लकडाउनले नियमित काम रोकिएको छ। घरमा लामो समय बिताउँदा कोही नयाँ सिप सिक्दैछन्, कोही पुराना रहरका पत्र उप्काउँदै छन्।
अर्जुन कुमारका लागि भने यो लकडाउन आफैंले भुल्न लागिसकेको पुरानो सोखमा फर्किने बहाना बनेको छ। चित्रकलाप्रति उनको झुकाव पुरानो भए पनि संगीत, फिल्म र विज्ञापन कम्पनीका कामले मृतप्राय: थियो। यति बेला त्यो रहर फेरि जागेको छ।
लकडाउन अवधिका ४० दिनभित्रै अर्जुनले ३७ चित्र बनाएका छन्।
उनी राजेश हमालको पहिलो फिल्म 'युगदेखि युगसम्म' को रिमेक 'द युगदेखि युग'सम्म को निर्माता र संगीतकार बनेर फिल्म क्षेत्रमा प्रवेश गरेका हुन्। त्यसपछि 'चपली हाइट', 'फिटकिरी', 'चपली हाइट-२', 'फाटेको जुत्ता' र 'चपली हाइट-३' लगायत फिल्मको संगीत निर्देशन र निर्माण गरे। उनको धेरै समय विज्ञापन कम्पनी 'राजधानी मिडिया कम्पनी लिमिटेड' सञ्चालनमा बित्छ।
लकडाउन नभइदिएको भए यति बेला उनी 'चपली हाइट-३' को रिलिज र प्रचारमा समय दिइरहेका हुन्थे। लकडाउनले अरू क्षेत्रजस्तै फिल्म क्षेत्रमा पनि 'लक' लगाइदियो।
पहिलो साता के गर्ने भेउ नपाएका उनले लकडाउन लम्बिँदै जाँदा चित्रकलालाई तनाव छल्ने र फुर्सद सदुपयोग गर्ने बहाना बनाए।
दुई दशकअघि चित्रकला अर्जुनको मुख्य पेसा थियो। कक्षा आठबाटै व्यावसायिक चित्र कोर्न थालेको उनी बताउँछन्। जुन बेला 'भेस्पा' स्कुटर खुब चल्थ्याे, अर्जुनले पेन्टिङबाटै पैसा जम्मा गरेर स्कुटर किने। उनीसँग त्यो अझै पनि छ।
'म कुनै निश्चित विषयमा यही चित्र बनाउँछु भनेर लाग्दिनँ। मनमा लागेका कुरा चित्रमा उतार्छु। त्यो कहिले प्रकृतिसँग जोडिन पुग्छ, कहिले कुनै समुदायसँग,' अर्जुनले भने, 'तर म जे कोर्छु, सधै रंगीन बनाउँछु।'
उनको भनाइ छ, 'चित्र भनेको रंगीन हुनुपर्छ। हामी मान्छेको जीवनजस्तै।'
उनी आफूलाई रङमा हराउने व्यक्ति मान्छन्। हरेकको जीवनमा सुखदुःख दुवै हुन्छ, तर धेरै मान्छे खुसीको पाटो मात्र देखाउँछन्। चित्र पनि मान्छेको यो चरित्रजस्तै हुनुपर्छ भन्ने उनको बुझाइ छ। जे देखिनुछ, त्यो रंगीन हुँदा सबैको नजर पर्छ भन्ने उनी बताउँछन्।
लामो समयपछि रङ र क्यानभासको संसारमा हराउँदा अर्जुन आफ्ना पुराना दिनमा पुग्छन् र 'नोस्टाल्जिक' बन्छन्। त्यो बेला र अहिले चित्र कोर्दाको अनुभूतिमा पनि भिन्नता पाउँछन्।
'पहिले पेन्टिङलाई कामको हिसाबमा लिन्थेँ। पैसाका लागि गर्थेँ। अहिले मेरो सोख मात्र बनेको छ। मलाई चित्र बनाउँदा खुसी लाग्छ। मेरा लागि मनका भावना र सामाजिक मुद्दा पोख्ने ठाउँ बनेको छ,' उनले भने।
अचेल उनी प्रायः 'मोर्डन चित्र' कोर्दैछन्। नारी संवेदना, समलिंगी पीडा तथा समाज-व्यथाका कुरा समेटेर रंगीन चित्र बनाउँदै छन्। यीबाहेक भौगोलिक पाटासँग सम्बन्धित चित्र पनि बनाउँछन्।
मठ-मन्दिर, खोला-नालादेखि पाखा-पखेरा सबै चित्रमा अटाउन सक्ने उनको खुबी छ। आफ्नै विज्ञापन कम्पनी भएकाले चित्र कोर्न आवश्यक सामग्री, क्यानभास र रङ अभाव नभएको उनी बताउँछन्।
अहिले पनि उनी क्यानभासमा नयाँ चित्र कोर्न व्यस्त छन्। उनी कहिले केही घन्टामै त कहिले धेरै दिन लगाएर चित्र पूरा गर्छन्।
'कुनै पनि चित्र पूर्ण भने पाउँदिनँ। आज गरेको पेन्टिङ भोलि हेर्दा केही न केही कमी महशुस हुन्छ। अनि फेरि त्यसमा केही थप्छु। मैले बनाएका हरेक पेन्टिङमा फेरि-फेरि केही थपिएकै हुन्छन्। जुन पहिलोपटकमा सकेको हुन्छु, त्यतिमै सीमित हुँदैन।'
यस प्रकारको कामलाई अर्जुन 'सुधार' गरेको मान्छन्। यसलाई मानिसको जीवनसँग तुलना गर्छन्। भन्छन्, 'यो भनेको हाम्रो जीवनजस्तै हो। केही गर्छौं त केही बिग्रन्छ। त्यो सुधार्न लाग्छौं तर पूर्ण भूलसुधार हुँदैन। त्यसलाई पुनः सुधार गर्न लाग्छौं। यसरी नै चल्छ।'
जीवन जिउने हो भने सिकाइ, भुल र सुधारबाटै सम्भव हुने उनी बताउँछन्।
अर्जुन जीवनलाई लिएर निकै सकारात्मक छन्। यसलाई कटाउनेभन्दा जिउनुपर्ने मान्यता राख्छन्।
'जीवनको भरपूर मजा लिनुपर्छ। के थाहा भोलि हुन्छ-हुँदैन,' उनी यो प्रश्नमा जोड दिन्छन्।
कुनै समय नेपाली समाजलाई मनोरम गीत-संगीत दिने गायकका रूपमा अर्जुन कुमार प्रख्यात थिए। उनको १५ वर्ष पुरानो गीत 'रमाइलो छ यो साँझ, जब तिमी आयौ आज' ले पनि निकै सकारात्मक र मनोरम भावना व्यक्त गर्छ। पहिल्यैदेखि आफूले दुःखी गीत नलेखेको र यसमा रूचि नभएको उनी बताउँछन्।
अर्जुन जीवनलाई आफ्नो पेन्टिङजस्तै रंगीन राख्न चाहन्छन्।
'आफूसँग भएका कुरामा रमाउन सक्नु नै खुसीको मूल मन्त्र हो। नभएका कुरामा दुःख मान्नुको साटो सपना बोकेर, त्यसलाई पूरा गर्नतिर लाग्नु उचित ठान्छु। सपना त्यो देख्नू, जसले ढिलो-चाँडो पूरा हुने सम्भावना बोकेको हुन्छ।'
उनी थप्छन्, 'केही सपना भने भुलेकै वेश। त्यो सपनाको मान छ भने पक्कै पूरा हुन्छ।'
सायद उनको पेन्टिङको सपनाजस्तै!
हेर्नुस् अर्जुन कुमारले बनाएका चित्रका तस्बिरहरू। सबै तस्बिर सौजन्यः अर्जुन कुमार