एभरेस्ट महिला भलिबल लिग प्रतियोगितामा कर्णाली यश्विज लगातार तेस्रो खेलमा विजयी भएको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भडहलमा बुधबार भएको खेलमा ललितपुर क्विन्समाथि ३-० सोझो सेटमा जित निकालेको छ।
लगातार तेस्रो खेलमा जित निकालेसँगै कर्णाली अंक तलिकाको शीर्ष स्थानमा उक्लिएको छ।
यता यसअघि लगातार दुई खेलमा जित निकालेको ललितपुरको भने यो पहिलो हार हो।
कर्णालीले ललितपुरमाथि बुधबार पहिलो सेट २५-२२ ले जित्यो। दोस्रो सेटमा पनि कर्णाली २५-२२ ले नै विजयी भयो।
तेस्रो सेटको सुरुवातमा ९ अंकले पछि परे पनि कर्णालीले उत्कृष्ट पुनरागमन गरेको थियो। रोमाञ्चक बनेको तेस्रो सेटमा कर्णालीले २९-२७ को जित निकाल्न सफल भयो।
इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा नेपाली भलिबल इतिहामै पहिलो पटक आयोजना भएको लिगमा छ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ। प्रतियोगितामा काठमाडौँ स्पाइकर्स, ललितपुर क्विन्स, मधेस युनाइटेड, चितवन शक्ति, गण्डकी थन्डर्स र कर्णाली यश्विज सहभागी छन्। हरेक टोलीमा विदेशी खेलाडीको सहभागिता छ।
सहभागी सबै टोलीले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोली उपाधिका लागि भिड्ने छन्। फाइनल खेल यही असोज १९ गते हुनेछ।