नेपाल कराते महासंघको आयोजनामा सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिप मंसिर १६ गतेदेखि हुने भएको छ।
प्रतियोगितामा दक्षिण एसियाका ६ राष्ट्रको सहभागिता रहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपाल कराते महासंघका अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव युवराज लामाले जानकारी गराए।
नेपालसहित बंगलादेश, भुटान, भारत, पाकिस्तान र श्रीलंकाले दुई दिने प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्। प्रतिबन्धमा रहेकाले श्रीलंकाको भने एनओसी टिम सहभागी हुने जनाइएको छ।
क्याडेट, जुनियर, यु–२१ र सिनियरमा गरी ४ विधामा जम्मा ६२ स्वर्णका लागि प्रतिस्पर्धा हुने कराते महासंघका महासचिव दावा गुरुङले जानकारी दिए। क्याडेटमा १२, जुनियरमा १५, यु–२१ मा १६ र सिनियरमा १९ स्पर्धामा खेल हुनेछ।
जम्मा ३ सय ५३ खेलाडीको सहभागिता रहने जनाइएको छ। सबै स्पर्धामा भाग लिने नेपालबाट ६८ खेलाडीले चुनौती प्रस्तुत गर्ने छन्। नेपाली खेलाडीको प्रशिक्षणका लागि ६ प्रशिक्षक र २ व्यवस्थापकको व्यवस्था गरिएको छ। कुमुते टोली गोकर्णेश्वरस्थित शंखडोल कराते एकेडेमी तथा काता टोली बौद्ध डोजामा प्रशिक्षणरत छन्।
अध्यक्ष लामाले यस प्रकारको प्रतियोगिता २५ वर्षपछि आयोजना गर्न लागेको बताउदै प्रतियोगिताले करातेको गरिमा अझ बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।
लामाले प्राविधिक रुपमा यो प्रतियोगिता बंगलादेशले आयोजना गर्नु पर्नेमा बंगलादेशले प्रस्ताव नै नगरेकाले नेपालले आयोजनाका लागि प्रस्ताव गरेकोमा एसियाली कराते महासंघ (एकेएफ) ले पनि स्वीकृति दिएको जानकारी गराए।
‘प्राविधिक रुपले यो प्रतियोगिता बंगलादेशले गर्नु पर्ने थियो। बंगलादेशले प्रस्ताव नै राखेन। हामीले प्रस्ताव राखिम। एकेएफको जोड पनि नेपाललाई नै रह्यो।’ लामाले भने– ‘प्रतियोगितासंगै हामीले सेमिनार पनि गर्ने सहमति मागिम्। सेमिनारका लागि पनि एकेएफबाट स्वीकृति प्राप्त भयो।’
एकेएफ र राखेपबाट स्वीकृति पाएको प्रतियोगितालाई विश्व कराते महासंघ (डब्लुकेएफ) र नेपाल ओलम्पिक कमिटीले पनि मान्यता दिएको कराते महासंघले जनाएको छ।
प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुनेछ। खेल खेलाउन ३ टाटामी (म्याट) प्रयोग गरिने छ। आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब १ करोड १० लाख रुपैयाँ खर्च हुनेछ।
प्रतियोगिताअघि मंसिर १२ गतेदेखि एकेएफ रेफ्री सेमिनार सातदोबाटोस्थित कराते एकेडेमी हलमा हुनेछ। मंसिर १५ गते दक्षिण एसियाली कराते महासंघको कोंग्रेस पनि हुनेछ।