लुनिभा तुलाधर पहिले हाफ-टाइम आमा थिइन्। अहिले फुल-टाइम आमा हुन पाएकी छ्न्। अर्थात् पहिले आफ्नो छोराका लागि समय निकाल्न मुश्किल पर्थ्यो। अहिले दिन-रात छोरासँगै खेल्न पाएकी छन्।
मुख्यत: नाटक र केही फिल्ममा समेत अभिनय गरेकी लुनिभालाई धेरैले 'पवनकली' भनेर चिन्छन्। उनले १५ वर्षअघि कान्तिपुर टेलिभिजनमा सुरू गरेको कार्यक्रम 'द पवनकली शो' ले उनलाई चर्चा दिलाएको थियो।
त्यस बेला लुनिभाले पवनकली कार्यक्रम सञ्चालनमा निरन्तरता दिन सकिनन्। कार्यक्रम सुरू गर्दा उनी जम्मा १९ वर्षकी थिइन्। पढाइ सिलसिलामा भारत गइन्। लुनिभा जाने भएपछि उनको ठाउँमा तारा कँडेल पवनकलीका रूपमा देखा परिन्। उनीपछि माम्पी घोषले कार्यक्रम सञ्चालन गरिन्।
६ महिनासम्म पवनकली कार्यक्रम सञ्चालन गरेकी लुनिभा पढाइ सकेर नेपाल फर्किएपछि भने नाट्य क्षेत्रमा बढी सक्रिय भइन्। 'मुन्द्रेको कमेडी क्लब' लगायत केही टिभी कार्यक्रममा पनि देखिन्छिन्।
लकडाउन यो बेलामा भने उनी लामो समयपछि फेरि पवनकली बनेकी छन्।
लकडाउनको सुरूका फुर्सदिला दिनहरू परिवारसँग बिताउन पाएकाले उनी खुसी थिइन्। उनले सेतोपाटीसँग टेलिफोन संवादमा भनिन्, 'धेरैपछि घर बस्न पाउँदा बिदामा बसेजस्तै लागेको थियो।'
छोरा सानै हुँदा धेरै समय दिन नभ्याएकी उनी अहिले छोराका लागि कथा वाचन गर्छिन्। खाना पकाउँछिन्।
तर बाहिरी काममा रमाउने लुनिभालाई लामो आरामले बिझाउन थाल्यो। कोरोना भाइरस संक्रमण नेपालमा समेत फैलिएको खबरले उनमा तनाव बढायो। 'एन्जाइटी' नै हुन थाल्यो। यो अप्ठ्यारोले लुनिभालाई झनै खसखस बनायो, 'केही गर्न पाए हुन्थ्यो झैं लागिरह्यो।'
'म आत्तिन थालेँ,' उनले भनिन्, 'पहिलो दुई साता निकै गाह्रो भयो। सकारात्मक रहन र मानसिक तनाव कम गर्न फिल्म हेरेँ, किताब पढेँ। तर पनि समस्या जस्ताको तस्तै।'
अझ लकडाउनका प्रतिबन्धहरूले स्थिति भयावह पारिदियो। अरू क्षेत्रझैं चलचित्र र नाट्य क्षेत्रका काम ठप्प भयो। यो क्षेत्रको सन्नाटा चिर्दै संगीत, चित्रकलाजस्ता विधाका कला र काम सामाजिक सञ्जालमार्फत दर्शक स्रोतासम्म पुर्याउनेहरू सक्रिय छन्। तर रंगमञ्चका कलाकारका लागि फेसबुक लाइभमार्फत आफ्नो काम दर्शकसम्म पुर्याउन सजिलो थिएन।
यो अप्ठ्यारोले लुनिभालाई झनै खसखस बनायो, 'केही गर्न पाए हुन्थ्यो झैं लागिरह्यो।'
लुनिभाले के गर्ने होला भनेर सोचिरहेका बेला उनका श्रीमानले 'पवनकलीलाई एकपटक फेरि दर्शकमाझ पुर्याउने' सल्लाह दिए। आफ्नै प्रिय पात्र पवनकलीमा फेरि फर्कने सुझावले उनलाई उत्साही बनायो।
लकडाउनको तेस्रो सातादेखि उनी नियमित रूपमा हप्ताको एकपटक 'पवनकली अनलाइन' कार्यक्रम अनलाइनमार्फत सञ्चालन गरिरहेकी छन्। यो कार्यक्रम युट्युबमा हेर्न मिल्छ।
अनलाइन पवनकलीमा अहिले लुनिभा कोरोना भाइरससम्बन्धी जानकारी रमाइलो शैलीमा प्रस्तुत गर्दैछन्। विभिन्न माननीय मन्त्री एवं कलाकारहरूसँग संवाद गर्छिन्। पवनकली १० देखि १५ मिनेट सेरोफेरो अवधिमा समेत दर्शकहरूलाई निकै कुरा जानकारी गराउँछिन्।
हालसम्म सार्वजनिक पवनकली अनलाइन सात वटा शृंखलामा मानसिक स्वास्थ्य, शिक्षा, 'फेक' समाचारदेखि बालबालिकाका विषयवस्तु समेटिएको छ।
'जता पनि कोरोना भाइरसकै त्रास छ। कतिलाई सही सूचना पनि थाहा नहोला। रमाइलो शैलीमा बुझाउन सकियो भने प्रभावकारी हुन्छ कि भन्ने सोचले पवनकली फर्किएकी हुन्,' लुनिभाले भनिन्।
२०६१-६२ सालतिर पहिलो पटक कान्तिपुर टेलिभिजनमा पवनकली प्रशारण भएको थियो। पवनकली आजभन्दा पन्ध्र वर्षअघिका दर्शकले निकै मन पराइएकी पात्र हुन्।
'अनलाइन पवनकली' मा पनि १५ वर्ष अघिकै भेषभुषा र शैलीलाई निरन्तरता दिएकी छु,' लुनिभाले पुराना दिनको चर्चामा भनिन्। पवनकलीलाई नयाँ पुस्ताका दर्शकले पनि मन पराउने विश्वास उनले राखेकी छन्।
पवनकली 'पोथी बास्यो' नाटकबाट प्रेरित पात्र हुन्। फरिया र चोलीमा सजिएकी पवनकली बाग्लुङे शैली बोल्छिन्। लुनिभाले नौ दिने बाग्लुङ बसाइमा त्यहाँको भाषा सिकेकी थिइन्।
उनले भनिन्, 'निकै हँसिली, प्रफुल्लित र निर्दोष काल्पनिक पात्र हुन् पवनकली। तर लामो समयपछि बोलेर होला, बोल्ने शैली भुलेछु। अभ्यास बढी लाग्यो।'
लुनिभाले पहिले पनि आफ्नै 'आइडिया'मा पवनकली नामक कार्यक्रम सुरू गरेको बताइन्। अहिले लकडाउनको समय भएकाले सीमित स्रोतसाधनमा कार्यक्रम तयार गर्नुपरेको उनी बताउँछिन्।
'बजारबाट सामान किन्न नपाएका कारण घरमै भएका सामान प्रयोग गरेर कार्यक्रमको सेट तयार गरियो,' उनले भनिन्। एउटा शृंखला तयार पार्न उनलाई झन्डै पाँच दिन लाग्छ। अहिले लुनिभा कार्यक्रमलाई कुन ढंगबाट अघि बढाउने भनेर सोचिरहेकी छन्।
हालको समयमा काम पनि हुने र आफूलाई सक्रिय राख्न पाइने भएकाले व्यक्तिगत रूपमा उनी खुसी छन्। लकडाउनलाई नयाँ-पुराना सबै दर्शकसम्म पवनकलीलाई चिनाउने मौका मिलेको छ।
लकडाउन नभइदिएको भए, यति बेला उनी आफ्नो परिवारसँग विदेश भ्रमणमा हुन्थिन्। कहिले लकडाउन खुल्ला र पुराना योजना फेरि सुरू गरौं भनेर पर्खिरहेकी उनी फुर्सदमा पुराना साथीसँग कुरा गरेर पनि मन बहलाइरहेकी छन्।
प्रायः कमेडी फिल्म हेर्न रूचाउने उनी अचेल नेपाली फिल्म हेरेर साथीहरूलाई फोन गरिहाल्छिन् रे, 'साथीहरूको फिल्म हेर्छु अनि उनीहरूलाई नै सुनाउँछु।'
बाहिरी संसारबाट आफ्नै संसारमा हराउन अलि बढी समय पाएकाले उनी आफ्ना कामसँगै र आफैंलाई पनि नियालिरहेकी छन्। उनलाई समय कति छिटो गएछ भन्ने लाग्न थालेको छ।
'अहो! मसँग यस्तो कुरा याद गर्ने फुर्सद नै रहेनछ,' आफैंसँग अच्चमित भएझैं गरी भनिन्, 'धेरैपछि आफैंलाई ऐनामा हेरेँ। कान माथिका कपाल त सेतै फुलिसकेछन्।'