अधिकांश युवा पुस्तालाई बिहान ढिलोसम्म सुत्न मन लाग्छ। अभिनेत्री सुहाना थापाको भने दैनिकी बिहान साढे ४ बजे नै सुरू हुन्छ। हरेक दिन बिहान उनी एक घन्टा ध्यान र व्यायाम गर्छिन्।
मनोविज्ञानकी विद्यार्थी उनी ध्यान र व्यायामले मानसिक र शारीरिक रूपमा स्वस्थ बनाउने बताउँछिन्। अमेरिकाको नोभा कलेजबाट मनोविज्ञानमा स्नातक गरिरहेकी सुहाना 'भर्चुअल' कक्षाबाट पढाइ गर्दैछन्। लकडाउन नभएको भए उनले पढाइका लागि विशेष समय निकाल्नु पर्थ्यो।
सुहाना होम-प्रोडक्सनको 'ए मेरो हजुर ३' बाट नेपाली फिल्म क्षेत्र प्रवेश गरेकी हुन्। आमा झरना थापाको निर्देशनमा बनेको आफ्नो पहिलो फिल्ममै सफलता चाखेकी सुहाना दोस्रो फिल्मका लागि निकै उत्साहित थिइन्। दोस्रो फिल्म 'ए मेरो हजुर ४' को छायांकन लकडाउनका कारण बीचैमा रोकिएको छ।
अवस्था सामान्य नहुन्जेल फिल्म पुनः छायांकनमा नजाने उनी बताउँछिन्, 'अहिल्यै स्थिति सामान्य नहुने भएकाले सकेसम्म समय सदुपयोग गर्ने प्रयास गर्दैछु।'
सुहानालाई जनावर निकै मनपर्छ। गाईको विशेष पूजा गर्छिन्। लकडाउनमा नयाँ बानेश्वरदेखि गौशालासम्म पुगेर गाई र बाँदरलाई खाना खुवाउँथिन्।
'मानिसलाई जस्तै जनावरलाई पनि लकडाउनले पिरोलेको छ, एक्लै भएका छन्। उनीहरूलाई पनि मान्छेलाई जस्तै माया र साथ चाहिन्छ नि,' उनी भन्छिन्।
मनोविज्ञान पढ्नुअघि सुहाना व्यवसाय व्यवस्थापन र मार्केटिङकी विद्यार्थी थिइन्, 'बिजनेसमा मन गएन। भागवत गीता पढेपछि मनोविज्ञान पढ्नु पर्छ भन्ने लाग्यो।'
पुराना धार्मिक ग्रन्थहरूले समाजको अर्थ व्यवस्था, नेतृत्व भार, मानसिक व्यवहार र समग्र जीवन बुझाउन सक्ने क्षमता राख्ने महशुस उनले गरेकी छन्।
उनको रूचि अनुसारको पठन-पाठनका लागि लकडाउनले प्रशस्त समय दिएको छ। यो उपलब्धि उत्साहित भएर सुनाउँछिन्, 'अचेल महाभारत पढ्दैछु।'
महाभारतमा अर्जुन पात्रबाट उनी विशेष प्रभावित छिन्, 'अर्जुनको चरित्रले अस्तित्व र संघर्षको प्रतिनिधित्व गर्छ। र आफ्नै जीवनसँग पनि सान्दर्भिक लाग्छ।'
सुहानाले महाभारत पढेकी यो पहिलो पटक होइन। २०७१ सालतिर पढाइ सिलसिलामा भारत हुँदा पढेकी थिइन्। पहिलो पटक गीता पनि त्यही बेला पढेकी उनी भन्छिन्, 'धार्मिक र आध्यात्मिक कुरा पढ्ने रूचि त्यही बेलादेखि बढेको हो।'
त्यस बेला अंग्रेजीमा महाभारत पढेकी उनी अहिले नेपाली संस्करणमा पढ्दै छन्। नेपालीमा विस्तृत रूपमा धेरै कुरा समेटिएको उनलाई लागेको छ।
महाभारत र गीता अध्ययनले आफूमा धेरै परिवर्तन आएको उनी बताउँछिन्, 'सोच्ने तरिकादेखि विषय विश्लेषण गर्ने क्षमतामा समेत परिवर्तन ल्याइदिएको छ।'
बाल्यकालमा होस्टल बसेकी सुहाना एसएलसी नसकुन्जेल वर्षको तीन पटक मात्र घर पुग्थिन्। आमाबुवा व्यस्त हुने भएकाले उनको धेरै समय हजुरबुवासँग बित्थ्यो।
हजुरबुवासँग जोडिएका उनका धेरै यादहरू छन्,'हजुरबुवासँग बानेश्वर चोक घुम्न जाँदा सधैं चकलेट किनेर दिनुहुन्थ्यो।'
स्कुले पढाइमा खासै रूचि नलाग्ने उनलाई बाल्यकालमा साथीहरूसँग मिलेर 'उट्पट्याङ' गर्न रमाइलो लाग्थ्यो रे। यस्ता कुरामा उनी आफैं अघि सर्थिन्। घुम्न मन पराउने भएकाले शैक्षिक भ्रमण भन्नासाथ मख्ख पर्थिन्।
विद्यालयमा हुने नाटकहरूमा अभिनय गर्न मन पराए पनि सुहानाले फिल्म क्षेत्रमा लाग्ने सोचेकी थिइनन्। न त घर-परिवारबाट कुनै दबाब थियो। कसैले 'हिरोइन बन्ने हो' सोध्दा 'नाइँ' मात्र फर्काउँथिन्।
एसएलसी सकेर घरदेखि नै कलेज जान थालेपछि उनले होस्टलको चार भित्ताभित्रको संसार र बाहिरी संसार बीचको फरक बुझ्ने मौका पाइन्। तर ए-लेभल सक्दा-नसक्दै डिप्लोमा गर्न भारत पुगिन्। त्यहाँको बसाइले सामाजिक विविधता र मानसिकताबारे बुझाएको उनी बताउँछिन्।
नेपालमा आफन्तबाट पाउने 'केयर' नपाउँदा भारतमा उनलाई 'एन्जाइटी' भएछ। भागवत गीतालाई साथी बनाउने मुख्य कारण पनि यही थियो।
'अब म बच्चा रहिनँ भन्ने त्यहाँ पुगेर बुझेँ,' त्यति बेला १७ वर्षकी सुहाना सायद आत्मा शान्तिकै लागि गीतामा रूचि जागेको बताउँछिन्।
डिप्लोमा सकेर नेपाल फर्किँदा उनमा निकै परिवर्तन आइसकेको थियो। 'छुकछुके' र सबैसँग बोल्ने सुहाना आफैंसँग रमाउने भएकी थिइन्। घरमा चिन्ता बढ्न थाल्यो। पारिवारिक सल्लाहपछि उनी पढाइ निरन्तरताका लागि अमेरिका जाने भइन्।
२०७३ सालतिर अमेरिका पुगेकी उनलाई पढ्नुका साथै आत्मनिर्भर पनि हुनुपर्थ्यो।
'तर मसँग कामको कुनै अनुभव थिएन। काम पाउन पनि गाह्रो। अन्ततः पुस्तकालयमा सहायकको काम पाएँ,' आफैंलाई पनि बाहिरी पुस्तकसँग नजिकिन मन भएकाले सन्तुष्ट थिइन्, 'किताब मिलाउने, किताब खोज्न मान्छेहरूलाई सहयोग गर्ने काम गर्थेँ। घन्टाको ८ डलर कमाइ हुन्थ्यो।'
पुस्तकालयमा संलग्न सबैका लागि अरू नियम पनि रहेछन्, त्यहाँ काम गर्ने सबैले पालैपालो भुइँ पुछ्नु पर्ने।
'एकदिन मलाई साथीले आज भुइँ पुछ्ने तिम्रो पालो भनेर जानुभयो। कहिल्यै नगरेको काम, गर्दिनँ भन्न पनि नमिल्ने,' उनले त्यति बेलाको सम्झनामा भनिन्, 'घर पुगेर ममी-बाबासँग कुरा गरेँ। तर बाबाले त पैसा सजिलै आउँदैन त भन्नुभयो। एकैछिन नराम्रो लागे पनि विस्तारै बुझ्दै गएँ।'
अमेरिका पुगेको छ महिना नबित्दै सुहानालाई एक्लो महशुस हुन थालेको थियो। समस्या निकै परेको बुझेपछि आमाबुवा उनलाई भेट्न पुगे। सुहानाले आमासँग सबै अप्ठ्यारा सुनाइन्।
'त्यसपछि ममीले हरे कृष्णको मन्त्र जप्न सिकाउनुभयो। निष्ठासहित जप्नुपर्ने बुझाउनुभयो। त्यस बेलादेखि कुनै पनि काम सुरूआत गर्नुअघि मन्त्र जपेर गर्छु। यसमा मेरो आस्था पनि छ,' उनले भनिन्।
यसरी सांसारिक ज्ञान र धार्मिक कुरामा मन गाडिएपछि नै मार्केटिङ अध्ययन बीचमै छाडेर उनी मनोविज्ञानमा लागेकी हुन्। यसै क्रममा उनले 'अटिजम' भएका केटाकेटीलाई पढाइन् पनि।
यसै बीच एकदिन नेपालबाट आमा झरनाले गरेको फोनले उनको बाटो मोडियो।
'ममीले फिल्ममा खेल्ने कुरा गर्नुभयो। मैले नाइँ भन्ने कुरा थिएन। जे मेरा लागि हुन्, अँगाल्दै गएकी थिए,' उनले भनिन्, 'ममीले भनेपछि नै फिल्म क्षेत्रमा प्रवेश गरेकी हुँ। अब सायद निरन्तरता दिन सक्छु।'
आमाले भनेर फिल्म क्षेत्रमा लागे पनि उनी अहिले यसमा सन्तुष्ट छन्। दोस्रो फिल्मसम्म आइपुग्दा उनी आफूलाई पहिलेभन्दा राम्रो गर्नुपर्छ भन्ने आन्तरिक दबाब बढेको र सोहीअनुसार तयारी गरेको बताउँछिन्।