सन् १९१९ देखि सिनेमा बन्न थालेको कोरियाली सिनेमाले गत वर्ष सय वर्ष पूरा गर्नु एउटा इतिहास थियो। त्यसलगत्तै कोरियाली निर्देशक बोङ जोन हु निर्देशित 'प्यारासाइट'ले कान र अस्करमा प्रमुख विधाका अवार्ड जित्नु अर्को इतिहास बन्यो। सबटाइटलमै अस्कर जित्ने कोरियाली सिनेमा पछिल्लो तीन दशकमा संसारभरका दर्शक माझ फैलिइसकेको छ।
थ्रिलर, प्रेम, राजनीतिदेखि जीवन दर्शनसम्मका विषयमा उत्कृष्ट फिल्म बनाउँदै आएको कोरियाका केही राम्रा फिल्म युट्युबमा अंग्रेजी सबटाइटलसहित हेर्न पाइन्छ।
स्प्रिङ, समर, फल, विन्टर एन्ड स्प्रिङ (२००३)- निर्देशक किम कि दुक
यो फिल्ममा तीन प्रमुख पात्र छन्– गुरु, चेला र प्रकृति। फिल्ममा पात्र र प्रकृतिबीच तादात्म्य छ। पहाडी जंगलको बीचमा रहेको ताल अनि तालको बीचमा पानीमा तैरिरहेको गुम्बा। निर्देशक किम कि दुकले बौद्ध भिक्षुसँग हुर्किएका चेलाको जीवनका चक्र र प्राकृतिक ऋतुचक्रलाई स्प्रिङ, समर, फल, विन्टर एन्ड स्प्रिङ गरी पाँच चरणमा समेटेका छन्।
स्प्रिङ चेलाको बाल्यकालको रुपमा चित्रित छ। यो बालकले गुरुसँग सिक्ने उमेरका रुपमा आउँछ जुन जिज्ञासू, निर्दोष र रमाइलो पनि छ। समर चेलाको किशोरकाल कथा यो। यो हरेक मान्छेको जीवनमा आँधीबेहरी बोकेर आउने समय हो। चेला यो बेला गुम्बाभन्दा बाहिरको संसारप्रति आकर्षित र उत्सुक हुन्छ। यो उत्सुकले गुम्बाकै मूल्य मान्यताको घेरा नाघ्ने खतरा पनि बढ्छ।
यी र यसपछि आउने चरणलाई जसरी वर्णन गरिएको छ, त्यसले फिल्मलाई अझै रोचक र परिपक्व बनाउँदै लान्छ। प्रकृति होस् वा जीवन परिवर्तन यसको अनिवार्य नियम हो। यही नियमले गुम्बाको जीवनलाई बदलेको देखिन्छ। हरेक ऋतुलाई देखाउन वर्षौं लगाएर छायांकन गर्ने निर्देशक किम कि दुकले गुम्बा मार्फत सृष्टिकै चक्रबारे धेरै कुरा भनेका छन्। तर संवाद हैन, दृश्य मार्फत्।
उनी आफ्ना फिल्ममा हिंसा र आध्यात्म दुवै पक्षलाई सशक्त चित्रण गर्ने निर्देशकमा पर्छन्। दर्जनौं राम्रा फिल्म बनाएका किम कि दुकका 'स्प्रिङ, समर, फल, विन्टर एन्ड स्प्रिङ'लाई समीक्षकले उनको 'मास्टरपिस' मानेका छन्। युट्युबमै सबटाइटलसहित 'एरिर्याङ' नामक चर्चित वृत्तचित्र पनि हेर्न पाइन्छ।
सोपिओन्जे (१९९३)- निर्देशकः इम कोन तेक
'सोपिओन्जे' निर्देशक इम कोन तेकको सर्वाधिक प्रशंसित फिल्म हो। यति मात्रै कहाँ हो र, यो फिल्मलाई कोरियाली इतिहासकै सांस्कृतिक पुनर्जागरणको उदाहरण मानियो।
त्यस्तो के छ त 'सोपिओन्जे'मा?
पान्सोरी नामले पनि चिनिने सोपिओन्जे परम्परागत लोक संगीत हो। निर्देशक इम कोन तेक हुर्केबढेको भेगको यो संगीत परम्परामा गायनलाई ड्रम बजाएर साथ दिइन्छ। हाम्रो देउडाजस्तै सुनिने यसमा ब्लुजझैं पीडा छ।
जापानी उपनिवेश र अमेरिकी प्रभुत्वका कारण कोरियाली मौलिक संगीतको संकट महशुस गरेका निर्देशकले त्यही परम्परा केन्द्रमा राखेर बनाएको फिल्म हो, सोपिओन्जे।
फिल्म मुख्य तीन पात्रको वरिपरि घुमेको छ। यु बोंग राम्रो पान्सोरी गाउने मास्टर हो। उनका दुई जना धर्म-सन्तान साथमा छन्। यु बोंग छोरीलाई गायन र छोरालाई ड्रम सिकाउँछन्। यी तीन जना गाउँ-बजार डुल्दै परम्परा धान्ने र जीवन गुजारा चलाउने काम गरिरहेका छन्। समाजको नजरमा उनीहरू तल्लो समुदाय हुन् जसको काम सेवा दिनु मात्रै हो।
बस्ने-खाने दिगो आधार नभए पनि बुवा यु बोंगमा आफ्नो सन्तानलाई पान्सोरीविज्ञ बनाउने भूत सवार छ। यसका लागि उनी सन्तानलाई गाली गर्न वा पिट्न पनि पछि पर्दैनन्।
छोरी ज्ञानी भए पनि छोरा बुवासँग असन्तुष्ट छ। गाली खाई-खाई ड्रम बजाउन नसकेपछि ऊ एक दिन बुवा र दिदीबाट भागेर टाढा जान्छ।
भाइ भागेपछि दिदीले गाउन नसक्दा बुवामा चिन्ता थपिन्छ। सन्तानलाई जसरी पनि श्रेष्ठ संगीतज्ञ बनाउने जिद्दी बोकेका बुवाले अब के गर्लान्?
बुवासँग रिसाए पनि दिदीलाई औधी माया गर्ने भाइ फेरि फर्केर आउला या नआउला? यसपछिका घटनाक्रममा यसकै जवाफ भेटिन्छ।
संगीतले बचाउला? योभन्दा अघिको कथा जे छ, त्यो झनै मार्मिक छ, हेर्नुहोला।
जुंग इल सुंगको सिनेमाटोग्राफीले दर्शकलाई फिल्मका केही दृश्य स्टिल फोटोग्राफी हेरेको भान गराउँछ।
दिदीको भूमिकामा ओ जुङ हायको अभिनय र गायकीसँगै उनले निर्वाह गरेको चरित्रले पनि मन हर्छ। यो फिल्म पान्सोरीको कथा मात्रै थिएन, लामो समय बाहिरी शक्तिको नियन्त्रणमा थिचिएका कोरियाली जनताको सामूहिक पीडाको प्रतिविम्ब पनि थियो।
कोल्ड आइज (२०१३)
यो फिल्म अपराधीहरूमाथि निगरानी राखी ठूला लुटपाट हुन रोक्ने सुरक्षाकर्मीहरुको प्रयासको कथा हो। फिल्म सुरू भएदेखि अन्तसम्म झिमिक्क गर्न नदिने यो फिल्मको प्रस्तुति निकै रोचक छ।
हवांगको नेतृत्वमा रहेको सुरक्षाकर्मीहरूको समूह सडकमा आममान्छे जस्तै बनेर सुराकी गर्छन्। तिनलाई पछ्याएर जानकारी बटुल्छन् र अन्तमा कारवाही गर्छन्।
जेम्स नामको अत्यन्तै चतुर र खतरनाक अपराधीको नेतृत्वमा ठूलो बिस्फोटसहित एउटा ठूलो बैंक लुटिएपछि हवांग र उनको समूह दबाबमा पर्छ। चलाख अपराधी जेम्सको नेतृत्वमा पाँच जना हतियारधारीले गरेको यो काममा कुनै सुराक छोडेका हुँदैनन्।
हवांगको समूहले यसका अपराधीसम्म पुग्न गर्ने सिलसिलाबद्ध योजना र जेम्सको चलाखीको लुकाछिपी नै यो फिल्मको कथा हो। हवांग समूहकी हा यो हु फिल्मकी महिला मुख्य पात्र हुन्। फिल्ममा आफ्ना वरिपरिका मान्छेबारे सम्झने उनको स्मरण शक्तिलाई रमाइलोसँग प्रस्तुत गरिएको छ।
टोरन्टो र बुसानजस्ता चर्चित फिल्म महोत्सवमा प्रदर्शन भएको 'कोल्ड आइज' विभिन्न पुरस्कार जित्न सफल फिल्म हो। हङकङको फिल्म 'आइ इन द स्काइ' को रिमेक यो सिनेमाटोग्राफी र प्राविधिक हिसाबले पनि सम्पन्न छ।