आजभन्दा तीन दशकअघि एसएलसी पास गर्नु चानचुने कुरा थिएन। जितु नेपाल त्यस्तै समयमा एसएलसी पासको हैसियत बनाएर सिन्धुपाल्चोकबाट काठमाडौं भित्रिएका थिए। श्री जल्पादेवी माध्यमिक विद्यालयबाट त्यस वर्ष एसएलसी पास हुने जम्मा पाँच जनामध्ये उनी पनि एक थिए।
काठमाडौं आएपछि जितु आइए भर्ना भए। चाबहिलमा कोठा भाडामा लिएर बस्न थाले। उनलाई पढ्नभन्दा दुई-चार पैसा कमाएर गाउँ पठाऊँ भन्ने हुन्थ्यो। पढाइभन्दा कामको धाउन्न भएका उनी सहकारी पसलमा काम गर्न थाले।
सहकारीमा काम गरे पनि जितुको मन भने अन्तै थियो।
२०५० सालतिर टेलिभिजन मनोरञ्जनको प्रभावकारी माध्यम थियो। सहरमा समेत सीमित मान्छेका घरमा हुने टेलिभिजन गाउँघरतिर फाट्टफुट्ट मात्रै हुन्थे। त्यसताका नेपाल टेलिभिजनबाट प्रसारण हुने कार्यक्रममध्ये सन्तोष पन्तको 'हिजो आजका कुरा' टेलिशृंखला चर्चित थियो।
जितु जब जब टेलिभिजन हेर्थे, आफू पनि पर्दामा देखिन पाए कति मजा हुन्थ्यो भनेर कल्पिन्थे!
'टेलिभिजनमा एकैछिनका लागि भए पनि अनुहार देखाउन पाए हुन्थ्यो भन्ने रहर लाग्थ्यो,' उनी सम्झन्छन्।
उनले काम गर्ने सहकारी साहुकी श्रीमती सरस्वती शर्मा नेपाल टेलिभिजनमा सम्पादक रहिछिन्। अल्लारे रहरमा उनले सरस्वतीसँग टेलिभिजनमा देखिन चाहेको बताए।
त्यही अल्लारे रहरले जिन्दगीको बाटो बदलिदियो। उनले 'हिजो आजका कुरा' मा अभिनय गर्ने अवसर पाए।
'त्यसपछि त फलानोको छोरा सन्तोष पन्तसँग टिभीमा आएछ भन्दै गाउँमा हल्लै मच्चियो। मलाई पनि रमाइलो लाग्यो,' उनले भने, 'एकैछिन पर्दामा देखिने हुटहुटी जीवनभर अभिनय गर्न पाए हुन्थ्यो भन्ने चाहनामा बदलियो।'
भाग्यवश जितुले फेरि-फेरि अभिनय गर्ने अवसर पाउँदै गए। लाइट, क्यामरा, एक्सन- उनको दैनिकी बन्न थाल्यो। उनले निर्देशक तथा निर्माता दिनेश डिसी, दिपकराज गिरी, स्वर्गीय विनय गिरी लगायतसँग काम गर्ने अवसर पाए। पर्दामा साना-ठूला भूमिकामा व्यस्त हुन थाले।
दिनेश डिसीको संगतले जितुलाई निर्देशन तथा निर्माताका कामहरू बुझायो। २०५६ र २०५७ सालतिर उनले टेलिशृंखला 'गीताञ्जली' निर्देशन गरे। सानो लगानीमा बनेको भए पनि उक्त टेलिशृंखलाबाट उनले सकारात्मक प्रतिक्रिया पाए।
'त्यो टेलिशृंखलामा राम्रो निर्देशन गरेको भन्दै दिनेश दाइले 'जिरे खुर्सानी' निर्देशन गर्न सुझाउनुभयो,' उनी भन्छन्।
त्यसपछि उनी अभिनयसँगै निर्देशन र स्क्रिप्ट लेखनमा सक्रिय हुन थाले। शिवहरि पौडेल र उनको निर्देशनमा हास्यव्यंग्य टेलिशृंखला 'जिरे खुर्सानी' सुरू भयो।
यसैबाट 'मुखमा प्वाक्क हान्नुजस्तो' भन्दै शिवहरि चर्चित भए। यसमा जितुले निर्देशक, लेखक र कलाकारको तीन जिम्मेवारी निर्वाह गरेका थिए। उनको 'मुन्द्रे' को भूमिका पनि खुबै चर्चित भयो। आज पनि धेरैले जितुलाई उनको वास्तविक नामबाट भन्दा 'मुन्द्रे' भनेर चिन्छन्।
'भर्खर एसएलसी पास गरेर फूर्ती लगाउने नेताको छोराको भूमिका थियो। कालो चश्मा लगाउने, मुन्द्रा लगाउने, फटाहा स्वभावको,' मुन्द्रे नाम जन्मेको सन्दर्भ विस्तार लगाउँदै जितु भन्छन्, 'पात्र तयार थियो, तर सम्बोधन गर्न नाम भएन। कुरै कुरामा यस्तो पात्र छ, मुन्द्रा लगाउँछ, मुन्द्रे भनेर बोलाऔं भन्ने भयो। कथाको स्क्रिप्टसँग तालमेल मिलेपछि यही नाम बस्यो।'
जितु फिल्म र स्टेज कार्यक्रममा उत्तिकै सक्रिय छन्। मुन्द्रे पात्रलाई धेरैले रुचाएकाले उनले यो नाम आज पनि छाड्न सकेका छैनन्। यही नामबाट उनले 'मुन्द्रेको कमेडी क्लब' सञ्चालन गरिरहेका छन्। नेपाल टेलिभिजनबाट प्रसारण हुने यो कार्यक्रम पनि उत्तिकै चर्चित छ।
यसबीच उनले 'किस्मत', 'गुरु चेला', 'रामकहानी', 'छ एकान छ', 'छक्कापञ्जा' लगायत दर्जनौं फिल्ममा काम गरेका छन्।
पछिल्लो समय लकडाउनले 'मुन्द्रेको कमेडी क्लब' सुटिङ र प्रसारणमा अवरोध आएको छ। यो कार्यक्रम फेरि सुरू गर्न आयोजक टोलीबीच छलफल भइरहेको उनी बताउँछन्।
'अब त कहिले सुटिङमा जाऊँ भन्ने छ। सेट र दर्शक मिस भइसक्यो,' तीन दशकदेखि कला क्षेत्रमा रहेका जितु भन्छन्, 'लकडाउनमा नयाँ कन्सेप्टहरू सोचेको छु। सबै व्यवस्था मिलेसँगै हामी सुटिङ सुरू गर्नेछौं।'
'मुन्द्रेको कमेडी क्लब' मनोरञ्जनात्मक हास्यव्यंग्य कार्यक्रम हो। कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्ति अतिथिका रूपमा उपस्थित हुन्छन्। अन्तर्वार्ता शैलीमा चल्ने यो कार्यक्रम अनौपचारिक ढंगमा सञ्चालन हुन्छ।
'पब्लिक फिगरबारे मिडियामा सीमित कुरा आउँछन्। ती धेरै औपचारिक खालका हुन्छन्। हाम्रो कार्यक्रममा भने अतिथिहरूबारे खुलेर कुरा हुन्छ,' आफ्नो कार्यक्रमबारे जितु भन्छन्, 'यही खुलापनलाई दर्शक-स्रोताले रुचाएका छन्।'
लकडाउनले धेरैलाई नियमित कामबाट 'ब्रेक' दिएर परिवारसँग समय बिताउने संयोग जुराएको बताउने जितु यही अवधिमा आफूले नयाँ-नयाँ परिकार बनाउन सिकेको अनुभव सुनाउँछन्।
'बिर्यानी, फापरको परिकार, मःम देखि सेलरोटी, केक सबै बनाउन भ्याएँ। बच्चाहरूले एकदमै रुचाए,' उनले भने।
यही अवधिमा उनले 'महाभारत' शृंखला हेरिभ्याए भने 'जंगबहादुर राणा' उपन्यास पनि पढे। फुर्सदमा युट्युब हेर्न रुचाउने उनी प्रविधिले प्रतिभाशाली व्यक्तिलाई सजिलो बनाएको धारणा राख्छन्। भन्छन्, 'हाम्रो समयजस्तो छैन। प्रतिभा छ भने मोबाइलबाट खिचेर युट्युबमार्फत् कलायात्रा सुरू गर्न सकिन्छ।'
अहिलेको युवा पुस्तामा हास्यव्यंग्यप्रति चासो बढेको देखेर उनी प्रफुल्लित सुनिन्छन्। 'कमेडी भनेको विषयवस्तुले बन्ने हो। अचेल दोहोरो अर्थ लाग्ने शब्द र असभ्य भाषाको प्रयोग बढी देखिन्छ। यसले क्षणिक हाँसो देला, तर दीर्घकालीन रूपमा टिकाउँदैन,' जितु भन्छन्।
'कसैलाई होच्याएर वा असभ्य भाषा प्रयोग गरेर होइन, हामीले स्वच्छ र स्वस्थ मनोरञ्जन दिन सक्नुपर्छ।'