गुड फ्राइडे सिनेमा
नवाजुद्दिन सिद्दिकी यस्ता अभिनेता हुन् जसले 'बलिउड हिरो' को आम छवि र मान्यतालाई चुनौती दिन्छन्। आफ्नो अभिनयकै कारण दर्शकदेखि समीक्षकसम्मको मन जितेका नवाजुद्दिनको सफलता लोभलाग्दो छ।
सन् १९९९ मा 'सरफरोश' र 'शूल' जस्ता फिल्ममा छोटा भूमिकाबाट बलिउड प्रवेश गरेका उनले एक दशकसम्म यस्तै भूमिकामा अभिनय गरेर चित्त बुझाउनु पर्यो।
सन् २०१० मा 'पिप्ली लाइभ' र २०११ मा 'पतंग: द काइट' जस्ता फिल्ममा उनी अलि लामा भूमिकामा देखिए। सन् २०११ मा 'देख इन्डियन सर्कस' फिल्मले उनलाई उत्कृष्ट अभिनेताको पुरस्कार दिलायो। सन् २०१२ को 'तलाश', 'कहानी' र 'ग्यांग्स अफ वासेपुर' जस्ता फिल्मले उनको करिअरलाई नै नयाँ उचाइ दियो।
पर्दामा हिरो नभएर चरित्रअनुसारको जीवन बाँच्ने कलाकार नवाजुद्दिनको राम्रोमध्येको एउटा फिल्म हो 'लायर्स डाइस'।
सन् २०१३ रिलिज भएको यो फिल्म गीतू मोहनदासले निर्देशन गरेकी हुन्।
फिल्मको कथा यस्तो छः
तिब्बत नजिकैको सुदूर गाउँ चिटकुलकी आदिवासी महिला कमला (गीताञ्जली थापा) आफ्नो श्रीमानलाई घन्टामा दसौं पटक फोन गर्छिन्। हरेक पटक फोन उठ्ला कि भन्ने आश टुटेपछि झस्किन्छिन्।
पाँच महिनासम्म फोन र चिठी दुवै नपाएपछि उनी अन्ततः सानी छोरी साथमा लिई श्रीमानको खोजीमा सिमला जाने निर्णयमा पुग्छिन्। यो यात्रामा उनकी सानी छोरीको एउटा सानो बाख्रा पनि साथै हुन्छ।
कमलामा श्रीमानको खोजीमा सानो नानीका साथमा हिँड्ने प्रतिबद्धता दृढ छ। तर यो यात्रा सजिलो छैन। घर छाडेको पहिलो दिनदेखि नै उनले यो महशुस गर्छिन्। यात्रामै भेटिएका नवाजुद्दिन (नवाजुद्दिन सिद्दिकी) ले कमलालाई सहयोग त गर्छन्, तर पैसा लिएर मात्रै।
कमला निर्दोष र भयभित छन्। तर नवाजुद्दिन रुखो, कठोर र शंकास्पद लाग्छन्। यी दुई विपरीत चरित्रका पात्रले सिमलादेखि दिल्लीसम्मको यात्रा गर्छन्। कमलालाई आफ्नो श्रीमानसम्म पुग्न नवाजुद्दिनको साथको खाँचो पर्छ। नवाजुद्दिन पैसा पाउने स्वार्थले कमलाको काम गर्न तयार हुन्छन्।
सानो सहरबाट सपनाको खोजीमा निस्केका श्रीमानको खोजी कहाँ कसरी टुंगिएला? अन्तसम्मै दर्शकमा यो कौतुहल भइरहन्छ।
पृष्ठभूमि धेरै नखुलाइएको रहस्यमयी पात्रको भूमिकामा नवाजुद्दिन जमेका छन्। रुखो बोली, डरलाग्दा आँखा र पैसाका लागि मात्रै काम गर्ने स्वार्थी स्वभावलाई मजाले उतारिएको छ।
श्रीमानको खबर नपाएर व्याकुल कमलाको भूमिकामा गीताञ्जलीले गरेको अभिनयका लागि त राष्ट्रिय पुरस्कार जितेकी थिइन्। उनले सुदूरकी भूगोलकी आदिवासी र सीमान्तकृत महिलाका रूपमा गहिरो छाप छोडेकी छिन्।
साना सहरबाट ठूला सहरमा हराएका बेपत्ता मजदुरको कथालाई फिल्ममा छायांकन गर्ने क्रममा हिमाञ्चल प्रदेशको प्राकृतिक सौन्दर्यदेखि दिल्लीको अस्तव्यस्त बजार र यातायातका साधनलाई फिल्ममा सुन्दर ढंगले उतारिएको छ।
थोरै संवाद र क्लोजअप सटहमार्फत् पात्रका भावभंगीमा बढी जोड दिइएको यो फिल्मको सिनेमाटोग्राफीका लागि पनि राष्ट्रिय पुरस्कार दिइएको थियो। सनडान्स फिल्म महोत्सव, इन्टरनेसनल फिल्म फेस्टिभल रोटर्डम जस्ता महोत्सवमा प्रदर्शन भएको यो फिल्मले सोफिया इन्टरनेसनल फेस्टिबलमा जुरी अवार्ड जितेको थियो।