छोटा फिल्महरू सिनेमा हलमा लाग्दैनन्। तर संसारभरका दर्शकमाझ छोटा फिल्म लोकप्रिय छन्। पछिल्लो समय प्रविधिको पहुँच र राष्ट्रिय अन्तर्राष्ट्रिय महोत्सवहरूमा छोटा फिल्मले विशेष स्थान पाइरहेका छन्।
नेपालको सन्दर्भमा पनि विभिन्न महोत्सवमा सहभागी भई चर्चा र पुरस्कार जित्ने नेपाली फिल्मको संख्या निरन्तर बढिरहेको छ।
युट्युबमा सबै नभेटिए पनि केही राम्रा छोटा फिल्म सजिलैसँग हेर्न पाइन्छ। विभिन्न महोत्सवमा चर्चा कमाएका, पुरस्कार जितेका बाहेक विषयगत विविधितालाई पनि ध्यानमा राखेर यो सूची बनाइएको छ।
माँ, निर्देशकः परिच्छेद सेन
एकादेशमा फिल्म फेस्टिभलमा प्रिमियर भएको 'माँ' मन छुने फिल्म हो। थोरै संवादमा एउटी आमाको भावना र वेदना अभिव्यक्त गर्ने यो फिल्मले सन्तानको खुसीमा समर्पित आमाको कथा भन्छ।
गुरुङ भाषामा आमालाई 'माँ' भनिन्छ। कान्तिपुर फिल्म एकेडेमीको प्रस्तुति रहेको यो फिल्म गोरखा लाप्राकको गुरुङ बस्तीमा छायांकन भएको छ।
फिल्मले सन्तानको बेवास्ताका बावजुद आमाहरूले कसरी सन्तानको सुखका लागि त्याग गर्छन् भनेर देखाइएको छ। यसका साथमा फिल्मले लाप्राकको कठिन दैनिकी पनि सुन्दर ढंगले उतारेको छ। आमाको भूमिकामा आस्पानी गुरुङ हदैसम्म निर्दोष लाग्छिन्।
तेन्जिन पाल्देनको छायांकन गजब छ भने जेशन कुँवरको संगीत पनि विशेष छ।
थुप्रै अवार्ड जित्न सफल 'माँ' अमेरिकाको क्रशओभर फिल्म फेस्टिभलमा उत्कृष्ट निर्देशक, उत्कृष्ट फिमेल आर्टिस्ट, उत्कृष्ट निर्माता, उत्कृष्ट ओरिजिनल म्युजिक अवार्ड जितेको थियो।
च्यान्टी, निर्देशकः भीमसेन लामा
माओवादी छापामार राम दसैं मनाउन तीन वर्षपछि घर फर्केको सन्दर्भबाट 'च्यान्टी' फिल्म सुरू हुन्छ। घरमा उनकी श्रीमती र सानी नामकी छोरी छिन्। आर्थिक अभावले छोरीको पढाइ रोकिएको छ। सानीको धेरै समय घरकै खसी च्यान्टीसँग बित्छ।
दसैं मनाउन खर्च अभाव भएकाले सानीका आमाबुबाले च्यान्टीलाई बेच्ने निर्णय गर्छन्। सुरक्षाका कारण च्यान्टीलाई बजारसम्म लगेर बेच्न पनि उनका बुबाले सानीलाई साथ लिएर जानुपर्ने हुन्छ। आफ्नी छोरीको चित्त दुखाएर उनलाई च्यान्टीबाट कसरी अलग गर्ने भन्ने दुविधामा हुन्छन्। बुबा छोरीको यो यात्रा दर्शकलाई भावुक बनाउने खालको छ।
एकातिर सानीको च्यान्टीप्रतिको प्रेम, अर्कोतिर उनका अभिभावकको दसैंसँग जोडिएको खुसीको कथा, फिल्ममा दुवै कथा सँगै बग्छ। यो फिल्मको मुस्ताङमा गरिएको छायांकन पनि हेर्न लायक छ।
सानीको भूमिकामा बालकलाकारको बालसुलभ निर्दोषपन झल्किएको छ। सम्पदा मल्लको पटकथा रहेको यो फिल्ममा विदेशी प्राविधिकहरू जोडिएका छन्। फिल्मले थुप्रै पुरस्कारहरू जितेको छ।
'च्यान्टी' एल दोरादो फिल्म फेस्टिभल युएस, लिंक इन्टरनेशनल फिल्म फेस्टिभल युके, फार्म इन्टरनेशनल फिल्म फेस्टिभल इटालीजस्ता महोत्सवहरुमा पुरस्कृत भएको थियो। साथै, दर्जनभन्दा बढी महोत्सवहरुमा छनोट भई प्रदर्शन भइसकेको छ।
बाटुलीको चुरा, निर्देशकः अनुप पौडेल
विम्बहरूमा खेलिएको 'बाटुलीको चुरा' को प्रस्तुति मन छुने खालको छ। आठ वर्षकी बाटुली शृंगारमा रमाउँछिन्। दुई चुल्ठो कोरीबाटी टीका लगाई ऐना हेरेर रमाउने उनमा चुरा लाउने ठूलो रहर छ।
बाटुली चुरावालासँग चुरा माग्न जान्छिन्। चुरावालाले पुरानो चप्पलका साटो मात्र चुरा दिन्छ। तर बाटुलीसँग नयाँ चप्पल मात्रै छ। आफूभन्दा अलिकति मात्र ठूला दाइलाई आफ्ना चप्पल साटेर चुरा किन्न र त्यसको बदला सिठ्ठी दिने भनेर बाटुलीले फकाउँछिन्।
फिल्म यी बहिनी र दाइले चुरा किन्न गर्ने घटनामै केन्द्रित छ। यो फिल्म सपना पछ्याउने बालिकाको कथा हो। फिल्मले चुरा किन्ने घटनामार्फत् बहिनी र दाइको प्रेम पनि देखाएको छ।
रिया तामाङ र प्रसुन घिमिरे मुख्य भूमिकामा रहेको यो फिल्मको छायांकन र सम्पादन बलियो छ। फिल्मको कथा पनि निर्देशक अनुपले नै लेखेका हुन्।
अनुमाला, निर्देशक: विभु पौडेल र विशाल डोटेल
अनुराधा नेपाली सेनामा कार्यरत युवती हुन्। किशोरकिशोरीलाई आत्मरक्षाको तालिम दिने उनी बिदामा आमा भेट्न घर पुग्छिन्। घर पुग्दा उनको घरमा दुई महिला र एक पुरुष पाहुना बनेर आएका हुन्छन्।
घटनाक्रमले ती तीनमध्ये दुई जना मिलेर एक युवतीलाई बेच्न लगेको थाहा पाउँछिन्। आफूजस्तै उमेरकी निर्मलालाई अनुराधाले बेचिनबाट बचाउने कथा हो, 'अनुमाला'।
नेपालका निर्मलाजस्ता धेरै महिला छिमेकी देश भारत र अन्य देशमा बेचिँदै आएका छन्। फिल्मले यही विषय केन्द्रमा राखेको छ। अनुमालामा कमजोर र बलियो महिलाका दुई रुप छन्। बेच्न खोज्ने महिला र बचाउने महिलाका दुई रूप यसमा देख्न पाइन्छ।
विभु पौडेल र विशाल डोटेलले संयुक्त निर्देशन रहेको अनुमाला, केही समयअघि मात्रै युट्युबमार्फत सार्वजनिक गरिएको हो। यो फिल्म अमेरिकाको 'एसियन फिल्म फेस्टिभल २०१९' र 'टिबुरोन फिल्म फेस्टिभल' को १९ औं संस्करणमा छनोट भएको थियो।
इन ट्रान्समिसन, निर्देशकः दृष्टि बागदास
सरुक ताम्राकार र प्रेक्षा बज्राचार्य मुख्य भूमिकामा रहेको यो रोचक फिल्म हो। एउटा कारखानामा काम गर्ने रवि र उनका साथी नियमित जुवा खेल्छन्। चोरीको मोबाइल बेच्न गएका बेला एक दिन रविले पुरानो टेलिभिजन चोर्छन्।
त्यो टेलिभिजन घर लगेपछि उनकी श्रीमती त खुसी हुन्छिन् नै रविको जीवनमा कायापलट पनि आउँछ। यसको कारण हो उनको टेलिभिजनको चलाख घडी।
केही मिनेटपछि हुने कुरा टेलिभिजनमा पहिल्यै थाहा पाउने भएकाले रवि घरै बसेर बाजी जित्न थाल्छन्। नोकरी छोडेर उनी पूरा समय घरमा बिताउँछन्। तर एक दिन यही चलाख घडीका कारण उनले सोच्दै नसोचेको घटना हुन्छ।
त्यो घटना थाहा पाउन फिल्म हेर्नुस्, पक्कै मजा आउने छ।
भविष्य पहिल्यै थाहा हुनुका फाइदा-बेफाइदा देखाउने फिल्मको कथा निर्देशक दृष्टिले नै लेखेकी हुन्। यसमा सिसन बाँनिया र विवेक खड्काका छायांकन छ।
नयाँ झुल, निर्देशकः महेश श्रेष्ठ
'नयाँ झुल' प्रेममा धोका पाएकी युवती ऋतुको कथा हो। प्रेमी संजयले छल गरेपछिको उनको जीवन र सम्बन्धबारे धारणा फेरिन्छ। उनी कतिपय सम्बन्धलाई झुलसँग दाँज्दै भन्छिन्, 'प्वालै प्वाल भरिएका, जति मिहेनत गरे पनि टाल्नै नसकिने। तिनको अस्तित्व नै त्यही प्वालमा हुँदोरहेछ। सायद।'
प्रमिशा केसीको कथा रहेको यस फिल्ममा शर्मिला बस्नेत, अम्बर सुवेदी, प्रमिला तुलाचन आदिको मुख्य भूमिका छ। फिल्म पोखराको परिवेशमा छायांकन गरिएको छ।
'नयाँ झुल' एकादेशमा र पोखरा इन्टरनेशल माउन्टेन फिल्म फेस्टिभलमा प्रदर्शन भएको थियो।
बब, निर्देशकः अनील न्यौपाने
फरक विषयहरूमा छोटा फिल्म बनाउने अनील न्यौपानेको 'बब' मा सिजोफ्रेनिया भएका युवाको कथा छ। सिजोफ्रेनिया रोगी बबलाई मनोचिकित्सकले उपचार गर्न फरक तरिका अपनाउँछन्। यही क्रममा दर्शकले बबको कथा थाहा पाउँदै जान्छन्। फिल्ममा अनोज पान्डे बबको भूमिकामा छन्।
फिल्मका निर्देशक अनीलले बलिउड निर्देशक शिशिर कुन्दरले आफ्नो कथा चोरेर हिन्दी फिल्म कृति बनाएको आरोप लगाएका कारण पनि 'बब' चर्चामा आएको थियो। ज्याज फ्याक्ट्रीको प्रस्तुति बब हेर्दा थ्रिलर फिल्म हेरेको भान हुन्छ। फिल्ममा ध्वनिको प्रयोगले बेग्लै रोमाञ्च पैदा गराउँछ।
(प्रभाकर गौतमका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)