नेपाल चलचित्र संघले पुस १० गते, शुक्रबारदेखि सिनेमा हल खोल्ने सम्पूर्ण तयारी पूरा भएको बताएको छ।
नेपाल चलचित्र संघका महासचिव अशोक शर्माले नौ महिनायता बन्द रहेको सिनेमा हल पूर्वघोषणा बमोजिम आउँदो शुक्रबारबाट खोलिने सेतोपाटीलाई बताए।
शर्माले सेतोपाटीसँग टेलिफोन कुराकानीमा भने, 'हामीले घोषणा गरेअनुसार नै १० गते हल खोल्ने तयारी भइरहेको छ।'
सिनेमा हल, व्यवसायी तथा वितरकहरूको संगठन नेपाल चलचित्र संघले गत हप्ता अध्यक्ष मधुसुदन प्रधानको नाममा बुँदे विज्ञप्ति जारी गरेको थियो। विज्ञप्तिमा सरकारले सहयोग नगरे आफैं हल खोल्ने चेतावनी दिइएको थियो।
संघले हल खोल्ने भने पनि सरकारका तर्फबाट औपचारिक निर्णय भने नआएको महासचिव शर्मा बताउँछन्।
उनले भने, 'यत्तिका महिना सरकारले हामीलाई झुलाइरहेको रहेछ। त्यही भएर हामी आफैं हल खुलाउन बाध्य भएका हौं।'
क्युएफएक्स सिइओ रोशन अडिगाले शर्माको कुरालाई पुष्टि गर्दै भने, '१० गते छाया कम्प्लेक्स, लबिम मल र सिटी सेन्टरका मल्टिप्लेक्समा फिल्म प्रदर्शन गरिनेछ।'
उनले सो दिन हलमा नेपाली फिल्म 'आमा' र 'सेन्टी भाइरस' प्रदर्शन गर्न लागेको समेत जानकारी दिए। सँगै दर्शकले हलिउड फिल्म 'ब्लड सट' र 'इनभिजिबल म्यान' पनि हेर्न पाउने छन्।
शर्मा र अडिगाका अनुसार सरकारले तोकेको मापदण्ड र विश्व स्वास्थ संगठनले जारी गरेको स्वास्थ्य प्रोटोकलमा रही हल खोल्ने तयारी भइरहेको हो। कोरोना संक्रमण जोखिम ध्यानमा राखी जम्मा ५० प्रतिशत दर्शक राखेर फिल्म देखाइने पनि उनीहरूले बताए।
रोशनले भने, 'अनिवार्य मास्क लगाउनु पर्ने तथा स्वास्थ्य सुरक्षाका आधारभूत कुरामा अनुशासन कायम गरिनेछ।'
प्रत्येक शोपछि हलमा स्यानिटाइजर छरिने, हलका एसीहरू नचलाइने र फिल्मको टिकट अनलाइन बिक्रीमा जोड दिइनेसमेत उनले बताए।
चलचित्र संघ र हल व्यवसायीको तयारी पूरा भइसक्दा पनि सरकार भने हालसम्म सिनेमा हल खोल्ने कुरामा सकारात्मक भन्ने खबरसम्म मात्रै आएको छ।
शुक्रबार सिनेमा हल खुल्नेबारे काठमाडौंका जिल्ला प्रमुख अधिकारी कालीप्रसाद पराजुली नै अनभिज्ञ छन्।
'अहिलेसम्म यस विषयमा जिल्लाले स्वास्थ्य मन्त्रालयसँग मात्र समन्वय गरिरहेको छ। स्वास्थ्य मन्त्रालयबाट हल खोल्ने विषयमा हामीसँग कुनै छलफल भएको छैन।'
यस्तो अवस्थामा १० गते हल खुल्ला त भन्ने सन्देह बाँकी नै छ।
'हामी सम्बन्धित पदाधिकारीसँग कुरा गर्छौं। पुस १० गते कुन आधारमा र कसरी खोल्ने हो बुझ्नेछौं,' सिडिओ पराजुलीले भने, 'छलफलपश्चात् स्वीकृति बिनै हल खुल्छन् भने अनुगमन हुनेछ। आवश्यक परे कारबाही पनि गर्नेछौं।
पराजुलीका अनुसार कुनै पनि व्यवसाय सञ्चालन वा पुनः सञ्चालनका लागि सरकारको अनुमति आवश्यक हुन्छ। कोरोना महामारी र प्रतिबन्धहरूपछि सञ्चार मन्त्रालय र कोभड–१९ संकट व्यवस्थापन केन्द्रबाट स्वीकृत पाएका व्यवसाय मात्रै पुनः सञ्चालनमा आउन पाउनेछन्।
यस्तो प्रावधान भएकाले सरकारको आदेश बिना र मापदण्डहरू पनि नअपनाइ हल सञ्चालन भए कानुन बमोजिम कारबाही हुने उनले बताए।
सरकारले स्वास्थ्य सुरक्षा कारण देखाइ सिनेमा हल बन्द गरे पनि सार्वजनिक यातायात, होटल तथा रेस्टुरेन्ट र शैक्षिक संस्थानहरू पनि सञ्चालनमा आउन थालिसकेका छन्।
यसबीच सरोकारवालाहरूले सरकारलाई धेरै पटक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ सिनेमा हल खोल्न अनुरोध गर्दै आएका थिए। सरकारका तर्फबाट आश्वासन मात्रै देखाइएकाले सरकारमाथि दबाब दिन संघले यो रणनीति लिएको बताएको छ। सरकारी अनुमति बिना सिनेमा हल सञ्चालन हुन रोक्न सक्नेबारे आफूहरू तयार रहेको क्युएफएक्सका सिइओ अडिगाले बताए।
'चलचित्र क्षेत्रसँग हजारौंको रोजीरोटीको सवाल गाँसिएको छ,' उनले भने, 'सरकारले सहयोग नगरेपछि जिम्मेवारीसहित जोखिम मोलेका हौं। सिनेमा हलमात्रै आखिर कहिलेसम्म बन्द गर्ने?'
नेपालमा हाल १ सय ९३ वटा स्क्रिन चालु अवस्थामा रहेको संघका महासचिव शर्मा बताउँछन्। करिब ३० क्युएफएक्स स्क्रिनमध्ये काठमाडौंमा १५ वटा सञ्चालनमा छन्।