श्रवण मुकारूङको सपना कवि बन्ने थिएन। तर कविता लेखेरै उनले नेपालमा कमैले पाउने लोभलाग्दो माया र चर्चा कमाएका छन्।
श्रवण खासमा गायक बन्न चाहन्थे। उपत्यकाव्यापी अन्तर्कलेज लोकगीत प्रतियोगितामा रत्न राज्यलक्ष्मी क्याम्पसका तर्फबाट मीनभवन कलेजमा गीत गाएर दोस्रोसमेत भएका थिए। तर सूरभन्दा अक्षर उनको संसार रहेछ।
गायक बन्न नसके पनि श्रवण संगीत क्षेत्रबाट टाढा हुनै सक्दैनथे। भएनन् पनि। संगीतप्रतिको मोहले उनलाई गीतकार बनाइछाड्यो। चानचुने नभएर अब्बल कविजस्तै सशक्त गीतकार।
'माथि माथि शैलुंङेमा', 'तिमी तारेभीर', 'सुन रे सियाराम', 'तिम्ले मिसकल गर्दा', 'तुइन', 'अब हाम्रो भेटै हुन्न', 'बाटो हेरे हुन्छ आमा', 'रातैले बुन्छ' जस्ता गीत तपाईंलाई पनि मन परेकै होला।
यी श्रवणले लेखेका केही प्रतिनिधि गीत हुन्। यतिले मात्र श्रवणको गीत लेखनको आयाम समेट्दैन।
श्रवणले लेखेको टेलिशृंखला 'दलन' को 'माथि माथि अरूहरू' पनि धेरैले रूचाएको गीत हो। दलित मुद्दामा बनेको दलन नवीन सुब्बाले निर्देशन गरेका हुन्। यसको गीतमा चर्चित शुभबहादुर सुनामको संगीत तथा नरेन्द्र प्यासी र प्रतिमा सुनामको स्वर छ।
रंगमञ्चका लागि पनि श्रवणले धेरै राम्रा गीत लेखेका छन्। आदिवासी, जनजाति, दलित, महिला, बालबालिकालगायत सामाजिक, सांस्कृतिक वा राजनीतिक मुद्दामा गीत चाहिँदा श्रवणकै खोजी हुन्छ।
नेपाली कांग्रेस पार्टीसमेत प्रवेश गरेका श्रवणका अनुसार यो देशमा कांग्रेसले मात्र नभई एमाले वा माओवादीजस्ता पार्टीले गीत लेखाउनु पर्दा पनि उनैलाई रोज्छन्।
किन होला?
'जसका लागि लेखे पनि दायित्वबोधका साथ लेख्छु। हरेक गीत लेख्ने बेला विषय, पात्र, भूगोल, भाषा-संस्कृति र राजनीतिलाई नजिकबाट इमान्दारीपूर्वक बुझ्ने प्रयास गर्छु,' उनको भनाइ छ।
यस्तै अभ्यासले होला, कविताजस्तै श्रवणका गीत पनि शिल्प, सौन्दर्य र विषयका हिसाबले उत्कृष्ट हुन्छन्। सांस्कृतिक विविधताभित्रका भिन्न सांस्कृतिक सौन्दर्यको खोजीमा उनले फरक जाति, भाषा-संस्कृति र पात्रलाई आफ्ना गीतमा ल्याएका छन्।
उनका गीतमा पहिचान हराएका समुदायको अनुहार, भाषा, संस्कृति र परिवेशको कथा भेटिन्छ। पहिचान, विभेद, उत्पीडन र प्रतिरोधका मुद्दालाई समेत गीतको विषय बनाएका श्रवणका गीत कविताजस्तै नेपाली समाज चिहाउने आँखीझ्याल हुन्।
कविताजस्तै गीत लेख्ने बेला पनि उनी आफ्नो देश, समाज र जनजीवनको एउटा विशेष कथा भनिरहेको बोधका साथ लेख्छन्। गीत लेख्दा पनि कथावाचक बनिरहेका हुन्छन्। कथा भन्न प्राय: बिसे नगर्ची वा रामभरोस जस्ता सीमान्त पात्र रोज्छन्। यस्तै विशेषता श्रवणका गीतमा समाज रूपान्तरणप्रतिको प्रतिबद्धता झल्किन्छ।
२०४३ सालमा पहिलोपटक श्रवणको 'म क्षितिज हो, ब्युँझिएर परपर तिमी मलाई देख' बोलको गीत रेडियो नेपालमा रेकर्ड भएको थियो। सुरेन्द्र मुखिया र उषाकिरण अधिकारीले गाएको गीत बुलु मुकारूङले संगीतबद्ध गरेका हुन्।
एक सय पचासभन्दा बढी गीत रेकर्ड गराइसकेका श्रवण विगत ३५ वर्षदेखि गीतकारका रूपमा सक्रिय भई लेखिरहेका छन्। यहाँ हामीले श्रवणसँग हामीले उनकै रोजाइका सात गीतबारे कुराकानी गरेका छौं।
१. सुनकोशीको सुनको पानी-
सुनकोशीको सुनको पानी
परदेशीले पिउँदा
बगर भो मेरो जीवन
आशैआशमा जिउँदा
'सुनकोशीको सुनको पानी' श्रवणको दोस्रो गीत हो। चर्चाको हिसाबले भने उनलाई सफलताको स्वाद चखाउने पहिलो गीत।
भोजपुर, दिल्पामा जन्मेका श्रवणको गाउँबाट बग्ने पिखुवा खोलाको पानी २२ जँघार तरेर अरुण नदीमा मिसिन्छ। जब उनलाई आफ्नै काका संगीतकार बुलु मुकारूङले गीत लेख्न भने, उनले त्यही अरुण किनारको जनजीवनको भोगाइलाई शब्दमा उतारे। त्यसमा अरुण, तमोर र कोशी नदीलाई सगोलमा जोडे।
श्रवणका अनुसार त्यस बेला अरुण खोला किनारमा बाटो हिँड्ने बटुवाका लागि चिया, जाँड, रक्सी, रोटी बेच्ने पसल हुन्थे। भारत, मलायाका लाहुरे अक्सर त्यहाँ बास बस्थे। परदेशी र स्थानीय युवतीबीच भावनात्मक र शारीरिक सम्बन्धसमेत गाँसिन्थ्यो। लाहुरेहरू फर्किने आश देखाएर जान्थे, युवतीहरु कुरेको कुर्यै हुन्थे। गीतमा श्रवणले यस्तै युवतीको वेदना लेखेका थिए।
आञ्चलिक कथा भन्ने यो गीतलाई संगीतकार बुलु मुकारूङले पूर्वेली लोकलयमा ढाले। गीतमा दार्जिलिङकी लासिमित राईको मिठो स्वर जोडियो। केही समयअघि कोरोनाका कारण ज्यान गुमाएकी गायिका लासिमितको पहिलो गीत भएकाले पनि श्रवणलाई यो विशेष लाग्छ।
श्रवणका अनुसार पूर्वेली लोकलयमा धुनबद्ध यो गीत पूर्वी नेपालका स्रोताले नै विशेष रूचाएका थिए।
गीतबारे श्रवण भन्छन्, 'गीतमा सीमान्त पात्रको सानो कथा छ। एउटा यस्तो युवतीको कथा जसले त्यसअघि रेडियो नेपालमा बज्ने गीतमा स्थान पाएको थिएन।'
२०४६ सालमा पञ्चायती व्यवस्था ढल्नुअघिको गीत भएकाले यसका शब्दबारे रेडियो नेपालमा सोधपुछसमेत गरिएको श्रवण सम्झन्छन्।
उनले भने, 'सुनकोशीको पानी परदेशीले पिउँदा भन्ने अंशलाई कोशीको पानी भारतले अतिक्रमण गरेको अर्थमा पनि बुझियो। मैले यो राजनीतिक नभएर विशुद्ध सामाजिक गीत हो भनेर स्पष्टीकरण दिनुपरेको थियो।'
२०२५ सालमा जन्मेका श्रवण यो गीत लेख्ने बेलामा २१ वर्षका थिए, 'अहिले सोच्दा त्यो उमेरमै गम्भीर गीत पो लेखिएछ जस्तो लाग्छ।'
यो गीत स्वर्गीय कवि माधवप्रसाद घिमिरेले समेत मन पराएका थिए। कविभन्दा गीतकार श्रवणका प्रशंसक घिमिरे उनलाई भेटेका बेला भनिरहन्थे, 'आहा! सुनकोशीको सुनको पानी।'
२. तिमी तारेभीर-
तीन दशक पुरानो यो गीत शान्तिराम राईको संगीत र पवित्र सुब्बाको स्वरमा रेकर्ड भएको थियो। आजसम्म रूचाइने यो गीत रेडियो/एफएमहरुमा दिनरात घन्किन्थ्यो। श्रवण यसलाई गाउँको चित्र बोकेको आधुनिक गीत भन्छन्। तर यो गाउँकै विम्ब, प्रतीक र सौन्दर्यले भरिएको प्रेम गीत हो।
धेरैजसो लोकलय समातेर लेख्ने श्रवणले यसमा लोकलय पक्रेका छैनन्। आधुनिक भए पनि गीतको अनुहार भने गाउँकै छ।
हरेक पटक यो गीत सुन्दा श्रवणलाई लाग्छ, 'म पहाडी गाउँबाट सहर आएको मान्छे। गीत लेख्दा म बढी अतीतमुखी भएर कतै न कतै आफ्नै गाउँठाउँको चित्र उतार्दो रहेछु।'
यसमा पनि उनले आफ्नै गाउँको तारेभीरलाई विम्ब बनाएका छन्। धेरैले श्रवणलाई यो तारेभीरको अर्थ सोधेका छन्।
'नेपालभरि भीरहरूको नाम राख्ने चलन छ। मेरो गाउँमा परेवाभीर, तारेभीरजस्ता भीर छन्,' श्रवणले भने, 'अरु भीर रुखपातसहितका हुन्छन्। तारेभीर परबाट हेर्दा टल्किने पत्थर मात्र देखिन्छ। चट्टानैचट्टानको अनकन्टारको भीरमा लहरा फैलिएको हुन्छ। गीतमा केटीले केटालाई ठूलो तारेभीर र आफूलाई लहरा मानेर आफ्नो भावना पोखेकी छिन्।'
हालै रेवत राईको स्वरमा 'मेल भर्सन' सार्वजनिक भएपछि 'तिमी तारेभीर' फेरि चर्चामा छ।
३. माथिमाथि शैलुङेमा-
यो श्रवणको सर्वाधिक चर्चित गीत हो।
'जब मेरा लागि कवि परिचय अपुग हुन्छ, म यही गीतको नाम लिन्छु। माथिमाथि शैलुङेमाको लेखक भनेपछि जुनसुकै कुनाका नेपालीले चिन्छन्,' श्रवण भन्छन्।
गायिका कुन्ती मोक्तानलाई समेत चर्चामा ल्याउने यो गीतमा शिलाबहादुर मोक्तानको संगीत छ। धेरैलाई नचाउन सफल माथिमाथि शैलुङेमा श्रवणका लागि रमाइलो गीत मात्र होइन, यसका एक–एक शब्द सचेत रूपमा प्रयोग गरेको उनी बताउँछन्।
'यो गीत जुन बेला बन्यो त्यस बेलासम्म मंगोल पात्रलाई गीतमा विरलै ल्याइन्थ्यो। चौंरी डुलाउने श्रमिकलाई नायकत्व दिइएको र तामाङ युवकलाई हिरो बनाइएको गीत हो,' उनले भने।
गीतमा तामाङ सँस्कृति झल्किने अरू कुरा पनि छन्। शैलुङ भन्नासाथ तामाङ मिथ र जीवन संस्कृति जोडिन्छ। श्रवणले भने, 'तामाङको साँस्कृतिक महत्वको ठाउँ शैलुङ जोडेर गीत लेख्दा लुङदर फरफराइरहेको भोजपुरको अग्लो डाँडाको चित्र आँखामा नाचेको थियो।'
जहाँजहाँ तामाङ समुदाय छन्, त्यहा शैलुङ हुन्छ। धेरैका लागि दोलखाको शैलुङ चर्चित छ। श्रवणलाई एक पटक दोलखाका मन्त्रीले 'हाम्रो गीत लेखिदिनुभयो' भन्दै अभिनन्दन गर्ने भनेका थिए।
श्रवणले यो गीत याक चुरोटको बट्टाभित्रको टल्कने कागजमा कोरेका थिए।
'यो गीत लेख्नुअघि मैले हारजीत शीर्षकमा कविता लेखेको थिएँ। कविता लेखिसक्दा पनि मभित्रबाट पोखिन अझै केही बाँकी थियो। कवितामा पोखिएर नपुगेपछि मैले गीत लेखेँ,' उनी भन्छन्।
गीत लेखेको कागज उनले सर्टको खल्तीमा राखेका थिए। भोलिपल्ट बिहान पशुपति मन्दिरतिर टहलेर घट्टेकुलोतिर फर्किँदै गर्दा कालोपुलमा शिलाबहादुर मोक्तान र कुन्ती मोक्तानसँग जम्काभेट भयो।
त्यति बेलासम्म श्रवणका गीतमा लासिमित राई र पवित्र सुब्बाले गाएका गीत हिट भइसकेका थिए। कुन्तीले स्कुटरको पछाडिबाटै भनिन्, 'श्रवण भाइ, मलाई चाहिँ गीत नदिने?'
श्रवणले सर्टको खल्तीमा हात हाल्दै अघिल्लो रात लेखेको गीत थमाइदिए।
उनी सम्झन्छन्, 'त्यसपछि लामो समय हाम्रो भेट भएन। एकैपटक रेकर्डमा यो गीत सुन्दा पो रोमाञ्चित भएँ।'
रसिलो–झरिलो यो गीतका अंश पनि चर्चित छन्। जस्तै,
कुमारीको बैंसजस्तो कुन फूल हाँसेको छ..
मैले जति मारुनी कल्ले नाचेको छ...
यस्तै सुक्तिमय प्रस्तुतिका कारण गीत मान्छेको जिब्रोमा झुन्डियो। अत्यधिक लोकप्रिय भए पनि यो गीत सुरूमै झ्याप्पै चलेको होइन। श्रवणका अनुसार गीत चल्न दुई/तीन वर्षै लाग्यो।
अचेल टिकटक, रियालिटी सो वा सामाजिक सञ्जालका माध्यमले पुराना वा ओझेलमा परेका गीत चलेजस्तै त्यो बेला विद्यालयमा हुने साँस्कृतिक कार्यक्रमले गीत चल्न मद्दत गर्थ्यो। माथिमाथि शैलुङेमा पनि विस्तारै विभिन्न कार्यक्रममा नाच्ने बेला पहिलो रोजाइ बन्न थाल्यो। तामाङ बिटमा बनेको यो गीतले आज पनि धेरैलाई नचाइरहेको देखिन्छ।
४. सुन रे सियाराम-
श्रवण सिमान्त पात्रलाई केन्द्रमा राखेर इतिहासदेखिको उत्पीडनको कथा भन्न सिपालु छन्। सुन रे सियाराममा उनले निर्दोष कमलरी युवतीको वेदना पोखेका छन्।
मुख्यतः नेपालको पश्चिम तराई क्षेत्रमा थारू समुदायका मानिसले साहुको घरमा छोराछोरी काम गर्न पठाउने चलन थियो। काठमाडौंको सम्भ्रान्त वर्गले कमलरीमाथि गर्ने मानसिक तथा शारीरिक शोषणका घटनाबारे श्रवण जानकार थिए।
घर, आफन्त, साथीसंगी र प्रेमी छाडेर सहर आएकी कमलरीको दुःखलाई उनले गीत बनाए। मधेस आन्दोलनपछि मधेसभित्रका थारू समुदायका राजनीतिक र साँस्कृतिक अधिकारको मुद्दा सतहमा आए। यही सन्दर्भमा यो गीत जन्मेको भन्न सकिन्छ।
उनी थारू समुदायले भोगेका उत्पीडनबारे गीत नभएकाले सचेत रूपमा यो लेखेको बताउँछन्। भाषा, भूगोल, सँस्कृति र पात्रअनुसार कला सौन्दर्य पनि फरक हुने श्रवणको मत छ।
विषय र पात्रले मात्र राम्रो गीत बन्ने होइन। गीत राम्रो बनाउन श्रवण सम्बन्धित पात्र र परिवेशको भाषा–सँस्कृति टिप्छन्।
'जसबारे लेखेको हो, त्यो पात्र वा समुदायको भाषा टिप्न नसके प्रभावकारी हुँदैन। तर उनीहरूको भाषामा मात्र गीत बनाउँदा धेरैले नबुझ्ने चुनौती पनि हुन्छ। म यसमा सन्तुलन राख्ने प्रयास गर्छु। यस्तो सन्तुलन असाध्यै गाह्रो काम हो,' उनले भने।
थारू भाषामा आदरार्थी शब्द कम हुने भएकाले श्रवणले यो गीतमा तँ प्रयोग गरेका छन्। तँ प्रयोगले गीतमा पात्रको आवेग र व्यंग्य पनि प्रभावकारी रूपमा आएको छ।
जस्तै,
अब तँ एक्लै घुँघी टिप्
अब तँ एक्लै माघी मान्
अब म तलाईं पर्खन्न
अब म देहात फर्कन्न
सुन रे सियाराम !
२०५९ सालमा श्रवणलाई उनका प्रिय यार संगीतकार आभासले पलेँटी शृंखलामा उनका रचना एकल प्रस्तुति गर्ने भने। श्रवणले पलेँटीका लागि करिब पन्ध्र/सोह्र गीत–कविता रचे। सुन रे सियाराम तिनैमध्ये एक थियो। आभासको संगीत र गायिका मीनाको स्वरमा पलेँटीबाटै सार्वजनिक भयो।
'यो गीत सुनेर उपस्थित धेरैका आँखा रसाएका थिए', उनले भने।
५. तिम्ले मिसकल गर्दा-
श्रवणले बिसे नगर्ची र रामभरोसजस्ता छुटेकाहरूलाई कवितामा खोजीखोजी ल्याएका छन्। गीतमा पनि छुटेका पात्र, समुदाय र सँस्कृति ल्याउनु उनको प्राथमिकता हो।
विदेश जानेका भावना नेपाली गीत वा साहित्यमै धेरै दोहोरिने विषय हो। तर तीमध्ये धेरै गीतमा एकतर्फी कि नजाऊ, आफ्नै देशमा गरिखानुपर्छ भनिएको छ। कि त म विदेशमा छु भनेर दुःख बिसाइएको हुन्छ। यी गीतमा विषय दोहोरिए पनि महत्वपूर्ण पात्र र पाटा छुटिरहेका थिए।
यही विषयलाई फरक तरिकाले संवाद शैलीमा लेखेको गीत हो, तिम्ले मिसकल गर्दा।
केटा: तिम्ले मिसकल गर्दा
१५ तलामाथि रङ लाउँदैथेँ म
केटी: तिम्रो फोन आउँदा
बाघेभीरमाथि भारी लाउँदैथेँ म
कुराकानीका यस्तै सिलसिला जोड्दै प्रवास र स्वदेशमा रहेका दम्पत्तीको संवाद उतारिएको गीत हो यो। वैदेशिक रोजगारीमा गएका श्रीमान र नेपालमा रहेकी श्रीमती रमाइलो शैलीमा आफ्नो दिनचर्या सुनाउँछन्। अनि थाहै नदिई आफ्ना दुःख पनि साट्छन्।
टाढाबाट बात मार्ने दम्पत्तीको संवादमा लाखौं नेपालीको कथा भेटिन्छ। यो संवादको शैली यस्तो छ कि स्रोतालाई ढिलो गरी मात्र गीतले आफ्नो मन चसक्क पारेको महसुस हुन्छ।
नेपाली समाजको सामूहिक भोगाइजस्तो लाग्ने यो गीत श्रवणले खाडी मुलुक घुमेको अनुभवमा आधारित भई लेखेका हुन्। पहिला तारेभीरबारे लेखेका श्रवणले यसमा बाघेभीरको सन्दर्भ ल्याएका छन्। प्रेम गर्ने जोडीको सम्बन्धमा दुरीले ल्याएको भयलाई चित्रण गर्न उनले बाघेभीरलाई प्रतीकात्मक रूपमा प्रयोग गरेको बताए।
यो पनि पलेँटीकै क्रममा रेकर्ड भएको गीत हो। आभास र मीनाले गाएको युगल गीतबाट श्रवणले धेरैको प्रशंसा पाएका छन्।
श्रवण कतिपय ठाउँमा गीत पनि पढिदिन्छन्। यो गीत पनि धेरै पटक पढेका छन्। यो श्रवणलाई अझै पनि गीतको भिडिओ बनेको भए अझै धेरै स्रोतासम्म पुग्थ्यो भन्ने लाग्छ।
६. तुइन-
गत साउन १५ मा जयसिंह धामी तुइनबाट महाकाली नदीमा खसेर बेपत्ता भएको घटना राष्ट्रिय शोकको विषय बनेको थियो। तुइन लामो समयदेखि नेपाली समाजको कठोर दैनिकी र पछौटेपनको विम्ब बनेर बसेको छ। तुइनमा जोखिमपूर्ण यात्रा गर्ने क्रममा जयसिंह धामीजस्ता धेरै वेपत्ता भएका छन्।
सर्वसाधारण नेपालीका यस्तो दुःखले छोएर श्रवणले जयसिंह धामी बेपत्ता हुनुअघि नै लेखेका थिए-
तुइन समाइ गैजाउला
तरे संसार घुमी आउला
झरे माछा भइजाउला...
यो गीत श्रवणले तत्कालीन प्रधानमन्त्री केपी ओलीले तुइन हटाउने घोषणा गरेपछि लेखेका छन्। वर्षौंअघि तुइनमुक्त देश बनाउने उद्घोष भए पनि अझै यसबाट मान्छे खसेर बेपत्ता हुने वा मरेको खबर आउन छोडेको छैन।
श्रवणले यो गीत पनि पलेँटीकै क्रममा लेखेका हुन्। आभासको संगीतमा लयबद्ध यो गीत डाक्टर सुमन थापाले गाएका छन्।
तुइनमा सुदूरपश्चिमका आममानिसको कथा छ। गीतमा उनले स्थानीय बोली र भाषा पक्रिने प्रयास गर्दै तुइनलाई समकालीन राजनीतिक सन्दर्भसँग जोडेका छन्। श्रवणले कसरी समाजका फरक भूगोल, संस्कृति र तहतप्काको कथा भन्छन् भन्ने उदाहरण हो यो गीत।
दुरदराजका मानिसको गीत लेख्ने श्रवण भन्छन्, 'तुइनलाई हाम्रो पूर्वतिर घिर्लिंङ भन्छन्। घिर्लिंङबारे प्रशस्त लोकगीत छन्। मैले पनि हाम्रो दुखियारी दिनचर्या र कठिन दिनचर्याको अभिलेखका रूपमा यो गीत लेखेको हुँ।'
युवा छँदा गायक बन्ने सपना देखेका श्रवण आज पनि अझै गितार र हार्मोनियम बजाउँदै गीत गुनगुनाउन रमाउँछन्। आफैंलाई मन पर्ने तुइन गीत गितार बजाउँदै गाएको आफ्नै युट्युब च्यानलमा समेत राखेका छन्।
७. रातैले बुन्छ-
अनुप बरालको निर्देशनमा बनेको 'दोख' फिल्ममा समावेश यो गीत यही वर्ष सार्वजनिक भएको हो।
'हियारी किरात राई समुदायभित्रको असाध्यै परम्परागत लय हो। स्वतन्त्र रूपमा गीत लेख्न सजिलो हुन्छ तर लोकलय र लोकबोलीमा लोक सौन्दर्य उतार्न गाह्रो हुन्छ। यो गीत लेख्नु मेरा लागि चुनौतीपूर्ण काम थियो,' उनले भने।
स्रोताले सुन्दा लोकको गीत भन्ने पनि लाग्नुपर्ने र गीतकार श्रवणको दरिलो उपस्थिति पनि देखाउनुपर्ने दोहोरो चुनौती बोकेर गीत लेखेको उनले बताए। २०७२ सालको भूकम्पअघि नै निर्देशक बरालले श्रवणलाई गीत लेखिदिन आग्रह गरेका थिए।
श्रवणले भने, 'अनुपले फिल्ममा हाम्रै रैथाने लयको गीत लेख्नुपर्ने भनेपछि म धेरै पुरानो समयमा फर्केँ।'
पूर्वी नेपालका राई समुदायको परम्परागत हियारी लयमा बनेको यो गीतलाई श्रवण आफूले लेख्दै आएको शैलीभन्दा अलग भएको बताउँछन्। जसरी नेपाली समाजमा विविध समुदाय र भिन्न सँस्कृति छन्, श्रवण आफ्नो गीतमा पनि त्यस्तै विविधता आउनुपर्यो भन्ने मान्यता राख्छन्।
'विविधता हुनु भनेको सँस्कृतिअनुसार फरक सौन्दर्य हुनु पनि हो। विविधताभित्र जति गहिरिएर जान सक्यो मेरो रचना सबैका लागि स्वीकार्य हुन्छ भन्ने लाग्छ। म त्यसरी नै विषय र शैली टिप्छु।'
सौन्दर्यको खोजी गर्ने क्रममा रैथाने लयमा पुगेका श्रवणको यो गीतमा यही विधामा सक्रिय गायिका झुमा लिम्बूले गाएकी छन्। नेपालका जातजातिको संगीतबारे औपचारिक अध्ययन गरेका पुष्पा–संगमले संगीतबद्ध गरेका छन्।
हियारी राई समुदायमा महिलाहरूले आफ्नो वेदना पोख्ने गीत हो। सार्वजनिक हुन बाँकी दोख फिल्ममा पनि त्यसरी नै छायांकन गरिएको छ। गीतको सार्वजनिक भिडिओमा माओवादी द्वन्द्वकालको समय चित्रण गरिएको छ।
श्रवणका अनुसार फिल्मकी मुख्य पात्रको श्रीमानको मृत्यु र छोरा बेपत्ता भएका हुन्छन्। रक्सी पसल चलाउने उनलाई त्यहाँ आउने ग्राहकले दुःख दिन्छन्। यही सन्दर्भमा मुख्य पात्रको पीडाको उकुसमुकुस पोख्ने गरी उनले शब्द लेखेका हुन्।
'पात्रले नगाएर पृष्ठभूमिमा बज्ने यो गीतमा त्यही छटपटी उतार्नुपर्ने थियो। यसरी लेख्छु हुँदैन, उसरी लेख्छु हुँदैन। दुई हप्ता लाग्यो,' उनले भने।
श्रवणले समय खर्चेजत्तिकै सशक्त शब्द पनि बुने-
रातैले बुन्छ
आकाशमा रुमाल
जुन तारा जडेर
मै बुन्छु रुमाल
छातीमा भरेर...