फुर्सदमा सिनेमा
जापानको सिबुया रेल स्टेसनअगाडि एउटा कुकुरको सालिक छ। जापानी आकिता ब्रिडको यो कुकुर हाची वा हाचिको नामले संसारभर लोकप्रिय छ।
हाचीलाई सन् १९२४ युनिभर्सिटी अफ टोकियोका प्राध्यापक हिदेसाबुरा युनेओले करिब एक वर्षको हुँदा घर ल्याउँछन्। त्यसपछि प्रोफेसर र हाची एकअर्काका आत्मीय साथी बन्छन्।
हाची प्रोफेसरलाई हरेक बिहान र साँझ सिबुया स्टेसनसम्म छोड्न र लिन जान्छ। घाम, पानी, जाडो केही परवाह नगरी सिबुया स्टेसन आउनु-जानु हाचीको दिनचर्याको अनिवार्य हिस्सा बन्छ।
सन् १९२५ मे २१ को दिन हरेक साँझजस्तै सिबुया स्टेसनमा प्रोफेसरलाई कुरिराखेको हुन्छ। रेल सधैंको समयमा त्यहाँ रोकिन्छ। तर प्रोफेसर आउँदैनन्। घन्टौं बितिसक्दा पनि प्रोफेसर नआएपछि हाची दुखी बन्छ तर कुर्न छाड्दैन।
एक दिन, दुई दिन गर्दै महिनौं बित्छ। प्रोफेसर आउने आशामा हाची हरेक दिन पहिलाकै समयमा स्टेसन पुग्छ। दिन, महिना गर्दै वर्षौं बित्छ।
सिबुया रेल स्टेसनअगाडि बनाइएको सालिक हाचीको त्यही प्रतीक्षाको प्रतीक हो। आ-आफ्ना मालिकप्रतिको उसको माया र वफादारिताको सम्मान हो।
हाचीको वफादारिताको यो वास्तविक कथामा केही फिल्मसमेत बनेका छन्।
निर्देशक लासा हालस्टर्मद्वारा निर्देशित सन् २००९ मा बनेको 'हाची: अ डग्स टेल' तीमध्ये विशेष चर्चित छ।
तपाईंले हेर्न बाँकी भए आज कुकुर तिहारको सन्दर्भमा यो फिल्म हेर्नु सान्दर्भिक हुनेछ।
हाची: अ डग्स टेल जापानी 'हाचिको मोनोगेतरी' (१९८७) बाट प्रेरित हलिउड फिल्म हो।
हाची अ डग्स टेलमा अभिनेता रिचार्ड गेरे संगीतका प्रोफेसर पार्कर विल्सनको भूमिकामा छन्। एकदिन रेल स्टेसनमा पार्करले फिल्ममा सानो कुकरलाई आकस्मिक रूपमा भेट्छन्।
खासमा त्यो कुकुर कतै पार्सल गरेर लैजाने क्रममा खसेको हुन्छ।
यो आकस्मिक भेट कसरी आत्मीय सम्बन्धमा बदलिन्छ थाहा पाउन फिल्म हेर्नुहोला।
मान्छेले करिब १५ हजार वर्षदेखि कुकुर पाल्न थालेको भनिन्छ।
यो कथाले मान्छे र कुकुरबीचको हजारौं वर्ष पुरानो सम्बन्धको कथा भन्दैन। तर हजारौं वर्षदेखि कुकुर मान्छेको इमानदार साथी किन बन्यो त्यसको मर्म भने अवश्य बुझाउँछ।