पोहोर वैशाख बलिउडका अब्बल अभिनेता इरफान खानको निधन भयो। ५३ वर्षीय इरफानको निधनले भारतीय मात्र होइन, संसारका धेरै देशका दर्शकलाई स्तब्ध बनायो।
'सुपरस्टार' नभनिए पनि इरफान धेरै प्रशंसकका नजरमा उदाउँदा 'स्टार' थिए। टेलिश्रृंखलादेखि बलिउड-हलिउड फिल्म, जापानी मिनी–सिरिजसम्म उनले आफ्नो दमदार अभिनय देखाएर दर्शकको मन जिते।
उनलाई २०१८ मार्चमा न्यूरो–एन्डोक्राइन ट्यूमर भएको थियो। लामो समय बेलायतमा उपचार गराएर केही महिनाअघि मात्र भारत फर्केका थिए। ठूलो आन्द्रामा संक्रमण भएपछि मुम्बईको कोकिला वेन धिरुभाइ अम्बानी अस्पताल भर्ना भएका उनको निधन भयो।
नब्बे दशकमै केही फिल्म खेलेका उनले त्यसअघि लामो समय दुरदर्शनका टेलिभिजन शृंखलाहरूमा सानोतिनो भूमिका गरे। बलिउडमा उनको साख जमेको सन् २००० को प्रारम्भबाट हो।
त्यसयता उनले खेलेका फिल्म 'हासिल', 'मकबूल', 'तलवार', 'पानसिंह तोमर', 'द लन्चबक्स', 'पिकू', 'हिन्दी मिडियम' लगायतलाई दर्शक र समीक्षक दुवैले मन पराए। हलिउडमा भारतको प्रतिनिधित्व गर्ने अब्बल अभिनेता पनि इरफान नै हुन्।
उनले सन् २००८ को ओस्कार विजेता 'स्लमडग मिलेनियर' देखि 'द अमेजिङ स्पाइडरम्यान' (२०१२), 'लाइफ अफ पाई' (२०१२), 'जुरासिक वर्ल्ड' (२०१५) र 'इन्फर्नो' (२०१६) मा काम गरे। उनको अन्तिम फिल्म यसै वर्ष रिलिज भएको 'अंग्रेजी मिडियम' हो।
सधैं नयाँ भूमिका गर्न उत्सुक इरफानका युट्युबमा उपलब्ध केही फिल्मको सूची यहाँ राखिएको छ जसमा उनको शानदार अभिनय देख्न पाइन्छ।
लाइफ इन अ मेट्रो (२००७), निर्देशकः अनुराग बासु
रंजित (केके मेनन) र शिखा (शिल्पा सेट्टी) दम्पत्ती हुन्, तर एकअर्कासँग खुसी छैनन्। रंजित आफ्नो कार्यालयकी युवती नेहा (कंगना रनावत) सँग शारीरिक रुपमा नजिक छन्। नेहाको पनि रंजितसँग सम्बन्ध गाँस्ने आफ्नै स्वार्थ छ। नेहाप्रति त्यही कार्यालयका अर्का कर्मचारी राहुल (शरमन जोशी) आकर्षित छन्। शिखाको जीवनमा ठोक्किने आकाश (शाइनी आहुजा) पनि पत्नीसँग छुट्टिएको पात्र हो।
यही सहरमा आफूलाई माया गर्ने मान्छे खोजिरहेकी श्रुति (कोनकोना सेन शर्मा), जसलाई मन पराउने कोही भेटिएकै छैन। उनको जीवनमा इन्टरनेट मार्फत् मोन्टी भेटिए पनि उनलाई मन पर्दैन। फिल्ममा मोन्टीको भूमिकामा इरफान खान छन्।
फिल्ममा चालीस वर्षपछि पनि आफ्नी पहिलो प्रेमिका भुल्न नसकेर अमेरिकाबाट भारत आउने वृद्ध पात्रदेखि तन्नेरी युवाका प्रेमका अनेक रङ देख्न पाइन्छ। फिल्मको पहिलो दृश्यमै निर्देशकले दर्शकलाई आफ्ना पात्रहरूबारे संकेत दिन्छन्।
पात्रका आधा-अधुरा सम्बन्धहरूलाई निर्देशक अनुराग बासुले कुशलताका साथ बुनेका छन्। महानगरको भिडमा भौतिक र मानसिक खुसी खोज्दै भौंतारिने पात्रहरूको जेलिएको सम्बन्धको कथा भन्ने 'लाइफ इन अ मेट्रो' ले संगीत, स्क्रिनप्ले र कलाकारको अभिनयका कारण त्यो वर्षकै राम्रो फिल्ममा दर्ज भएको थियो।
मोन्टी र श्रुतिको भूमिकाका लागि इरफान र कोनकोनाले दुवैले सहायक अभिनेता र सहायक अभिनेत्रीको फिल्मफेयर अवार्डलगायत अन्य अवार्ड जितेका थिए। यसअघि इरफानले 'हासिल' फिल्मबाट नकारात्मक भूमिकाका लागि अवार्ड जितेका थिए। 'लाइफ इन अ मेट्रो' बाट सहायक अभिनेताका रुपमा अवार्ड जित्नु उनी फरक खालका चरित्रमा जम्न सक्छन् भन्ने प्रमाण थियो।
पानसिंह तोमर (२०१२), निर्देशकः तिमांशु धुलिया
पानसिंह तोमरको जन्म १९३२ मा मध्य प्रदेशको भिदोसा गाउँमा भएको थियो। उनी भारतीय सैनिक सेवामा सुबेदारका रूपमा प्रवेश गरे। पानसिंहमा दौडन सक्ने असाधारण क्षमता थियो। यही कारण उनी बन्दुक बोक्ने सिपाही नभएर लामो दौडका धावकका रुपमा स्थापित भए।
राष्ट्रिय-अन्तर्राष्ट्रिय दौडमा भाग लिएर पुरस्कार जिते। सात वर्षसम्म निरन्तर स्टेपल चेजिंगको नेसनल च्याम्पियन बने। उनले बनाएको रेकर्डलाई दश वर्षसम्म कसैले तोड्न सकेको थिएन।
उनै पानसिंह १९७२ मा अवकाश पाएर गाउँ फर्किन्छन्। गाउँमा अरूमाथि धाक जमाएर बसेको बाबुसिंहसँग उनको जग्गासम्बन्धी विवाद हुन्छ। विवाद पञ्चायतसम्म पुग्छ। तर पानसिंहले न्याय पाउनुको साटो अपमान भोग्नुपर्छ। एकपछि घट्ने अर्को घटनाले आफूलाई सम्मानित खेलाडी सोच्ने पानसिंहको भ्रम टुट्दै जान्छ।
उनकी बुढी आमामाथि बाबुसिंहले हमला गरेपछि उनी बन्दुक बोकेर बदला लिने निर्णयमा पुग्छन्। उनको यही कदमले उनलाई चम्बलको खुंखार डाँकुमा परिणत गरिदिन्छ।
वास्तविक पात्रकै कहानीमा बनेको यो बायोपिकमा एउटा कलाकार आफ्नो चरित्रमा कतिसम्म डुब्नसक्छ भन्ने उदाहरण बनेका छन्, इरफान। पर्दामा पानसिंह तोमरलाई जीवन्त बनाएका कारण उनले निकै प्रशंसा पाए। फिल्म फेयरदेखि नेसनल अवार्डसम्म दिलाउने यो इरफानको जीवनकै महत्वपूर्ण फिल्म हो।
मकबूल (२००३), निर्देशकः विशाल भारद्वाज
एकसेएक दिग्गज कलाकार भएको यो फिल्ममा इरफान मुख्य भूमिकामा छन्। यो फिल्म सार्वजनिक भएका बेला यति लामो र बलियो भूमिका पाउनु उनको करिअरका लागि महत्वपूर्ण उपलब्धि थियो।
'मकबूल' ले दर्शकलाई मुम्बई अन्डरवर्ल्डको दुनियाँमा पुर्याउँछ। अब्बाजी (पंकज कपुर) यो दुनियाँका बादशाह हुन् भने मकबूल (इरफान खान) उनका मुख्य मुख्य मान्छे।
अब्बाजीप्रति इमानदार हुँदाहुँदै पनि मकबूल र अब्बाजीकी पत्नी निम्मी (तब्बू) प्रेममा परेका छन्। मकबूलको स्वभावदेखि वरपरकालाई उनी अब्बाजीलाई मारेर डन बन्छन् कि भन्ने शंका छ। निम्मी पनि यही चाहन्छिन्- मकबूलले अब्बाजीलाई मारून् र उनीहरूको प्रेममा कुनै अवरोध नआओस्।
प्रेमिकाले नै उक्साएका मकबूलले कस्तो निर्णय गर्लान् भन्ने जान्न फिल्म हेर्नुपर्छ।
नसिरुद्दीन शाह, ओम पुरी, पंकज कपुर, पियूष मिश्राजस्ता कलाकारले भरिएको 'मकबूल'का चरित्र बलिया छन्। विशाल भारद्वाजले शेक्सपियरको नाटकबाट प्रेरित शृंखलाबद्ध रूपमा तीन फिल्म बनाएका थिए- 'मकबूल', 'ओमकारा' र 'हैदर'।
यीमध्ये मकबूल 'म्याकबेथ', ओमकारा 'ओथेलो' र हैदर 'हेम्लेट'मा आधारित थिए। विशाल भारद्वाजको प्रस्तुति र कलाकारको शानदार अभिनयले 'मकबूल' विशेष फिल्म बन्यो। यसमा इरफानको अभिनय पनि विशेष छ।
मदारी (२०१६), निर्देशकः निशिकान्त कामत
गृहमन्त्रीका आठ वर्षीय एक मात्र छोरा रोहन गोस्वामी (विशेष वंशल) को अपहरणबाट फिल्मको कथा सुरू हुन्छ। फिल्ममा इरफान गृहमन्त्रीका उही छोरा अपहरण गर्ने पात्र निर्मल कुमार बनेका छन्। बच्चाको खोजीमा सिबिआइ अफिसर निशिकेत वर्मा (जिमी शेरगिल) हात धोएर लागिसकेका छन्। यता निर्मल भने रोहनलाई लिएर एउटा सहरबाट अर्को सहरको यात्रा गरिराख्छन्।
प्रहरीको आँखा छल्दै हिँड्ने निर्मलले अपहरण गर्नुको ठोस कारण यिनै यात्राका क्रममा थाहा हुँदै जान्छ। फिल्ममा वर्तमान र विगतका कुरा छ्यासमिसे तरिकाले आइरहन्छन्। नयाँ पात्र र पत्र खुल्दै आउँछन्। गृहमन्त्रीका छोरा अपहरण गर्नुको कारण थाहा पाउन फिल्म नै हेर्नुहोला।
'मदारी' मा सामाजिक विषयवस्तुको उठान गरिएको भए पनि अब्बल फिल्म होइन। तर इरफानलाई पर्दामा देखिरहन चाहनेका लागि यो फिल्मले आनन्द दिन्छ।
पात्रअनुसार अपहरणकारीजस्तै देखिने लामो कपाल र बाक्लो दाह्री पालेको हुलिया होस् वा अस्पतालमा रोएको दृश्य, उनी फिल्मभरी छाइरहन्छन्। उनले अभिनयमा कुनै कसर बाँकी राखेका छैनन्।
लन्च बक्स (२०१३), निर्देशकः रितेश बत्रा
लन्च बक्स फिल्मभित्रै एउटा हिन्दी कहावत आउँछ– कहिलेकाहीँ गलत रेलले पनि सही ठाउँ पुर्याइदिन्छ। यस फिल्मका साजन (इरफान खान) र इला (निमरत कौर) त्यस्तै पात्र हुन्।
इलाले उनको श्रीमानका लागि भनेर पठाएको लन्च बक्स गल्तीले साजनको टेबुलमा आइपुग्छ। श्रीमानको मन तान्न छिमेकी आन्टीको सुझावमा मीठा परिकार पकाउने इलाले पकाएको लन्चको स्वादले साजन लठ्ठिन्छ। एक दिन, दुई दिन गर्दागर्दै यी दुई पात्र लन्च बक्स भित्रै चिठी राखेर भावना साट्न थाल्छन्। ती चिठी नै दर्शकलाई ती दुई पात्रको जीवनको नजिक पुर्याउने माध्यम बन्छ। केटाको चिठी अंग्रेजीमा र केटीको चिठी हिन्दी भाषामा आउँछ।
श्रीमती गुमाएर रित्तिएका साजन र श्रीमान भएर पनि नभए झैं स्थितिमा पुगेकी इला आफ्नो कुरा पोख्न नपाएर गुम्सिएका पात्र हुन्। हरेक दिन साजन अफिस आउँदा जाँदाका दृश्यले मुम्बई सहरको भिड र उसको एक्लोपनले बोकेर हिँड्छ।
योभन्दा अगाडिको कथा फिल्मले भनिहाल्छ। यति चाहिँ भनौं, फिल्मको कथाभन्दा कथालाई बुन्ने शैली तारिफयोग्य छ। मुम्बईका साइकल र रेलमा देखिने डिब्बावालाहरूको समूहलाई फिल्ममा सुन्दर ढंगले खिचिएको छ। लन्च बक्सले ती डिब्बावालाको कथा नभनिकनै मुम्बई सहरको दैनिकीमा उनीहरूको महत्वपूर्ण योगदान देखाएको छ।
पटकथा, सम्पादन, अभिनय र निर्देशन सबै चुस्त लाग्ने लन्च बक्स मन अघाउने स्वादिलो सिनेमा हो। यो कान फिल्म फेस्टिभलमा क्रिटिक्स विक भ्युअर्स च्वाइस अवार्ड जित्न सफल फिल्म हो।