गुड फ्राइडे सिनेमा
माया गर्न नजान्ने मान्छे अभिभावक भयो भने कति रूखो हुन्छ, 'उडान' मा देखिन्छ। मायाको भोकले छटपटाउने पात्र कस्ता हुन्छन्, उडानले देखाउँछ। मान्छेको सपनाले बन्धनको चारदिवार नाघ्ने घरिघरि दुस्साहस किन गर्छ, यो पनि उडानमै हेर्न पाइन्छ।
चार साथीहरू 'अश्लील' सिनेमा हेर्न होस्टलबाट भागेर सिनेमा हल पुगेको प्रसंगसँगै फिल्मको कथा सुरू हुन्छ। उनीहरूले सिनेमा हलभित्र पछाडिको सिटमा बसेर रोमान्स गरिरहेका जोडीलाई जिस्क्याउँछन्। जिस्क्याएको व्यक्ति आफ्नै स्कुलका वार्डेन परेपछि उनीहरू भाग्छन्। यो घटनापछि उनीहरू स्कुलबाट निकालिन्छन्।
स्कुलबाट निकालिएपछि फिल्मको केन्द्रमा रोहन सिंह (रजत बर्मेचा) पात्र आउँछन्। उनी आमा गुमाइसकेका र बुबासँग सम्बन्ध बिग्रेका किशोर हुन्। आठ वर्षसम्म स्कुलमा भेट्न नआएका बुबा भैरव सिंह (रोनित राय) सँग उनको तनावपूर्ण सम्बन्ध हुन्छ।
स्कुलबाट घर फर्कने बेलादेखि रोहनलाई बुबासँग बस्नुपर्ने कल्पनाले अत्याउँछ। बुबाले माया नगर्ने कुराको पीडा छँदैछ, घर आइपुगेपछि बुबाले अर्को बिहे गरेको कुराले उनलाई थप पिरोल्छ। तर नचाहेर पनि बुबासँग बस्नुपर्ने बाध्यतालाई रोहनले टार्न सक्दैनन्।
छोरासँग बुबाको अपेक्षा एउटा हुनु र छोराको चाहना अर्कै हुनु स्वभाविक कुरा हो। भैरव छोरालाई फ्याक्ट्रीमा काम गराउँदै इन्जिनियरिङ पढाउन चाहन्छन्। रोहनको सपना भने लेखक बन्ने हुन्छ।
उनी छोरालाई जबर्जस्ती बिहानै दौडाउँछन्। फ्याक्ट्रीमा काम गर्न पठाउँछन्। उनलाई छोराको भावनाभन्दा आफ्नो अनुशासन प्यारो छ।
भैरव छोरालाई मायाको साटो नियन्त्रण गर्छन्। रोहन बुबालाई सम्मानको साटो घृणा गर्छन्। बुबाको ठाडो हस्तक्षेपले उकुसमुकुस पार्न थाल्छ। रोहनले रक्सी सेवन गरेका बुबाबाट शारीरिक यातना पनि सहनुपर्छ।
वर्षौंपछि सँगै बस्न थालेका यी बुबा र छोराबीचको सम्बन्ध सहज बन्ला वा थप जटिल बन्दै जाला? द्वन्द्व मत्थर हुँदै जाला वा अझै चर्केला?
जति फिल्म अघि बढ्छ दर्शक मनमा यो प्रश्न झन्-झन् बलियो बन्दै आउँछ।
छोरा र बुबाबीचको द्वन्द्वात्मक सम्बन्धको जटिलता देखाउने क्रममा यी दुई पात्रको मनोविज्ञानको सूक्ष्म चित्रण गरिएको छ। अभिभावकले मायाको नाममा गर्ने नियन्त्रण अनि सन्तानले खोजेको स्वतन्त्रता र आत्मसम्मान फिल्मको मुख्य विषय हो।
फिल्मका दुई मुख्य पात्रले फरक सोच, फरक सिद्धान्त र फरक उमेरको प्रतिनिधित्व गर्छन्। यी दुबै चरित्र अप्रत्यासित छन्। त्यसैले उनीहरुले अब के निर्णय लेलान् भनेर दर्शकलाई अनुमान लगाइहाल्न गार्है पर्छ।
उडान किशोरवय उमेर समूहको मनोविज्ञानलाई फरक प्रस्तुतिका साथ उठाइएको फिल्म हो। यो फिल्मभित्र देख्न पाइने कथामात्र होइन। यथार्थमा पनि यस्ता कथा धेरै सुन्न र देख्न पाइन्छ।
तर बलिउडका फिल्ममा यस्ता कथाले खासै महत्व पाउँदैनन्। विषय छनौटसँगै फिल्मको प्रस्तुति पनि सशक्त छ। बुबाको भूमिकामा रोनित रायले बुलन्द अभिनय गरेका छन्। रोहनको आँखामा किशोरवय आवेग फिल्मभरि देख्न सकिन्छ।
स्क्रिनप्ले चुस्त छ। फिल्मको गति र भावसँग मिल्ने संगीत दिन माहिर अमित त्रिवेदीको संगीत पनि फिल्मको सशक्त पक्ष हो।
उडानका निर्देशक विक्रमादित्य मोटवानीले सन् २००९ को अनुराग कश्यपलाई 'देव डी' फिल्मको कथा लेख्न सघाएका थिए। सन् २०१० मा अनुरागले मोटवानीलाई उडानको कथा लेख्न सघाए। निर्देशक कश्यप उडानका निर्मातामध्ये एक हुन्।
कान्स फिल्म्स फेस्भिलमा 'अनसर्टेन रिगार्ड' पाउन सफल उडान समीक्षकहरूले निकै तारिफ गरेको फिल्म हो। सात वटा महत्वपूर्ण विधामा फिल्म फेयर अवार्ड जितेको उडान वर्षकै उत्कृष्ट फिल्म बन्यो। केही समीक्षकले बलिउडको दशककै उत्कृष्ट फिल्मको सूचीमा समेत राखे।
उडान रोनित रायको करिअरकै उत्कृष्ट फिल्मभन्दा फरक पर्दैन। तर यसमा उनको छोराको चरित्रलाई पनि उत्तिकै शक्तिशाली देखाइएको छ। फिल्ममा रोहनको रोष र आक्रामकता मात्र देखाइएको छैन। त्यसको कारणलाई पनि यथार्थपरक र विश्वसनीय हिसाबले प्रस्तुत गरिएको छ। सम्भवत: हिन्दी सिनेमाले रोहनको उमेरका पात्रलाई यति शक्तिशाली र विश्वसनीय रूपमा देखाउन सकेको थिएन।
फिल्ममा रोहन मानसिक र सामाजिक परिस्थितिसँग एकै पटक जुध्छन्। उडानले सहानुभूति र सतही समाधान खोज्दैन। बरू कुरुप यथार्थको सामना गर्ने हिम्मत जुटाउने आग्रह गर्छ। यो दोहोरो द्वन्द्वको चित्रण उडानको सबैभन्दा बलियो पक्ष हो।