल, आयोजक कमिटीका अध्यक्ष सन्जिव तुलाधरलगायतले एक कार्यक्रमबीच पुरसकार वितरण गरे।
आठदिने प्रतियोगितामा करिब २ सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए। जुनियरमा बाहेक सबै स्पर्धमा नगद पुरस्कारको व्यवस्था थियो। जम्मा ९ लाख ४ हजार ३ सय ७५ रुपैयाँ नगद पुरस्कार वितरण गरियो। जुनियरका पदक विजेतालाई भने गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो।