गुड फ्राइडे सिनेमा
संसारका प्रभावशाली निर्देशकको सूचीमा दोहोरिरहने नाम हो इनगमार बर्गमेन। बर्गमेनको मात्र नभई संसारकै उत्कृष्ट फिल्मको सूचीमा 'पर्सोना' को नाम उसै गरी दोहोरिरहन्छ।
सन् १९६६ मा सार्वजनिक यो फिल्मबारे विगत ५४ वर्षदेखि चर्चा हुँदै आएको छ।
दशकौंसम्म दर्शक र समीक्षकको मनमा गढेर बस्न सफल पर्सोना दुई युवतीको कथा हो। संक्षिप्तमा कथा यस्तो छ।
रंगमञ्च अभिनेत्री एलिजाबेथ (बिबी एन्डरसन) ले अचानक बोल्न छोडेपछि अल्मा (लिभ उलमन) नामकी नर्सले उनको हेरचाह गर्नुपर्ने हुन्छ।
एलिजाबेथको मौनता स्वैच्छिक हो वा कुनै रोग भन्ने उत्सुकतासँगै कथा अघि बढ्छ। रेखदेख गर्ने क्रममा अल्माले एलिजाबेथसँग लामो समय बिताउँछिन्। एलिजाबेथ मौन बसे पनि अल्मा उनका सामु आफ्ना सबै कुरा पोख्ने गरी सहज हुन्छिन्। केही समयका लागि उनी एलिजाबेथसँग आफ्ना जीवनका समस्या भुलेर रमाउँछिन् पनि।
एक दिन अल्माले अरू कसैलाई लेखेको चिठी पढेपछि भने अल्मा र एलिजाबेथको सम्बन्धले द्वन्द्वात्मक रूप लिन्छ। अल्मालाई बिथोल्ने त्यो चिठीमा एलिजाबेथले के लेखेकी होलिन्? फिल्म हेर्दा तपाईंले थाहा पाइहाल्नु हुनेछ।
फिल्ममा दुई विपरीत पात्र छन्। एक जना बोलिरहने र अर्को मौन बस्ने। एक जना गर्भपतन गराएकी र अर्को आमा बनिसकेकी युवती हुन्। सोचाइ र भोगाइ पनि बेग्लै भएका यी पात्रबीच धेरै कुरामा भिन्नता छ। तर एलिजाबेथ र अल्माले सँगै समय बिताउँदा जाँदा उनीहरूको व्यक्तित्वबीच समानता पनि भेटिन्छ।
यतिसम्म कि उनी उस्तै लाग्न थाल्छन् दुबैको व्यक्तित्व एकाकार भएजस्तो, दुबै एकअर्काका प्रतिछाया भएजस्तो बनाइदिन्छ। एकअर्काका परिपूरकजस्तो।
कथा अघि बढ्दै जाँदा एकअर्काको सामीप्यले दुबै पात्रको व्यक्तित्वलाई अलमलमा पार्छ। यो कुरालाई निर्देशकले सचेततापूर्वक फ्रेममा देखाउने प्रयास गरेका छन्।
फिल्ममा दुई पात्रको आन्तरिक र बाह्य व्यक्तित्वसँग साक्षात्कार गराउने पर्सोना कतै कोमल त कतै कठोर लाग्छ। फिल्मका दुई मुख्य पात्रको व्यक्तित्व यसरी चित्रण गरिएको छ कि त्यसले पात्रहरूलाई जस्तै दर्शकलाई पनि अलमल्याउँछ। यो अलमलमय यात्राले कुनै मनोवैज्ञानिक थ्रिलर फिल्म हेरेको अनुभूति दिलाउँछ।
फिल्ममा एलिजाबेथ र अल्माको एक्लोपन, दुबिधा, अन्तरद्वन्द्व र संकटमय परिस्थितिलाई रहस्यमी र रोचक शैलीमा प्रस्तुत गरिएको छ। फिल्मले दुई महिलाका भोगाइका माध्यमबाट मानसिक स्वास्थ्य, समलैंगिकता, गर्भपतन, विरोधाभाषजस्ता विषय छुँदै अस्तित्ववादी प्रश्नहरु उप्काउँछ। तर धेरै समीक्षकले समेत बहुआयाम बोकेको पर्सोनाले ओगटेको दायरालाई यही हो भनेर किटान गर्न सकेका छैनन्।
स्टिल फोटोहरू, लामा मौन दृश्य, सुस्त चाल र अजीब लाग्ने ध्वनि र संगीत पनि फिल्मकै कथाको हिस्सा बनेर आएको छ। नसोचेका घटनाक्रम, विम्ब र संवादले फिल्म कतै बुझे जस्तो, कतै बुझ्नै नसकिएको जस्तो बनाइदिन्छ।
कलाकारले स्क्रिनमा हेरेर बोल्ने केही दृश्यले कलाकार र दर्शकबीचको 'फोर्थ-वाल' तोड्छ। अनि प्रभावशाली क्लोजअप सटहरूले हामीलाई पात्रको आन्तरिक संसारकै नजिक पुर्याइदिन्छ।
स्भेन निकभिस्टको सिनेमाटोग्राफी र उल्ला राइघको सम्पादनले निर्माण गर्ने मोन्टाज मथिंगल हल्लाउने खालको छ। दुबै मुख्य पात्रको अभिनय यति सुन्दर छ कि हामीलाई उनीहरू फिल्म हेर्दाहेर्दै प्रिय लाग्न थाल्छन्।
पर्सोनाको लेखक तथा निर्माता बर्गमेन स्वयम् हुन्। १९४५ मा फिल्म 'क्राइसिस' को लेखन र निर्देशनपछि बर्गमेनले 'सेभेन्थ सिल', 'द भर्जिन स्प्रिङ', 'ब्रिंक अफ लाइफ', 'फ्यानी एन्ड अलेक्जेन्डर', 'थ्रु अ ग्लास डार्कली' लगायत दर्जनौं बुलन्द सिनेमा बनाए। ती सिनेमामा जीवनका आयामहरू र मृत्युसम्मको विषयलाई आफ्नो अलग कलात्मक शैलीमा पेस गरे।
'म जस्तो छु यदि त्यही रूपमा कसैले मलाई माया गर्छ भने म अन्त्यमा ऐना हेर्ने साहस गर्नेछु।'
स्वीडेनका यी निर्देशकले आफ्नो सिनेमामा एनाको धेरै प्रयोग गरेका छन्। बर्गमेनको फिल्म 'अटमन सोनाटा' मा एभा पात्रको यो भनाइको प्रभाव बर्गम्यानको निर्देशनमा भेटिन्छ।
संसारका धेरै निर्देशकका पनि प्रिय निर्देशक बर्गमेनको 'पर्सोना' लाई मास्टरपिस फिल्म मानेका छन्। यो फिल्म बर्गमेनले भनेजस्तै एउटा निर्देशक सिर्जनशील प्रयोगका लागि कुन हदसम्म जानसक्छ भन्ने उदाहरण हो।
पर्सोना हेर्नुभएको छैन भने हेर्नुस् र अनुभूत गर्नुस्। यो अनुभूत गर्ने फिल्म हो। हेरिरहँदा तपाईंलाई लाग्न सक्छ– मैले कुरिरहेको सिनेमा यही हो।
(फिल्म हेर्न तल Watch on YouTube मा क्लिक गर्नुहोस्)