सरोज लामिछानेलाई कहिलेकाहीँ मानिसहरू भन्थे, 'अनुपम खेरजस्तै देखियौ।'
सबैखाले भूमिकामा सशक्त अभिनय गर्ने बलिउड कलाकारसँग आफ्नो नाम जोडिँदा उनी खुसी हुनु पर्ने हो। उनलाई भने झनक्क रिस उठ्थ्यो।
कलाकारितामा संघर्ष गरिरहेका हँसिलो मिजाजका सरोजलाई अनुपम खेरको कमेडी विशेष मनपर्थ्यो। तर जबजब कसैले अनुपम खेरको नाम लिन्थ्यो, उनलाई जिस्काएझैं लाग्थ्यो।
३३ वर्षका सरोज र ६६ वर्षीय अनुपम खेरको तालुमा भएको समानता उनका लागि बिझाउने कुरा बनेको थियो। अनुपम खेरजस्तो देखिने हुलियाकै कारण एक दिन नक्कली अनुपम खेर बनेर सक्कली अनुपमसँग बलिउड फिल्ममा काम गर्न पाइएला भन्ने उनलाई के थाहा!
क्राइम पेट्रोल नेपालका तीन भागमा अभिनय गरेका सरोज चित्रकला, नाटकलगायत मोटिभेसनल स्पिच दिने काममा समेत सक्रिय छन्। यी परिचयभन्दा हालका लागि अनुपम खेरको बडी डबल/डुप्सको नयाँ परिचयले उनलाई चिनाइरहेको छ। उनी आफैं पनि यसमा रमाइरहेका छन्।
सरोजले सेतोपाटीसँग भने, 'पहिला रिस उठ्यो। तर यही कुराले अनुपम खेर र धेरै राम्रा बलिउड कलाकारसँग नजिक रहेर काम गर्न पाइयो। एकदमै खुसी लागेको छ।'
सरोज बलिउडका स्थापित निर्देशक सुरज बडजत्याको 'ऊंचाई' का लागि अनुपम खेरको डुप्स बनेका हुन्। बडजत्या 'मैने प्यार किया', 'हम आपके है कौन', 'प्रेम रतन धन पायो' लगायत फिल्मका निर्देशक हुन्।
नेपालमा छायांकन भएको ऊंचाईमा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, परिणिति चोपडा, सारिका हसनजस्ता कलाकारको अभिनय छ। लुक्ला, मनाङलगायत ठाउँमा छायांकन भएको यो फिल्म जुलाईमा रिलिज हुने तयारीमा छ।
ऊंचाईको छायांकनमा एक महिना लामो समय बिताएर सरोज तीन दिनअघि काठमाडौं फर्केका हुन्।
'यो सुटिङमा बिताएको एक महिना जीवनकै महत्वपूर्ण अनुभव बनेको छ,' उनले भने।
सरोजले सिर्जना सूत्रमार्फत् ऊंचाईका लागि नेपालमा कलाकार चाहिएको थाहा पाएका थिए। सरोज ट्रेकरको छोटो भूमिकाका लागि अडिसन दिन गए।
नेपालका लागि ऊंचाईको व्यवस्थापन गरेकझ थ्री ह्विलर्स फिल्म प्राइभेट लिमिटेडका पुष्पराज न्यौपानेले उनलाई सोधे, 'अनुपम खेरको डुप्स बन्ने हो?'
'उहाँहरू डुप्स कलाकारको खोजीमा हुनुहुँदो रहेछ। मलाई देख्नेबित्तिकै अभिनयमाभन्दा मेरो हुलियामा ध्यान दिनुभयो,' उनले भने, 'धेरै सोच्नै परेन। मेरा लागि सोचेको भन्दा ठूलो अवसर थियो।'
डुप्स बन्ने कुरा पक्का भएपछि उनी अनुपम खेरका पुराना टिकटक खोजी-खोजी हेर्न थाले। ऐना हेरेर आफैंलाई सोध्न थाले, 'के म अनुपम खेरजस्तै देखिन्छु?'
जवाफमा मनमनै हाँस्न थाले।
नेपाली कलाकारहरूसँग लुक्ला उडेका सरोजको विमान प्रतिकूल मौसमका कारण एक दिन ढिलो उडेको थियो। उनका अनुसार छायांकन सुरू भइसकेकाले उनीहरूलाई लुक्ला झरेको केही बेरमै लोकेसनमा लगियो।
'मलाई अनुपम खेरले लगाएजस्तै लुगा लगाउन दिइयो। सेटमा अनुपम सरलाई देखेर म उत्साहित भएँ। उहाँले मतिर कहिले हेर्नुहोला भनेर उहाँलाई मात्र हेरिरहेँ।'
आफूलाई देखेर अनुपमको प्रतिक्रिया कस्तो आउला भन्ने कुराले उनलाई उत्सुक बनाएको थियो। तर अनुपम खेरलेभन्दा अगाडि सरोजलाई निर्देशक सुरजकी श्रीमती विनिता बड्जत्याले देखिछन्। त्यसपछि उनमा अभिनेत्रीहरू सारिका हसन र परिणितिको नजर पर्यो।
'म जानी जानी अनुपम सरकै स्टाइलमा बसेको थिएँ। मलाई पहिलोपटक जसले देखे सबै एकछिन ट्वाँ परे। उनीहरू मेरो मुखमा हेर्दै, आपसमा मुखामुख गरेर हाँस्न थाले। त्यसपछि बल्ल मतिर अनुपम खेरको नजर पर्यो। उहाँ पनि एकछिनसम्म ट्वाँ पर्नुभयो। अनि हाँस्नु भयो,' सरोजले भने।
ऊंचाईमा डुप्स कलाकार बनेका अरूले वास्तविक कलाकारजस्तो देखिन मेकअपको सहारा लिनुपरेको थियो। सरोज भने बिना मेकअप अनुपम खेरसँग मिल्दोजुल्दो देखिँदा धेरैलाई आश्चर्य लागेको बताउँछन्।
छायांकनका बेला निर्देशकदेखि सबै कलाकारले उनलाई अनुपमजी वा अनुपम सर भन्थे रे!
यसका लागि उनले अनुपम खेरका पुराना टिकटकदेखि फिल्मका दृश्यहरू हेरेर। बोलीको लवज, हाँस्ने, हिँड्ने वा उभिने शैली सबै आफूमा उतार्ने प्रयास गरे।
'सुटिङका बेला उहाँले कपाल खौरिँदा मैले पनि खौरिएँ। सरोज लामिछानेलाई बिर्सेर आफूलाई अनुपम खेर सोच्न थालेँ,' उनले भने।
सरोजलाई देखाउँदै अरूले पनि जिस्काउन थाले रे, 'ओरिजनल अनुपम खेर यहाँ है। डुप्लिकेट तो काठमाडौं चला गया।'
फिल्ममा डुप्स कलाकारको हुलिया वास्तविक कलाकारको जस्तो बनाउन कपाल, दाह्री, पहिरनलगायत कुरा उस्तै बनाइएको हुन्छ। अक्सर डुप्स कलाकारलाई टाढाबाट वा छड्के तरिकाले देखाइन्छ। दर्शकलाई फिल्म हेर्दा नक्कली कलाकार भनेर थाहा नदिन सम्पादन र भिएफएक्सको सहयोग लिइन्छ।
लुक्ला, नाम्चे, मनाङलगायत उच्च हिमाली भेगमा छायांकन भएको फिल्म हो ऊंचाई। छायांकनका लागि भारतबाट दुई सयभन्दा बढी कलाकार र प्राविधिकको टोली नेपाल आएको थियो। भरियादेखि असिस्टेन्टसम्म विभिन्न भूमिकामा दुई सयकै हाराहारी नेपालीको संलग्नता रहेको सरोजले बताए।
सहजै हिँड्न नसकिने अग्ला र अप्ठ्यारा ठाउँहरूमा फिल्म खिचिएको छ। यही उचाइका कारण अभिनेता अमिताभ बच्चन छायांकन गर्न नेपाल आउन नसकेको बताइएको थियो। अमिताभका डुप्स भारतबाटै ल्याइए पनि उनले उच्च भेगमा काम गर्न नसकेपछि नेपाली डुप्स कलाकारले काम गरेको उनले बताए।
'नेपालबाहिर भएको भए डुप्सको काम कम हुन्थ्यो होला। तर हाइअल्टिट्युडको भिरालो बाटोमा हिँड्न नेपाली कलाकार नै खोजिएको हो,' सरोजले भने, 'सजिलो ठाउँमा भारतीय कलाकारले अभिनय गरे पनि अप्ठ्यारा ठाउँमा हामी डुप्सले बढी काम गरेका छौं।'
धेरै ठाउँमा बलिउड कलाकारलाई डोलीमा बोकेर छायांकन स्थलसम्म लैजान पनि नेपालीले नै सहयोग गरे। नाम्चेमा मात्र दसभन्दा बढी फरक ठाउँमा छायांकन भएको यो फिल्मले धेरैलाई ढलाएको पनि सरोज बताउँछन्।
'धेरैजना बिरामी भए। उचाइमा हिँड्न र सास फेर्न गाह्रो हुन्थ्यो। लुक्लाबाटै प्रोडक्सन हेड ढलेका थिए,' उनले भने, 'यस्तो अप्ठ्यारो डुप्स कलाकारले आठ-दस टेकसम्म दिएर सबै ठिक्क पारेपछि सक्कली कलाकारलाई बोलाएर थुप्रै दृश्य खिचिएको छ।'
नेपाली डुप्स कलाकारको साहस देखेर अभिनेता बोमन इरानीले भनेछन्, 'आप लोगो ने पर्वत हिलादिया।'
निर्देशक बडजत्या, अनुपम खेर लगायतले थपे, 'तपाईंहरूको अनुहार फिल्ममा आउँदैन। तर तपाईंहरूले जोखिम मोलेर गर्नुभएको मेहनतप्रति आभारी छौं। धेरै धन्यवाद!'
बलिउडको ठूलो ब्यानरको फिल्ममा काम गर्न पाए पनि, त्यति मेहनत गरेर अन्तिममा पर्दामा आफू नदेखिने कुराले छायांकनका बेलै आफू र अरू डुप्स कलाकारलाई खिस्रिक्क लागेको सरोज बताउँछन्।
'डुप्सभन्दा छोटो भूमिकामा देखिने कलाकार पो ठीकजस्तो पनि लागेको थियो। तर फेरि निर्देशक, सम्पादकदेखि प्राविधिकहरू सबै पर्दा पछाडि हुन्छन्। हामी पनि पर्दा पछाडिको हिरो हौं भनेर चित्त बुझायौं,' सरोजले भने, 'भोलि फिल्म चर्चामा आयो, लडेको, मरेको वा अरू साहसिक दृश्य मन पराइयो भने त्यस्ता सबै काम हामी डुप्स कलाकारले गरेका हौं। त्यसैले डुप्स कलाकार पर्दा पछाडिका हिरो हुन्।'
संसारकै ठूलो सिनेमा उद्योगमध्ये एक बलिउडको काम गर्ने तौरतरिका देख्न पाउनु पनि सरोजका लागि मन बुझाउने अर्को मुख्य कारण बन्यो। सरोजका अनुसार निर्देशकदेखि स-साना भूमिकामा काम गर्ने सबै क्रु-मेम्बर काममा समर्पित हुन्थे। चिसो भए पनि बिहान साढे चार बजे नै भेला भएर खाजा खान्थे। छायांकन स्थल पुग्दा सबै तयारी अवस्थामा हुन्थे। हरेक विभागका प्रमुखले भनेको तरिकाले काम ट्याक्क भएको देखेर सरोज दंग परे।
फिल्मको औपचारिक छायांकनबाहेक फुर्सदमा अनुपम खेर र बोमन इरानीलगायत कलाकारलाई मोटिभेसनल स्पिच र अभिनय टिप्स समेत दिन भ्याए सरोजले। उनका अनुसार बोमन इरानी नेपाली कलाकारसँग सुरूदेखि सहजरूपमा प्रस्तुत भए। अनुपम खेर सुरूमा अलि 'रिजर्भ्ड' भए पनि विस्तारै खुलेका थिए। सरोजलाई निर्देशक बड्जत्याको विनम्र व्यवहारले पनि प्रभावित पारेको छ।
उचाईंमा काम गर्ने अवसरले भक्तपुरवासी सरोजलाई छोटो समयमै धेरै ठाउँ यात्रा गर्ने अवसर दियो। चित्रकारका रूपमा पनि उनी यो यात्राबाट धेरै कुरा सिक्न पाएको बताउँछन्।
भन्छन्, 'हालसम्म मैले जति चित्र बनाएँ ती काल्पनिक थिए। यो फिल्मको बहानामा त्यो भेगका गाउँघर ढुंगामाटो, खोला, वनस्पति, जंगल देख्न पाएँ। त्यहाँको मौलिकता र संस्कृति बुझ्न पाएँ। भविष्यमा मैले गर्ने पेन्टिङमा यसको सकारात्मक असर पर्छ नै।'
बलिउड फिल्ममा काम गरेर सरोजले सिकेका धेरै कुरामध्ये सबैभन्दा महत्वपूर्ण कुरा भने अर्कै छ।
'मान्छेले मेरो तालु देखेर मलाई अनुपम खेर भनेर जिस्काएका थिए। मैले आफ्नो तालु खुइलिएको कुरालाई सहज रूपमा लिन नसकेकाले रिसाउँथे सायद। तर त्यही तालुले मलाई सोच्दै नसोचेको अवसर दियो। उचाईं फिल्ममा पाएको अवसरपछि मैले आफ्नो वास्तविकताबाट नभागी त्यसलाई स्वीकार्न सिकेको छु।'