कोरियाको बुसान फिल्म फेस्टिभलमा प्रदर्शन भएयता 'जुलुङ्गो' (अ स्केयरक्रो) निरन्तर चर्चामा छ। केहीअघि फिल्मले इटालीको फ्लोरेन्स चलचित्र महोत्सवमा युनिसेफ आइरिस अवार्ड जित्न सफल भएको थियो।
यसै वर्ष सम्पन्न नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ), नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, मानवअधिकार फिल्म फेस्टिभलमा जुलुङ्गो पुरस्कृत भएको थियो।
निर्देशक राजेश खत्रीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार र चर्चा दिलाउने जुलुङ्गोको कथा के हो?
फिल्ममा त्यस्तो खास के छ त?
जुलुङ्गो करिब १४ मिनेटको छोटो (सर्ट) फिल्म हो। यसमा घरायसी जिम्मेवारीका कारण स्कुल जानबाट वञ्चित बालिकाको कथा छ।
यो कथा गाउँको एउटा स्कुलमा बालदिवस मनाउने तयारी भइरहेको सन्दर्भबाट सुरू हुन्छ। फिल्मकी मुख्य पात्र नानी बालदिवसमा हुने कार्यक्रममा नाच्ने तयारी गरिरहेकी हुन्छिन्। त्यही बेला उनकी आमाले स्कुलबाट नानीलाई घर लिएर आउँछिन्।
नानीकी आमाले गाउँभरिका लागि बुख्याँचा बनाउने काम पाएकाले बालख छोरा हेर्न नानीको साथ चाहिएको हुन्छ। भाइ हेर्नकै लागि नानीले बालदिवसमा सहभागिता जनाउन पाउँदिनन्। आफ्ना साथीहरू बालदिवसको तयारीमा लागेका बेला उनी भने बुख्याँचासँग मौन संवाद गर्न बाध्य हुन्छिन्।
पृष्ठभूमिमा बालअधिकार र छोराछोरी बराबरीको नारा लागिरहेको हुन्छ। यता नानी भने स्कुलको गतिविधिमा सहभागी हुन नपाएर बेचैन हुन्छिन्। फिल्ममा नानी पात्रको छटपटीलाई मनोवैज्ञानिक र विम्बात्मक रूपमा देखाइएको छ।
स्थानीय भाषामा ‘भ्याउना’ भनिने जुलुङ्गोले खेतबाली सुरक्षाका लागि राखिने मान्छेजस्तै आकृतिको बुख्याँचा बुझाउँछ। जुलुङ्गो न बोल्छ, न यसले भावना पोख्न सक्छ।
के आवाजविहीन नानी र जुलुङ्गो उस्तै हुन् त?
जुलुङ्गो फिल्मले उठाउने यो प्रश्नले मुगु-कर्णालीका छोरी मान्छेको अवस्था चित्रण गर्छ।
मुगुको आर्थिक–सांस्कृतिक परिवेशको झलकसमेत दिने फिल्ममा यहाँका मानिसलाई शिक्षा, स्वास्थ्य, लैंगिक समानताजस्ता कुराभन्दा अगाडि गाँसबासको सवालले पिरोल्ने यथार्थ देखाइएको छ।
फिल्मको पहिलो दृश्यमै कोदो निफनिरहेको दृश्यले जीवन चलाउन अन्नको महत्व कति धेरै छ भन्ने कुरा संकेत गर्छ। विम्बसँग खेलिएको फिल्ममा संवाद धेरै छैन। जसरी कर्णालीको आफ्नै कथा-व्यथा छ, आफ्नै संगीत-संस्कृति पनि छ। मुगु वा कर्णाली विशेष कथा बनाउन फिल्ममा त्यहीँको भाषा र संगीत प्रयोग गरिएको छ।
यस्ता कथा कर्णाली वा मुगुका मात्र होइनन्। आज पनि संसारका थुप्रै देशका छोरी भएकै कारण पढ्न नपाउने बाध्यता छ। जुलुङ्गो त्यही बाध्यताको मन छुने कथा हो।
जुलुङ्गोको यो कथामा निर्देशक राजेशको आफ्नै भोगाइ पनि मिसिएको छ। खासमा फिल्मको जग नै उनको आफ्नै भोगाइको स्रोत हो। राजेश छ जना दिदीबहिनीका एक भाइ हुन्। छोरी भएकै कारण उनका दुई दिदीले पढ्न पाएनन्। एक जना दिदी त उनलाई लामो बाटो बोकेर स्कुल लैजाने र घर ल्याउने 'घोरालो' बनेकी थिइन्। उनी स्वयं भने स्कुलभित्र प्रवेश गर्न पाउँथिनन्।
राजेशकी हजुरआमा भनिरहन्थिन्, 'पोइला जाने जातले किन पढनु पर्यो?'
घरभित्रै यस्तो विभेदपूर्ण अनुभव सँगालेर हुर्केका राजेशले निजी र सरकारी शिक्षकका रूपमा डेढ दशक बिताइसकेका छन्। बत्ती र इन्टरनेटलगायत आधारभूत भौतिक सुविधा नपाइने मुगुमा विद्यार्थीका समस्याहरूले उनलाई पिरोल्ने नै भयो। यस दौरान उनलाई सबभन्दा बढी स्कुलमा छात्राहरू घरायसी कामले अनुपस्थित हुने समस्याले बिथोल्थ्यो।
त्यही भएर राजेशले पहिलो सर्ट फिल्म 'जालगेडी' देखि नै कर्णालीको सामाजिक तथा शैक्षिक विषय समाते। बालबालिकालाई नजिकबाट नियालेका उनका दुबै फिल्ममा बाल कलाकारको मुख्य भूमिका छ। बालमनोविज्ञान चित्रण उनका फिल्ममा पाइने विशेषता हुन्।
हाल निर्देशक तथा लेखक राजेश पहिलो फिचर फिल्म 'श्यामश्वेत' को तयारीमा छन्। यो फिल्मको स्क्रिप्ट लेखनका लागि उनी केही अन्तर्राष्ट्रिय ल्याबमा सहभागी भइसकेका छन्। श्यामश्वेतमा पनि यस्ता विशेषता कहीँ न कहीँ भेटिनेछन्।
जालगेडी बनाउने बेलादेखि राजेशले तीन जना बालिकालाई विद्यालयमा पढाउने आर्थिक जिम्मेवारी पनि लिएका छन्। जालगेडीले बर्लिन फिल्म फेस्टिभलमा पुरस्कार जितेको थियो। राजेशका अनुसार जालगेडी हुँदै जुलुङ्गोबाट पाउने पुरस्कारका कारण जम्मा भएको रकमले तीन जना बालिकालाई पढाउन सहज भइरहेको छ।
कथा र स्क्रिनप्ले समेत राजेशकै रहेको फिल्म जुलुङ्गोले सामान्य कथा भनेको शैलीमा हाम्रो समाजको संवेदनशील मुद्दा उठाएर जान्छ। यही नै फिल्मको विशेषता हो।
राजेश मीन भामद्वारा निर्देशित 'कालो पोथी' का प्रोडक्सन म्यानेजर हुन्। जुलुङ्गो मीन भामको सुनी प्रोडक्सनबाट निर्माण भएको हो।
जुलुङ्गो बिहीबारदेखि १९ औं काठमाडौं माउन्टेन फिल्म फेस्टिभल (किम्फ) मा प्रदर्शन हुँदैछ। चलचित्र विकास बोर्डको सभाकक्षमा उद्घाटन हुने महोत्सवमा डकुमेन्ट्री, फिक्सन, प्रयोगात्मक, सर्ट फिल्म र एनिमेसन गरी विभिन्न २८ देशका ६० भन्दा बढी फिल्म देखाइने छ।
किम्फका फिल्म महोत्सव अवधिभर पाँच दिनसम्म अनलाइनमा हेर्न सकिने छ।
जुलुङ्गो हेर्न यहाँ क्लिक गर्नुहोस्।