मिलन नेवार र मिलन अमात्य नामले तपाईं नझुक्किनु होला।
'नोटबुक' फिल्ममा अभिनेत्री नीता ढुंगानाका लागि 'गाला रातै', 'काली' मा रेखा थापाका लागि 'स्लोली स्लोली' गाउने मिलन र लकडाउनयताको चर्चित गीत 'फूलबुट्टे सारी' गाउने मिलन एउटै हुन्।
विवाहअघि मिलन नेवार नामबाटै गाउने उनले विवाहपछि थर अमात्य राखेकी थिइन्। अहिले फेरि मिलन नेवार लेख्न थालेकी हुन्।
'फूलबुट्टे सारी' को अत्यधिक चर्चासँगै मिलनको थरबाट पर्न गएको अलमल अन्त भयो भन्न सकिन्छ। मिलनकै भनाइमा उनले यो गीतपछि केही समयको विश्राम तोड्दै 'कमब्याक' गरेकी हुन्।
सेतोपाटीसँगको कुराकानीमा मिलनले भनिन्, 'फूलबुट्टे सारीको सफलतापछि मेरो कमब्याक भएको भन्न मिल्छ। यो कमब्याकसँगै मेरो करिअरको तेस्रो चरण पनि सुरू भयो।'
मिलनको पहिलो चरण भारतको आसामबाट सुरू भएको थियो। घरमा बुबा, आमा, ठूलीआमादेखि मामासम्म गीत संगीतमा रूचि र दखल राख्थे। ठूली आमा डुकुना नेवार आसामकी चर्चित गायिका हुन्।
मिलनले चार/पाँच वर्षको उमेरदेखि बुबाको हात समाएर हार्मोनियममा सारेगम गाउन थालिन्। त्यसपछि स्कुलका आँगन हुँदै ठूला स्टेजसम्म आफ्नो क्षमता देखाइन्। आसाम छँदै उनले 'कालो धुवाँ', 'सिलोंग सहर' जस्ता गीत पनि रेकर्ड गराइन्।
आसाम हुँदा मिलनका बुबाले उनलाई भनिरहन्थे, 'पुर्खाको माटो चिन्नु पर्छ।'
उनका पुर्खा खाँदबारी, संखुवासभाबाट आसाम पुगेका थिए। परिवारकै चाहनामा मिलन एक दशकअघि पुर्खाको माटोलाई कर्मभूमि बनाउन नेपाल आइन्। यतै उनको विवाह पनि भयो।
शास्त्रीयदेखि राजस्थानी लोकसंगीतसमेत सिकेकी मिलनले छोटो समयमा यहाँका स्थापित कलाकारसँग काम गरिन्। फिल्मी र गैरफिल्मी गीतमा उनको माग बढ्यो। देश-विदेशका सांस्कृतिक कार्यक्रम र स्टेजमा उत्तिकै व्यस्त रहिन्। मिलन अमात्यका रूपमा सबै खाले गीत गाउन सक्ने गायिकाका रूपमा स्थापित भइन्।
मिलन त्यो समयलाई आफ्नो करिअरको दोस्रो चरण भन्छिन्।
दोस्रो चरणको निरन्तरतामा निजी जीवनमा आएका संकटले तगारो हाल्यो। उनी संगीतभन्दा निजी जीवनका झमेला व्यवस्थापनमा फसिन्। संगीत क्षेत्रमा सक्रियता कम भयो।
चार वर्षअघि मिलनको सक्रियता घटेको देखेर कतिले उनको सांगीतिक करिअर सकिने आशंका समेत गरे। उनको आफ्नै मनोबल पनि गिरेको थियो।
'संगीत नै छोड्दिम् कि! अब सक्दिनँ कि! यत्ति नै हो कि? अब कसरी अघि बढ्न सक्छु होला? भन्ने क्षण पनि आएको थियो,' उनले भनिन्, 'तर पूरै निस्क्रिय भइनँ। साधना र अभ्यास चलिरहेको थियो। नयाँ तरिकाले कमब्याक गर्न थोरै रिजर्भ्ड बसेकी हुँ।'
निराशा र हतासका बाबजुद धैर्य, निरन्तरता र परिवारको साथले आफू लडेर फेरि उठ्न सकेको उनको भनाइ छ।
जीवनमा यस्तो कमब्याक गर्न सजिलो नभएको बताउँदै उनले भनिन्, 'कुनै पनि क्षेत्रमा सफल हुन प्यासन र क्रेजिनेस चाहिन्छ। संघर्ष र निरन्तरता बाहेक भाग्य पनि चाहिन्छ होला। निराश भइसकेकी थिएँ तर जोग–संजोग मिल्यो।'
राजनराज सिवाकोटीको शब्द-संगीतमा बनेको करिब १२ वर्ष पुरानो गीत 'फूलबुट्टे सारी' को फिमेल भर्सनबाट उनी नयाँ स्रोतामाझ पुगिन्। उनको गायकी मन पराउने पुराना स्रोतासँग पनि जोडिइन्।
युट्युबमा मिलनले गाएको भर्सन छोटो समयमा करोड भ्युज पाउन सफल गीत बन्यो। हाल यो गीतको भ्युज झन्डै सात करोड पुगिसकेको छ।
लकडाउनयताको समय उनको करिअरको तेस्रो चरण बनेको छ।
महामारीको अप्ठ्याराबीच रेकर्ड भएका उनका 'देऊ न मलाई बास', यश कुमारको पुरानो गीतको रिमेक 'तिम्रो मन बदलिएछ' लगायत गीत स्रोता-दर्शकले मन पराएका छन्।
एकल र युगल दुवै खालका गीतमा सफल मिलनले हालै कलाकार मदनकृष्ण श्रेष्ठसँग 'सुनको कचौरी' बोलको गीत गाएकी छन्।
तेस्रो चरणको चर्चा र सफलताको सन्दर्भमा 'भ्वाइस अफ नेपाल किड्स' को कुरा छुटाउन मिल्दैन।
उनी यस कार्यक्रममा कोचका रूपमा देखिँदै छिन्।
रियालिटी शोसँग मिलनको आफ्नै विगतको अनुभव पनि गाँसिएको छ। भारत हुँदा उनले आफ्नी गायिका ठूलीआमाको प्रोत्साहनमा जयपुरमा आयोजित संगीत प्रतियोगितामा सहभागी भएकी थिइन्। कार्यक्रममा दिग्गज बलिउड संगीतकार नौसाद र प्रख्यात गजल गायिका पिनाज मसानीजस्ता हस्ती निर्णायक थिए।
प्रतियोगितामा 'फस्ट रनर अप' भएकी मिलन कलिलो उमेरमा ठूला हस्तीका अगाडि नर्भस भइन्। तर पनि जोस र आत्मविश्वास साथ सहभागी भएको बताउँछिन्।
उनले अनुभव सुनाइन्, 'जयपुरमा प्रतियोगीका रूपमा सहभागी भएको अनुभव अहिले कोच बन्ने बेला काम आउने भएको छ। आफू पनि त्यस्तै खालको पृष्ठभूमिबाट आएकाले सहभागीको मनोविज्ञान बुझेर कोचको भूमिका निर्वाह गर्नेछु।'
मिलनका अनुसार उनी अहिले औसतमा साताको एक/दुइटा गीत रेकर्ड गराइरहेकी छन्। तर समय एकैपटक पर्दा एकै दिनमा तीन/चार वटा रेकर्ड हुन्छ। महामारी नहुँदो हो त उनी योभन्दा धेरै व्यस्त हुन्थिन्। अझ दसैं-तिहारजस्ता चाडपर्वमा स्टेज कार्यक्रम हुन्छन्, भ्याइनभ्याइ नै हुन्थ्यो।
स्रोता-दर्शकका अगाडि प्रत्यक्ष गाउने अवसरबाट वञ्चित भएकाले उनमा ठूलो भीडसामु गाउने हुटहुटी भने छ। सम्भवत: दसैंअघि दाङमा हुन लागेको कन्सर्टमा उनले यो हुटहुटी पूरा गर्ने छिन्।
'महामारीका कारण स्रोताको अगाडि प्रत्यक्ष गाउन पाइएको छैन। आर्थिक रूपमा पनि धेरै घाटा लागेको छ,' उनले भनिन्।
सिक्काको अर्को पाटो भनेझैं मिलनले महामारीको फाइदा पनि सुनाइन्, 'घरमा समय दिन पाइएको थिएन। दसैंतिहारको टीकासमेत नलगाई दर्शक-स्रोतासँग समय बित्थ्यो। अहिले परिवारसँग बस्न पाइएको छ।'