मान्छे रहरको घर हो। जीवनभर अनगिन्ती चाहना पालेर बस्छ मान्छे। कसैका चाहना चन्द्रमा होलान्? कतिको चाहना एक गाँस रोटी, एकसरो नाना र साँझको ओत पनि त हुन्छ।
चाहनाको आकाश र यथार्थको समुद्र हो 'सोल्ड'।
'सोल्ड' अर्थात् बेचिएकी- पट्रिसिया म्याक्कोरमिकले लेखेकी अनुसन्धानात्मक उपन्यास।
यसलाई नेपालीमा विश्वप्रकाश पौडेल र टीकाराम शर्माले अनुवाद गरेका छन्। यसमा नेपालको विकट पहाडी भेगबाट बेचिएकी तेह्र वर्षे लक्ष्मीको दर्दनाक कथा छ। यो किताब नेपालमा 'दिदी प्रोजेक्ट'ले बजारमा ल्याएको हो। कथा पढिसेकपछि लेखिकालाई मेरो नमन।
एउटी सोझी पहाडी केटी कसरी भारतको वेश्यालयसम्म पुगी? त्यस पछाडिको कारण के हो? हाम्रो स्वाभिमान खै? यी प्रश्नले मलाई बारम्बार घोचिरहन्छन् आजभोलि।
आमालाई स्विटर र भाइलाई ज्याकेट किन्ने सपनाले लक्ष्मीको बैंस हरायो। कलकलाउँदो बैंस पैसामा साटियो।
घर छोड्दा उनको मूल्य एक बट्टा चुरोट न हो। बाउलाई छोरीकोभन्दा चुरोटको माया।
कोकाकोला, त्यो त उनले आफ्नै रहरले डोकोमा राखिदिएकी थिइन्। आफ्नी आमालाई मुखिनीभन्दा कम आँक्न सक्दिनन् लक्ष्मी।
गोधुलीपुच्छ्रे हिमालको काखबाट भारतको कोठीमा बेचिएकी केटीको हृदयविदारक कथा हो 'बेचिएकी'।
विकट हिमाली भेग, जहाँ मान्छेको जीवन कष्टकर छ। एकपेट खानकै लागि जीवनभर जुध्नु परेको छ। र, पनि भोकका कहानी छताछुल्ल छन्।
भोको पेटले आफ्नो भन्दो रहेनछ।
लक्ष्मी सौतेनी बाउकी एक्ली छोरी थिइन्। भाइ सानो छ। सानो घर छ। रहरको सायद हैन, कहरको। चुहिने छानो बर्खाभरि सङ्गीत भरिरहन्छ। सानो केटो थपडी बजाउँछ। लक्ष्मी आमालेजस्तै थाल, कचौरा, अम्खोरा लगेर घरभित्रै बर्खा समेट्छिन्।
एक वर्ष लामो समयदेखि खडेरी पर्यो। घरमा खानका लागि एक गेडो अन्न थिएन। बाले आमालाई कानका मुन्द्री बेच्न लगाए। त्यसले केही दिन त परिवार धानियो। बालाई तास खेल्ने र रक्सीसँग मात्तिने पैसा पनि पुग्यो। लक्ष्मीकी आमाको पटुकीको गाँठो पनि हरायो। बाले ऋण खोजे। परिवार ऋणको दलदलमा भासिँदै गयो।
कतिसमय धान्निछ र ऋणले!
सौतेनी बाले नयाँ टोपी फेरे। ठूलो काँध भएको कोट लगाए। यता आमाले आँशु फेरिन्। उनलाई थाहा थियो लक्ष्मी अब कहिल्यै फर्केर आउँदिन। श्रीमानले छोरीलाई सहर पठाए। उनले आँशु खसाल्न सिवाय केही गर्न सकिनन्। बरु सहरियासँग झुकेर बस्न सिकाइन् छोरीलाई।
अश्रुपूर्ण बिदाइ भयो लक्ष्मीको। सदाका लागि।
लक्ष्मी काकीको साथ लागेर सहर हिँडी। मुटुभरि चाडमा फर्किने रहर बोकेर। आमालाई स्विटर, भाइलाई ज्याकेट अनि टिनको छानो उसले देखेको सपना।
बाटैमा लक्ष्मीका पहाडी पहिरन फुकालियो। एउटी नारीको अस्मिता पनि त्यतिखेरै लुटियो। लामो यात्रापछि 'लोग्ने काका' भेटिन्छ। गाउँबाट लैजाने काकीले सिमाना कटाउन बनाएको लोग्ने काका। उसले भनिदिई लोग्ने नै हो।
तर उसले कृष्णका कुहिरा आँखा बिर्सेकी थिइन।
उसले माया गर्ने र सधैं देखिरहूँजस्तो लाग्ने कृष्ण यो होइन। अन्तिम पटक पनि उसले कृष्णलाई भेटेकी थिई। कहाँ जाँदैछु पो भन्न सकिनँ।
भारतीय मुमताजको कोठीमा बेचिन्छे लक्ष्मी। ऊ तेह्र वर्षकी मात्र थिई। उसलाई केटा र केटी बीचको यौनसम्बन्धका बारेमा पनि थाहा थिएन। मुमताजले जबरजस्ती यौनधन्दामा लगाउँछे।
सानी भए पनि उसले यो काम ठीक होइन भन्ने बुझ्छे। मनले यो काम गरेकी पनि छैन। धेरै दिन आलटाल गर्छे। घर फर्कने धम्की दिन्छे। विचरा लक्ष्मीको रुवाइ 'वानरको पुच्छर लौरो न हतियार'। यतिबेला उसले आफू बेचिएको थाहा पाउँछे।
गाउँमा बाले एकहजार बुझेका थिए। उता उसले मुमताजलाई तिर्नु पर्ने ऋण दसहजार थियो। मुमताजले खाता पनि देखाई।
लक्ष्मीलाई लस्सी खान दिइयो। त्यो लस्सी थिएन। शरीर लठ्याउने केही बिख थियो। उसले लोग्ने मान्छेको प्रतिकार गर्न नखोजेकी कहाँ हो र? उसको शरीरलाई मन्द विष दिएर मारिएको थियो। ऊ देख्थी। बुझ्थी। हातगोडा भने चल्थेनन्।
ऊ त राधा नै थिई। कोही कृष्ण भने त्यहाँ थिएनन्। 'वेश्या' भएकी थिई। राक्षसहरूको चपेटामा पाउँथी आफूलाई। जिन्दगी नर्क नलागेको होइन। मुमताजको ऋण तिर्ने सपना देखी लक्ष्मीले।
अप्ठ्यारोमा पनि जिन्दगीले बाँच्न सिकाउँछ।
एकदिन लक्ष्मीको कोठामा 'गोरा' ग्राहक आयो। लक्ष्मीलाई अरुले जस्तो जबर्जस्ती गर्दैन। बरु यहाँ नबस भन्छ। लक्ष्मीले मुमताजको ऋण नसकिएको बताउँछे। उसलाई गोराको पनि त्यति भर लाग्दैन। सबै लोग्नेमान्छेलाई भोका मात्रै देखेकी छ लक्ष्मीले।
तर उसले लक्ष्मीलाई विश्वास दिलाउँछ। उसलाई नछोइकनै गोरा बाहिरिन्छ। लक्ष्मीलाई एउटा कागज दिएर जान्छ जहाँ उडेको चराको जस्तो चित्र छ।
उसले धेरै दिन गोराको प्रतिक्षा गरी। तर सबै गोरा त्यस्ता कहाँ हुन्छन् र? अर्काे सेतो छालाले उसको बैंसमाथि खेलबाड गर्यो। उसले अब सेतो छालाको पनि आश मारेकी थिई।
तै चित्र दिने गोरा कुनै दिन त आउला भनेर बाटो हेरिरही। वेश्यालयको कष्टकर जीवनमा पनि लक्ष्मीको बाँच्ने ऊर्जा थियो। ऊ त्यहाँबाट निस्कन चाहन्थी। उसलाई त्यही गोरा (अमेरिकन) ले कोठीबाट बाहिर निकाल्छ।
लक्ष्मी मृत्युलाई जितेर कोठीबाट निस्कन्छे। बालिका पढाउने आश्रमसम्म पुगेकी छ।
नेपालबाट बर्सेनी धेरै चेलीहरू बेचिन्छन्। हाम्रा चेली आफ्ना 'कृष्ण'को माया दबाएर राक्षसहरूको अँगालोमा स्वेच्छाले हैन, एकपेट खानाको निम्ति पर्छन्। स-साना खुसीका निम्ति साटिन्छन्। कसैको स्वार्थको कारण बली चढ्छन्।
यहाँ सरकार परिवर्तन भैरहन्छ। सोच कहिल्यै परिवर्तन हुँदैन। जिउँदो लासमाथि राजनीति गर्ने मूर्ख नेता। उनीहरूसँग देशको नक्सा होला। देश छैन। के तेह्र वर्षे छोरी बेचेर भोक मार्दा देश बेचिएन? कुन नाकले स्वाभिमानको कुरा गर्छन् महाशयहरू? छोरी बेचेर बनाएको देशलाई म देश मान्न सक्दिनँ। युवा बेचेर ठडाएको धरहरा मेरा लागि अस्थिपञ्जर सिवाय केही होइन।
म खोजी रहेकी छु कहाँ छ देश? अरबको बालुवामा या भारतको कोठीमा?