दुई साताअघि दिनेश ढकालले गीत गाउँछन् भन्ने कुरा उनको नजिकका कयौं साथीलाई समेत थाहा थिएन। पछिल्ला दुई हप्तामा उनको गीतको जादू नेपालबाहिरका स्रोतासम्म फैलिइसकेको छ।
टिकटक, युट्युब र फेसबुकजस्ता सामाजिक सञ्जाल चारैतिर अहिले उनकै गीतको चर्चा छ। तपाईंको मोबाइलको प्लेलिस्टमा पनि यो गीत परिसकेको होला!
कालो केशमा रेलिमई बाँधेको रिबन
तिम्लाई हेर्दै रेलिमई बिताऊँला जीवन...
दिनेशकै शब्द र संगीतमा बनेको यो गीतको भिडिओ यही दसैंको सप्तमीमा सार्वजनिक भएको हो। भिडिओमा दिनेश लामो कपालमा देखिन्छन्। सेतोपाटी आउँदा केश फालेको छरितो हुलियामा भेटिए।
उनले भने, 'गीत स्रोतालाई मन पर्ला भन्ने अपेक्षा थियो। तर यति धेरैले मन पराउनुहोला भन्ने सोचेको थिइनँ।'
धेरैलाई दिनेशको गायन क्षमता थाहा नभए पनि, उनको पहिलो गीत भए पनि, कल्पनै नगरेको चर्चा पाए पनि उनी संगीतमा आकस्मिक रूपमा आएका होइनन्।
गुल्मीको कालीगण्डकी गाउँपालिकाका दिनेश हुर्केको गण्डक क्षेत्रको लोकभाकाले देश-विदेशका स्रोताको मन जितेको छ। दिनेशले पनि संगीतको औपचारिक कक्षा नलिई यहीFको संस्कृति र परिवेशबाट धेरै कुरा जानअन्जान टिपेका छन्।
सानैदेखि झलकमान गन्धर्व र धर्मराज थापाजस्ता लोकसर्जकका भाकामा रम्ने उनी यही भेगको संगीतमा सीमित छैनन्। बब डेलन, जोन लेननलगायत विदेशी सर्जकका गीत-संगीत पनि पछ्याएका छन्। पप गीत विशेष मन पराउने उनी नारायणगोपाल पुस्ताका गीत पनि मन पराउँछन्।
दिनेशको कालो केशमा रेलिमईमा झलकमानदेखि विपुल क्षत्रीका गीत-संगीतबाट परेको प्रभाव झल्किन्छ।
ठेट गन्धर्वले गाउने भाका र लयमा गाइएको कालो केशमा रेलिमईमा सारंगीसँगै बजाइएको गितारको धूनले विपुलको 'फ्युजन' गरिएका गीतको सम्झना पनि दिलाउँछ। कसैलाई भारतीय गायक अर्को मुखर्जीले गाएका झलकमानकै गीतको पनि याद दिलाउला। कालो केशमा रेलिमईको संगीत संयोजन शार्दुल श्रेष्ठले गरेका हुन्।
यस्ता प्रभावलाई दिनेश स्वीकार्दै भन्छन्, 'झलकमान गन्धर्वका लोकगीत र पछिल्लो समय विपुल क्षत्रीका फ्युजन शैलीका संगीतबाट धेरै प्रभावित छु। यही प्रभावलाई मैले प्रेरणा बनाएको छु।'
अरू सर्जकबाट प्रभावित भए पनि दिनेशले आफ्नोपन दिन मेहनत गरेकाले सबै उमेर समूहकालाई यो गीत मन परेको बताए। यसको भिडिओले छोटो समयमै २५ लाख बढी भ्युज पाइसकेको छ। ९० हजार लाइक र १३ सय डिस्लाइक पाएको भिडिओमा आएका २७ प्रतिक्रियामा लगभग सबैलाई गीत मन परेको देखिन्छ।
पछिल्लो समय अधिकांश गीत टिकटकमार्फत् हिट भएको पाइन्छ। कालो केशमा पनि टिकटकबाटै हिट भएको दिनेश बताउँछन्। उनले भने, 'गीत चल्ने आशा थियो। तर सुरूको दुई दिनसम्म चलेको थिएन। टीकाको दिनदेखि गीतले गति समात्यो।'
अझै पनि गीत युट्युब ट्रेन्डिङको नवौं स्थानमा छ।
गीत सुन्दै, गुनगुनाउँदै लेख्न रूचाउने दिनेशले लकडाउनमा घरमै बन्द भएपछि यसका लागि प्रशस्त समय पाए।
'त्यही बेला कम्पोज गरेका पाँच/सात गीत तयार थिए। तर संयोगवश कालो केशमा रेकर्ड भयो,' उनले भने।
दिनेशका अनुसार उनले यसका शब्द दुई चरणमा लेखेका हुन्। गुल्मीमा सुरू गरेको गीत काठमाडौंको उनी बस्ने घट्टेकुलोस्थित घरको छतमा पूरा भएको हो।
असनको रातो सारी, चार पांग्रे गाडी
किनिदिऊँला सुनको चुरा बरु ऋणै काढी...
गीतको शब्दभित्र पनि गुल्मी र काठमाडौं अटाएको छ। ठाउँकै कुरा गर्दा गीतमा बम्बै जाने रेलको चर्चा पनि छ। लोकगीतहरूमा ठाउँ, थेगो प्रयोग गर्ने चलन हुन्छ। यस्ता थेगोको अर्थ हुन पनि सक्छ, नहुन पनि। दिनेशको गीतमा प्रयोग भएको रेलिमई त्यस्तै शब्द हो, जसको अर्थ दिनेश आफैंलाई थाहा छैन।
यो गीतमा रेलिमई शब्दले बेग्लै मिठास भरेको छ। दिनेशका अनुसार गीतको शब्द र लय सँगसँगै बनाइएको हो। यसक्रममा उनले सुरूमा रेलिमई शब्द स्थायीमा मात्र राख्ने सोचेका थिए। तर रेलिमईले मिठास र ओज बढाएको महसुस गरेपछि उनले अन्तरामा पनि थपे।
अहिले धेरै स्रोताले दिनेशको गीतलाई रेलिमई नामबाटै चिन्ने र सम्झने समेत भइरहेको छ।
कुनै गीत के गर्दा चल्छ भन्न गाह्रो छ। तै पनि, भिडिओले गीतको मर्म बोकेको खण्डमा प्रभावकारी हुने कुरामा विवाद छैन। मानव सुवेदीको निर्देशनमा बनेको यसको भिडिओ पनि धेरैले रूचाएका छन्।
यसमा एक जना चिया-खाजा बेच्ने युवतीको कथा देखाइएको छ जो जीवनमा मायाको अभावमा बाँचिरहेकी हुन्छिन्। जीवनमा स्वच्छन्द उडान भर्न चाहने उनी वास्तविकतामा भने बन्धनमा हुन्छिन्। भिडिओमा एउटी तन्नेरी युवतीको प्रेम र स्वतन्त्रताको चाहनालाई स-साना दृश्य, हाउभाउ र विम्बमा देखाइएको छ।
यस्तो युवतीको भूमिकामा अल्का सुवेदीले धेरैको मन जितेकी छन्। त्यस्तै राजन न्यौपाने, शिव थापा र गायक दिनेश पनि भिडिओमा सुहाएका छन्।
लोकशैलीमा पाश्चात्य संगीतको फ्युजन मन पराइने हाम्रो समाजमा यस्तो गीत बनेको वा मन पराइएको पहिलो पटक होइन। तर गन्धर्व शैलीमा गाउन आफूले मेहनत गरेको दिनेश बताउँछन्। आफैं स्रोता भएर सुन्ने र अरूको प्रतिक्रिया पनि लिएर ढुक्क भएपछि सार्वजनिक गरेकाले पनि फाइदा पुगेको उनको भनाइ छ।
खासमा दिनेशको कालो केशमा नभएर अरू कुनै गीत रेकर्ड भएको भए त्यो पपशैलीको हुन सक्थ्यो।
दिनेश गायनबाहेक लेखनमा पनि उत्तिकै मेहनत गर्ने बताउँछन्। भने, 'पोयटिक गीत मनपर्ने भएकाले लेखनमा ती कुरा सिक्दै अघि बढ्न चाहन्छु।'
लोकशैलीको गीतबाट पहिचान बनिसकेकाले यो शैली झट्टै त्याग्न हुन्न भन्ने पनि लागिरहेको छ। त्यसैले आगामी गीतमा यही शैली निरन्तरता दिने उनले संकेत दिए।
उत्साहित हुँदै भने, 'गीत एकदम राम्रो बनेको छ। तर नयाँ गीत सुन्न केही समय अझै कुर्नु पर्ला।'