दर्के झरी परिरहेको दिन थियो। सेतोपाटी आइपुग्दा कलाकारद्वय अनु थापा र सुशील सिटौला पानीका बाछिटाले अलिअलि रुझेका थिए।
भेट्ने बित्तिकै सोध्यौं, 'चिया-कफी के लिनुहुन्छ?'
'जे भए पनि हुन्छ। तर चिनी कम रङ कडा।'
उनीहरूले आफ्नो स्वादभन्दा बढी फिल्मकै नामलाई जोड दिए– 'चिनी कम रङ कडा'।
'चिनी कम रङ कडा' केही समयअघि अमेजन प्राइममार्फत सार्वजनिक फिल्म हो। हाल अमेरिका र बेलायतमा हेर्न मिल्ने यो फिल्म नेपालमा प्रदर्शन हुन बाँकी छ।
सुशीललाई बासना आउने, कम चिनी तर कडा रङको चिया मनपर्छ। स्वादभन्दा चियाको बासनाले लोभ्याउने रहेछ। अनुलाई भने दूध चिया खास मनपर्दैन। स्वास्थ्यका दृष्टिकोणले कालो चिया रूचाउँछिन्।
जे होस्, चिया नाम जोडिएको फिल्मका यी दुवै कलाकारलाई चिया-कफी मन पर्ने रहेछ।
युवाको सपना र आंकाक्षाको कथा हो 'चिनी कम रङ कडा'। मुख्य कलाकार पनि युवा छन् जसका सपना कडा रङको चिया जस्तै छ।
अनु र सुशीलका अनुसार, 'चिनी कम' ले समाजभित्रका युवाले भोग्नु परेको दुःख र 'रङ कडा' ले युवा पुस्ताले देख्ने गाढा सपना जनाउँछ। कथामा यी विषय सोझै देखाइएको छैन।
'मेटाफोरिकल तरिकामा आएको छ,' उनीहरू भन्छन्।
सुशील नेपाली सिने क्षेत्रमा नयाँ होइनन्। यो उनको पाँचौ फिल्म हो। 'होस्टल रिटर्न्स' बाट फिल्म क्षेत्र प्रवेश गरेका उनले यसअघि 'गाजा बाजा', 'रणवीर' आदि फिल्ममा अभिनय गरिसकेका छन्।
अनुको भने यो पहिलो फिचर फिल्म हो। यसअघि उनले छोटो फिल्म 'अ इयर' मा अभिनय गरेकी थिइन्। यसमा अनु ललिता पात्रको भूमिकामा देखिएकी छन्। ललिता पाटन परिसरमा चिया बेच्दै हिँड्ने युवती हुन्।
छायांकन बेला बटुवालाई 'चिया पिउनु हुन्छ' भन्दै चिया बेचेकी अनु भन्छिन्, 'त्यसरी चिया बेच्दा कतिलाई सुटिङ चलिरहेको थाहै हुन्थेन। मेरा लागि त्यो रमाइलो अनुभव भयो। साँच्चिकै चिया बेचेँ।'
अनुजस्तै सुशीलले यो फिल्मको काममा निकै रमाइला अनुभव संगालेका छन्। सुशीलले निर्वाह गरेको पात्र रहस्यमय चित्रण गरिएको छ। वास्तविकता जान्न फिल्म नै हेर्नुपर्ने उनी बताउँछन्।
तर उनले चरित्रअनुसारको अनुभव लिन केही दिन-रात सडकमा बिताएको भने बताए। आफ्नो पात्र खोजीमा उनी घरै नगई सडकमा बसेका थिए। सडकमा भौंतारिँदा प्रहरीको व्यवहार, मान्छे र कुकुरहरूले गर्ने व्यवहारको समेत अध्ययन गरेछन्।
'सुरूसुरूमा डर लागेको थियो। तर म कसैको खोजीमा थिएँ,' सुशील भन्छन्, 'कति दिन ननुहाई, दाँत नमाझी सडकपेटीमै दिन-रात कटाएँ। आफैंलाई बिर्सिँदै गएँ। त्यसरी सिर्जना भएको पात्र छ फिल्ममा।'
पाटन, काठमाडौं र सिन्धुपाल्चोकमा छायांकन भएको फिल्म झन्डै ३ वर्ष लगाएर तयार भएको हो। नेपाली समाजको कथा र परिदृश्य देखाइएको फिल्म 'चिनी कम रङ कडा' मा सुशील र अनुबाहेक मानव सुवेदी र सूर्या थापाको मुख्य भूमिका छ।
फिल्मका लागि दुई महिने कार्यशाला चलाइएको थियो। सुशील र अनुले एकअर्कालाई नजिकबाट चिनेका यही कार्यशाला क्रममा हो।
सुशील फिल्म क्षेत्रमा अभ्यस्त भएकाले उनको अभिनयबाट थुप्रै तरिका सिकेको अनु बताउँछिन्।
'कलाकार भर्साटाइल हुनुपर्छ,' यो कुरा अनुले वर्कसपमै सिकिन्। कलाकारहरूले आफ्नो संवाद याद गर्न एक्लाएक्लै भित्तामा बोलेको देख्दा अचम्म लाग्थ्यो रे।
'ओहो, यसरी पो डाइलग याद गर्ने भन्ने सोच्थेँ,' उनी सुनाउँछिन्।
२८ वर्षको उमेरमा पहिलो फिल्म गरेकी अनु भन्छिन्, 'कहिलेकाहीँ यो क्षेत्रमा ढिलो प्रवेश गरेँजस्तो लाग्छ। तर हरेक कुराको उचित समय हुन्छ। सायद यही ठीक समय हो।'
गुल्मीकी अनु छ वर्षकी छँदा आमाबुवा र बहिनीसँग काठमाडौं आएकी हुन्। पढाइमा औसत उनले प्लस-टुमा विज्ञान रोजिन्, 'विज्ञान पढे राम्रो भइन्छ भन्ने थियो। लहैलहैमा लागेर पढेको विषय मेरो लागि होइन भन्ने बुझेर प्लस-टुपछि निरन्तरता दिइनँ।'
प्लस-टु सकेपछि कलेज जान पनि मन भएन। दुई वर्ष घरै बसिन्, 'अब के गर्ने' भन्दै अन्योलमा परिन्।
'फ्रस्टेड भएकी थिएँ। ममा प्रेरणाको कमी थियो,' उनी भन्छिन्, 'तर स्नातक गर्नैपर्छ भन्ने लागेर सोसल वर्क विषयमा भर्ना भएँ।'
आफूलाई अन्तर्मुखी स्वाभावकी बताउने अनु प्लु-टुसम्म शिक्षकसँग खुलेर बोल्न सक्थिनन्।
'मलाई खुबै डर लाग्थ्यो। साथीहरू स्टेजमा गएर बोल्न सक्थे तर म कहिल्यै उनीहरू जस्तो हुन सकिनँ,' उनी भन्छिन्, 'तर स्नातकमा नबोली सुखै थिएन। पहिलो पटक समूहबीच नाटक प्रस्तुतिमा करले लागेकी थिएँ।'
पहिलो सेमेस्टरमा अनुको कलेजले एक सामाजिक संस्थामार्फत् विद्यार्थीलाई 'सामाजिक क्षेत्रमा कसरी जागरण फैलाउन सकिन्छ' भन्नेबारे प्रशिक्षण साथै 'थिएटर वर्कशप' दियो। यो वर्कशपपछि समूह-समूहबीच नाट्य प्रतियोगिता गरियो। अनु र अरू दुई साथी मिलेर नाटक प्रस्तुत गरे। प्रतियोगितामा विजयी भएका उनीहरूको अभिनय धेरैले मनपराए।
'जितभन्दा पनि मेरा लागि त्यसरी अभिनय गर्नु ठूलो उपलब्धि थियो। मनको डर हट्दै गयो र अरू कार्यक्रममा पनि सहभागी हुन थालेँ,' उनले भनिन्।
कलेजका क्रियाकलापमा उनको मन बस्दै गएको थियो। २०७२ को भुइँचालोपछि कलेजका विद्यार्थीले ७ जिल्लाका २३ ठाउँमा 'बाँच्ने आधार' विषयमा सामुदायिक नाटक प्रस्तुत गरे। अनु अभिनयप्रति अझै तानिइन्।
२०७३ सालमा उनले न्यूयोर्कको फिल्म मेकिङ कलेजका विद्यार्थीसँग १३ मिनेट लामो 'अ इयर' मा काम गरिन्। अनुले त्यसमा ग्रामीण हिमाली भेगकी महिलाको भूमिका निर्वाह गरेकी थिइन्।
यसरी बाहिरी संसारमा खुलेकी अनु २०७४ सालमा 'नेसनल एक्टिङ कम्पिटिसन' की विजेता बनिन्। पहिलोपटक आयोजित उक्त कार्यक्रममा अनुको पहिलो स्टेज प्रदर्शन 'भाइरल' भएको थियो।
उनलाई कहिल्यै अभिनय क्षेत्रमा लाग्छु भन्ने थिएन, 'तर मेरो प्यासन अभिनय नै रहेछ।'
प्रतियोगिताको सफलतापछि उनलाई कला क्षेत्रबाट प्रस्ताव नआएका होइनन्। तर उनले पढाइलाई निरन्तरता दिन चाहिन्। स्नातक अन्तिम सेमेस्टरमा आइपुग्दा भने पछि हटिनन्।
'चिनी कम रङ कडाको अडिसनमा बोलाइँदा पत्याउनै गाह्रो भएको थियो। राम्रो फिल्म थियो, हातबाट जान दिइनँ,' उनी भन्छिन्।
चिनी कम रङ कडामा अनुले निकै मिहिनेत गरेको सुशील पनि बताउँछन्। उनी जिस्किँदै भन्छन्, 'अनुको तारिफ देख्दा इर्ष्या लाग्छ। मेरो पनि कसैले तारिफ गरिदियोस् भन्ने हुन्छ।'
उसो त सुशील आफैं हरेक नयाँ फिल्ममा अभिनय गर्दा नयाँ कलाकार बनेर सेटमा पुग्ने बताउँछन्, 'कथा नयाँ भएपछि अभिनय पनि त्यसै हिसाबमा हुनुपर्छ। त्यसैले म हरेक फिल्मका लागि जिरो लेभलबाट सुरू गर्छु।'
विभिन्न भूमिकामा देखिइसकेका सुशीलले 'चिनी कम रङ कडा' मा आफ्नै अभिनयको नयाँ पाटो नियाल्ने मौका मिलेको बताए।
फिल्म क्षेत्रमा भर्खरै भित्रिएको भए पनि अनु निकै आशावादी र सकारात्मक छिन्। भन्छिन्, 'फिल्म क्षेत्रमा कति पर पुग्छु भन्ने मेरो लगनशीलता र अवसरमा भर पर्ने कुरा हो। यहाँ आफ्नो प्रस्तुति नदेखाए सेलाउँदै गइन्छ।'
अनुले असिम चित्रकारको निर्देशनमा अर्को फिल्ममा पनि काम गरिसकिन्। तर उनी 'युथ फाउन्डेसन नेपाल' संस्थालाई पनि समय दिइरहेकी छन्। स्नातक पढ्दाताकै उनी र ७ जना साथीले यो संस्था सञ्चालनमा ल्याएका थिए। संस्थाले स्विट्जरल्यान्डको 'बुक फर चेन्ज' संस्थासँग मिलेर विभिन्न क्षेत्रमा पुस्तकालय स्थापना गर्दै आएको छ।
अनु र सुशील दुवै आफ्नो प्रतिभामा विश्वास राख्छन्।
प्रतिभा भए हरेक क्षेत्रबाट सकारात्मक प्रतिक्रिया आउने उनीहरूको बुझाइ छ।
'हामी लक्ष्यमा भन्दा प्रतिक्रियामा विश्वास राख्ने मान्छे। जे छ, त्यसैलाई सन्तुलित ढंगबाट अघि लैजान्छौं। लक्ष्यसँगै धैर्य र निरन्तरता दिने विश्वास पनि हुनुपर्छ भन्ने लाग्छ,' उनीहरू भन्छन्।