गुड फ्राइडे सिनेमा
घरीघरी आउने उस्तै सपनामा
देख्छु कि म उडिरहेको छु
आकाशमा चराजस्तै
आकाशलाई चिर्दै म बढिरहेछु, बढिरहेछु
उडिरहँदा साथमा महसुस हुने खुसी
यस्तो खुसी जसलाई शब्दमा बयान गर्न मुस्किल छ।
यो सपना मेरो होइन।
'आँखों देखी' का मुख्य पात्र बाउजीको हो। बाउजी सपनामा उडेर मदमत्त हुन थालेको धेरै भइसक्यो।
दारी-कपाल फुलिसकेका यी बाउजी विपनामा दिल्ली सहरको फटेहाल बस्तीमा बस्छन्। यही बस्तीमा उनको श्रीमती, छोराछोरी, भाइभतिज सहितको संयुक्त परिवार छ। सामान्य कमाइबाट गुजारा चलिरहेको परिवारका सदस्यको संख्या अनुसार घर साँघुरो छ।
एकअर्काप्रति माया, प्रेम, इज्जत हुँदाहुँदै पनि हरेक सदस्यको निजी जीवन र सोचका कारण मतभिन्नता पनि छन्।
फिल्मको कथा बाउजीका घरका सदस्यले उनकी छोरी रिटाको प्रेम प्रसंग थाहा पाएको घटनाबाट सुरू हुन्छ। रिटाको प्रेमी लफंगा भएको आरोप लगाउँछन्। तर बाउजीले जब रिटाका प्रेमीलाई प्रत्यक्ष भेट्छन् उनलाई छोरीले मन पराएको केटा सिधासाधा लाग्छ। सत्यका नाममा केही समाजले थोपरेका कुरा मात्रै रहेछन्।
यो सामान्यजस्तै लाग्ने घटनाले बाउजीको जीवनमा असामान्य परिवर्तन ल्याइदिन्छ। उनलाई आजसम्म अरूकै सत्यलाई आफ्नो सोचेर बाँचिरहेको कुराले ग्लानी हुन थाल्छ। आफूमाथि सत्य भनेर सानैदेखि दिमागमा कति धेरै कुरा थोपरिएको रहेछ भन्ने कुराले पिरोल्छ।
त्यस दिन आधारातसम्म सोचमग्न बाउजी बिहान उठ्दा नयाँ मान्छे बनेर उठ्छन्। अनि परिवारका सदस्यलाई आफूले आँखाले देखेको र कानले सुनेको कुरा मात्र सत्य, बाँकी सबै गलत भएको निष्कर्ष सुनाउँछन्। उनी आफ्ना भाइ ऋषिले पढिरहेको पत्रिकासमेत थुत्छन्।
भतिज, बुहारी, श्रीमती, छोरी सबैलाई आफ्नो कुरा बुझाउने कोसिस गर्छन्। अनि घोषणा गर्छन्, 'मैले निर्णय गरिसकेँ। मेरो सत्य मेरो अनुभवमा आधारित सत्य हुनेछ। आजदेखि म हरेक त्यस्तो सत्य मान्न अस्वीकार गर्छु, जसलाई मैले देखेको वा सुनेको छुइनँ।'
उनी हरेक कुरामा प्रश्न र शंकाका आधारमा परख गरेर मात्र विश्वस्त हुने कुरा पनि सुनाउँछन। अनि भन्छन्, 'आजसम्म सिकेका गलत र गलत तरिकाले मलाई सिकाइएका सबै कुरा भुलाइदिन्छु। अब जे हुन्छ नयाँ हुनेछ। सत्य हुनेछ।'
यसपछि सुरू हुन्छ बाउजीको नयाँ जीवन यात्रा। बाउजीको यो निर्णय अरूका लागि भने सनक वा लहडभन्दा बढी केही हुँदैन। तर बाउजी आफ्नो निर्णयलाई अक्षरस पालना गर्न प्रतिबद्ध हुन्छन्।
घर, परिवार, कार्यालय र समाजका सदस्यसँग बाउजीको वैचारिक एवं व्यवहारिक द्वन्द्व बढ्न थाल्छ।
यसले आफ्नो सत्य आफैं निर्माण गर्न हिँडेका बाउजीलाई कता पुर्याउला? फिल्मले हास्यमय संवाद र दृश्यका माध्यमबाट दर्शकलाई बाउजीको यो रोचक यात्रामा हिँडाउँछ। अनि कतै पुगेर दर्शकलाई गम्भीर रुपमा सोच्न पनि बाध्य पार्छ- 'तपाईंको जीवनको सत्य के हो?'
'त्यो सत्य तपाईंको आफ्नै अनुभवमा आधारित हो वा अरू कसैले थुपारिदिएको?'
अलिकति अनौठो र उट्पट्याङ लाग्ने 'आँखों देखी' को कथा निर्देशक रजत कपुर आफैंले लेखेका हुन्। 'फस गए रे ओबामा' फिल्ममा काम गर्दा निर्देशक अभिनेता सञ्जय मिश्राबाट प्रभावित भएका थिए। रजतले आँखो देखीको कथा लेख्ने बेला नै मुख्य पात्र बाउजीको भूमिकामा सञ्जयलाई अभिनय गराउने सोच बनाएका थिए। जब कि साना र कमेडी भूमिकामा बढी देखिएका सञ्जय आफैंलाई सिंगो फिल्म आफूले धान्ने विश्वास थिएन। तर आँखो देखीमा उनलाई अभिनय गराउने निर्णय दुवैका लागि सही साबित बन्न पुग्यो।
भारतको नेसनल स्कुल अफ ड्रामाका उत्पादन सञ्जय विज्ञापन, टेलिभिजन र सिनेमामा सहायक भूमिकामा देखिँदै बलिउडमा स्थापित भएका कलाकार हुन्। डेढ दशकभन्दा बढी समयपछि बल्ल उनले आँखो देखी जस्तो शक्तिशाली भूमिका पाए।
यो फिल्ममा उनले एउटा सनकमा ठूलो निर्णय गर्ने वृद्ध पात्रको भूमिका निर्वाह गरेका छन्। बाउजी पात्र एक हो, तर घरी उनी भाइसँग चित्त दुखाउने दाइका रूपमा इखालु देखिन्छन्। घरी घरका अरु सदस्यलाई छलेर छोरीलाई माया गर्ने मायालु बुबा। कतै बिन्दास त कतै निर्दोष पात्रका रूपमा उनको अभिनयले यादगार छाप छोड्छ।
सञ्जय र रजतबाहेक फिल्ममा भएका कलाकारको नाम ठूलो नहोला, तर सबैको काम सशक्त छ। श्रीमानको लहड, छोरीको भविष्य र देवर देवरानीसँग खटपट झेल्ने पात्रका रुपमा सीमा पाहवाले मन जित्छिन्। छोरी रिटाको भूमिकामा माया सराओको काम पनि प्रभावशाली छ।
पृष्ठभूमिमा वरुण ग्रोवरको शब्दमा गुञ्जने कैलाश खेरको आवाजले पनि बाउजी पात्रको खोज यात्रामा प्राण भरेको महसुस गराउँछ। क्यामराले फिल्मको पहिलो दृश्यदेखि नै अँध्यारो र उज्यालो प्रकाशसँग खेल खेलेझैं ज्ञान र भ्रमको संसारसँग लुकामारी खेलाउँदै मुख्य पात्रको परिवेश निर्माण गरेको छ।
यो फिल्म बनाउन निर्माता नपाएको झोंकमा रजत कपुरले ट्विट गरेका थिए। राम्रा अभिनेता र निर्देशकका रजतलाई पछ्याउने मनीष मुन्द्रा त्यही ट्विट पढेर यो फिल्मको निर्माता बने।
सन् २०१४ मा सार्वजनिक आँखों देखी समीक्षकहरूबाट प्रशंसा पाउन सफल फिल्म हो। यसले फिल्म फेयर अवार्ड फर बेस्ट फिल्म (क्रिटिक्स), फिल्म फेयर अवार्ड फर बेस्ट (एक्टर) र फिल्म फेयर अवार्ड फर बेस्ट स्टोरी को अवार्ड जितेको थियो।
जीवनको उत्तरार्द्धमा पुगेर बाँच्ने शैली बदल्न हिँडेका वृद्ध पात्र बाउजीको यो कथा परिवारसँगै बसेर हाँस्दै–रमाउँदै हेर्न सकिन्छ।