टेबलटेनिस खेलाडी स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिक २०२४ को लागि छनोट भएका छन्। काठमाडौंमा भएको दक्षिण एसियाली टेबलटेनिस छनोटको पुरुष एकलको फाइनल खेल जित्दै स्यान्टुले ओलम्पिकका लागि स्थान पक्का गरेका हुन्।
उनी छनोट पार गरेर ओलम्पिक खेल्ने पहिलो टेबलटेनिस खेलाडी र तेस्रो नेपाली खेलाडी बनेका छन्। यसअघि तेक्वान्दोका संगिना बैद्य र दीपक विष्टले छनोट पार गरेर ओलम्पिक खेलेका थिए।
स्यान्टुले बुधबार भएको फाइनल भिडन्तमा आफ्नै देशका संयोग कपालीलाई ४-३ ले पराजित गरेका हुन्। संयोगको भने ओलम्पिक खेल्ने सपना पूरा हुन सकेन।
यसअघि स्यान्टुले सेमिफाइनलमा श्रीलंकाका चमिरा गिनिगे र संयोगले अर्का श्रीलंकन खेलाडी जयसनका डी सिल्भालाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका थिए। फाइनलमा दुई नेपाली खेलाडीले स्थान पक्का गरेसँगै नेपालका टेबलटेनिस खेलाडीले छनोट पार गरेर ओलम्पिक खेल्ने पक्का भएको थियो।
ओलम्पिकको दक्षिण एसियाली छनोटमा पुरुष र महिलातर्फ एक/एक वटा कोटा थियो। जसमा महिलातर्फ माल्दिभ्सकी फतिमा धीमाले स्थान पक्का गरिन्। उनी फाइनलमा श्रीलंकन प्रतिद्वन्द्वी बन्दरासँग पराजित भइन्। नेपालकी इभाना श्रेष्ठ उनै बन्दरासँग सेमिफाइनलमा रोकिएकी थिइन्।
नेपालका लागि इतिहास रचेका स्यान्टुले यसअघि २०२२ मा पोखरामा भएको नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण जितेका थिए।
त्यसअघि उनले सन् २०१९ मा १३ औं दक्षिण एसियाली खेलकुद (साग) चार पदक हात पारेर इतिहास बनाएका थिए। जसमा १ रजत र ३ कास्य थिए।
स्यान्टुले सिंगल्समा कास्य, पुरुष टिम एभेन्टमा रजत, मेन्स डबल्स र मिक्स डबल्समा कास्य जितेका थिए।
साग सुरु हुनुअघि दुर्घटनामा घाइते भएका स्यान्टु केहि साता अस्पताल बसेपछि प्रशिक्षणमा फर्किएका थिए। उनका लागि भनेर छुट्टै छनोट समेत गरिएको थियो।
सागमा चार पदक जितेको तीन वर्षपछि स्यान्टु अस्ट्रेलिया पलाएन भएका थिए। टेबलटेनिसमा आफ्नो भविष्य नदेखेपछि स्यान्टु निरास थिए। जसका कारण उनले अस्ट्रेलिया जाने निर्णय गरेका थिए। तर उनी घरेलु प्रतियोगिताका लागि नेपाल आएका थिए।