चिसो बतास चलिरहेको बिहान थियो।
त्यो बिहान गायक शाश्वत खड्का कलेज जाँदा, आउँदा बतासको स्पर्शले लठ्ठिए। रूखका पात हल्लाउने बिहानी हावाको झोंकाले उनको मन पनि पात झैं झुल्न थाल्यो।
वरिपरिका हल्का चिजवस्तु उडेको देखेर बतासको बहावसँगै उनको मन उड्न थाल्यो।
यो दुई वर्षअघिको कुरा हो। त्यसबेला उनी प्लस-टुका विद्यार्थी थिए।
हाल सामाजिक सञ्जालमा चर्चा कमाइरहेको 'बतास' गीत शाश्वतले यस्तै मौसममा फुराएका हुन्।
उनकै शब्द, स्वर र संगीतमा तयार भएको बतासबारे शाश्वत भन्छन्, 'त्यो बतास निकै शितल थियो। बताससँगै गुन्गुनाउन थालेँ। घर पुग्नेबित्तिकै कापीमा मनको भाव उतारेँ।'
गीतको पहिलो हरफ त्यही बेला तयार भयो। त्यसपछिका शब्द थप्न भने उनलाई केही समय लाग्यो। शाश्वत 'बतास' लाई धुनमा ढालेर गीत बनाउन चाहन्थे। यसका लागि कथाको 'प्लट' बुन्न थाले।
एउटा लजालु केटा छ। ऊ एउटी केटीलाई मन पराउँछ तर भन्न सक्दैन। केटाले मनमनै सोच्न थाल्छ- संसारको सबै जनालाई हावाले उडाएर लगोस् अनि यो संसारमा ती केटी र म मात्र बाँकी रहूँ।
कथा बन्यो।
दुई वर्षअघि शब्द र 'कन्सेप्ट' तयार गरेको बतासलाई शास्वतले संगीत र स्वर भरेर केही महिनाअघि रेकर्ड गर्ने निर्णय गरे।
त्यसबेला उनी भारतमा थिए। प्लस टुपछि कृषि पढ्ने सोचले उनी भारतको शारदा विश्वविद्यालय पुगेका थिए। हाल फुड इन्जिनियरिङ गर्दैछन्।
'आन्तरिक कारणले कृषि पढ्न पाइनँ। कृषि र फुड इन्जिनियरिङ सम्बन्धित लागेर यसैमा भर्ना भएँ,' दोस्रो वर्षमा अध्ययनरत उनी भन्छन्।
चैत १ गते कलेजको छुट्टीमा शाश्वत नेपाल फर्के।
'छुट्टी सकेर भारत पुगेपछि गीत सार्वजनिक गर्ने सोच थियो। तर लकडाउनले यतै अड्के। त्यसैले यतैबाट गीत सार्वजनिक गरिहालेँ,' उनले सुनाए।
शाश्वत दस दिने बिदामा नेपाल आएका थिए। तर चैत ११ गतेदेखि सुरू लकडाउन र बन्दका कारण फर्कन पाएनन्। अब कलेज सञ्चालन भएपछि नै फर्कने बताउँछन्।
गीत सार्वजनिक गर्ने भएपछि शाश्वतले सन्जिव तामाङको प्रोडक्सनमा बतास सार्वजनिक गरे। गीत गत जुलाई २७ मा सार्वजनिक भयो। २० वर्षीय शाश्वतको यो तेस्रो रेकर्डेड गीत बन्यो। उनले यसअघि 'अप्रत्यक्ष' र 'मनका कुरा' ल्याइसकेका छन्।
'अप्रत्यक्ष' शाश्वतले स्नातक पहिलो वर्ष सकेर रेकर्ड गराएका थिए। उनी प्रायः पप शैलीमा गीत कम्पोज गर्छन्। मौलिकता झल्काउन हरेक गीतमा नेपाली बाजा प्रयोग गर्छन्। बतासमा पनि आधुनिक बाजासँगै तबला प्रयोग गरेका छन्।
गीतमा एनिमेटेड भिडिओ छ जसमा जम्मा दुई पात्र देखाइएको छ। केटा पात्र शाश्वतको बाहिरी 'लुक्स' सँग मिल्दोजुल्दो छ। केटी पात्र भने काल्पनिक भएको उनी बताउँछन्।
बतास सार्वजनिक भएलगत्तै चर्चामा आएको भने होइन। झन्डै एक महिनासम्म गीतको भिडिओ भ्युज निकै कम थियो। भ्युज थोरै भए पनि शाश्वत अधिकांशबाट आएका सकारात्मक प्रतिक्रियाका कारण सन्तुष्ट थिए।
तर केही समयपछि बतासको मार्केटिङ सल्लाकार र शाश्वतका दाइ दिवस अगस्तीले गीत टिकटकमा राख्ने सल्लाह दिए। शाश्वतले थुप्रै अन्तर्राष्ट्रिय गायकले टिकटकलाई गीत प्रचार गर्ने माध्यम बनाएको बुझेका थिए। बतास पनि टिकटकबाट ठूलो दर्शकमाझ पुग्ने अपेक्षाले गीत प्रस्तुतिका लागि कोरियोग्राफर खोज्न थाले।
'बाहिरको ट्रेन्ड बुझेपछि नै टिकटकलाई माध्यम बनायौं। नभए म त १० हजार भ्युज पुग्दा पनि मख्खै थिएँ,' उनले सुनाए।
टिकटकका लागि गीतमा सिवाली श्रेष्ठले कोरियोग्राफ गर्ने भइन्। उनैले भिडिओ टिकटकमा पोष्ट गरिन्।
'टिकटकमा राखेको २ हप्तासम्म पनि खासै फरक परेन। तर पछि एकाएक कसरी भाइरल बन्यो थाहै छैन,' शाश्वतले अचम्म मान्दै भने, 'अहिले धेरैले यो गीतमा टिकटक बनाएको देख्छु। युट्युबमा कभर गाएको पनि सुन्छु।'
आधिकारिक भिडिओमा पनि भ्युज ह्वात्तै बढेको उनी बताउँछन्।
अहिले यसको युट्युब भिडिओमा ५५ लाख बढी भ्युज पुगिसकेको छ। यसमा प्रतिक्रिया पनि थुप्रै छन्। शाश्वत सबै व्यक्तिगत रूपमा सामाजिक सञ्जाल र युट्युब प्रतिक्रिया दिने शुभेच्छुकप्रति कृतज्ञता जनाउन भुल्दैनन्।
विदेशमा रहेका स्रोता-दर्शकको पनि उत्तिकै प्रतिक्रिया आएपछि दुई साताअघि गीतमा अंग्रेजी सब-टाइटल थपिएको छ। धेरैको प्रतिक्रियामा गीत छोटो भएको भन्ने छ। शाश्वत भने दुखी हुँदासमेत खुसी पार्ने खालको गीत भनेर पाएको प्रतिक्रियाबाट बढी सन्तुष्ट छन्।
उनले खुसी साटे, 'खुसी बाँडिरहेको छु भन्ने प्रतिक्रिया पाउँदा आनन्द आउँछ।'
'यति छोटो समयमै धेरैले चिन्नुहुन्छ भन्ने सोचेकै थिइनँ,' उनी थप्छन्, 'म गीत-संगीतलाई सांसारिक दुनियाँबाट टाढिन माध्यम बनाउँथे। तर यसैले मलाई यो दुनियाँसँग नजिक्याएको छ।'
शाश्वत गीत-संगीतलाई सधैं प्यासनका रूपमा लिएको बताउँछन्। अब भने भविष्यमा यसैलाई प्राथमिकता बनाएर अघि बढ्ने सोचेका छन्।
उनलाई गीत-संगीतमा अन्जानमै आफ्नो मन बसेको हो कि भन्ने पनि लाग्छ। कक्षा ४ मा हुँदा उनी गितारप्रति आकर्षित भएका हुन्। स्कुलमा आफूभन्दा ठूलाले गितार बजाएको, गीत गाएको देख्दा उनीहरू 'कुल' लाग्थ्यो रे।
'अरूको ध्यान तान्नै भए पनि मैले गितार सिकेँ। तर कसैले वास्तै गर्थेनन्,' उनी केटाकेटी हुँदाको सम्झनामा हाँस्दै भन्छन्, 'अझ कुल हुन गीत पनि गाउन थालेँ। किशोरावस्थाको बुद्धि न हो, के गरे कसो गरे अहिले ठ्याक्कै त याद छैन। तर अचम्म लाग्छ।'
अरूले उनलाई नचिने पनि गीत-संगीतमार्फत शाश्वतले विस्तारै आफैंलाई चिन्दै गए।
यसरी अन्जानमै जागेको जुनूनले अहिले आफू यो ठाउँमा पुगेको हो कि भन्ने शाश्वतलाई लाग्छ। त्यो बेला कुल बन्न सांगीतिक क्षेत्र रोजे, म्युजिक कक्षा लिएका उनलाई विस्तारै यसैमा लत लाग्यो।
उनी स्कुलका हरेक कार्यक्रममा सहभागी हुन थाले। आफैं गितार बजाउने अनि गाउने। कक्षा १० सम्म आइपुग्दा उनी म्युजिक सिकाइ र बजाउन मात्र दैनिकी ५ घन्टा बढी समय दिन्थे।
प्लस-टु पुगेपछि उनले पढाइमा बढी समय दिनुपर्यो। काठमाडौं मोडल कलेजमा विज्ञान (बायोलोजी) पढेका उनलाई पढाइबाहेक अन्त मन डुलाउन फुर्सद पनि थिएन। दिनको एक घन्टा पनि गितार र गीतलाई समय दिन भ्याएनन्। बाटोमा हिँड्दै गर्दा दिमागमा फुरेका केही हरफ लेखेर राख्थे।
'रेकर्ड गराउने सोच भने पहिल्यैदेखि थियो। बतास पनि त्यही बेला लेखेको थिएँ,' उनले भने।
यो गीतले शाश्वतलाई पुराना स्कुल र कलेज पढ्दा छुटेका साथीभाइसँग पुनः भेट गराएको छ।
उनी भन्छन्, 'स्कुल-कलेज सकेपछि साथीहरू छुटेका थिए। तर अहिले धेरैजना बोल्न आउँछन्। पुरानो साथीसँग फेरि कुरा हुँदा खुसी लाग्छ।'
शाश्वतलाई आफैं गीत लेख्ने प्रेरणा गायक सज्जनराज वैद्यबाट मिलेको बताउँछन्। उनी प्रायः १८ देखि ३० वर्षका लक्षित दर्शकलाई गीत बनाउँदै छन्। सज्जनसँगै गायक विक्की गुरुङ, ओएसिस थापाका गीत पनि मन पराउने बताउँछन्।
हाल विभिन्न माध्यमबाट फरक फरक विधाका नेपाली गीतले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा चर्चा कमाइरहेका छन्। युवा पुस्तामाझ युवा वर्गकै स्वर तथा संगीतमा तयार भएका गीत हिट हुँदैछन्।
अरूको नजरमा नपरेका गीत हिट बनाउन टिकटक त झनै नसोचेको माध्यम बनेको छ। त्यसैको एउटा उदाहरण हो, शाश्वतको 'बतास'।