गुड फ्राइडे सिनेमा
अरूभीको बाल्यकाल रमाइलोसँग बितेको हुन्छ। बुबा, आमा र भाइको माया पाएकी उनी साथीहरूकी पनि प्रिय हुन्छिन्। तर किशोर उमेरमा पुगेपछि उनका खुसीहरू खोसिन्छन्।
उनको जीवनमा आइपरेको एउटा घटनापछि उनी घरबाट निकालिन्छिन्।
सहाराको खोजीमा रहेकी उनी केही दिन साथीको घरमा शरण लिन्छिन्। त्यसपछि तेस्रोलिंगी साथीसँगै मिलेर कोठा भाडामा लिएर बस्छिन्।
लुगा सिउने काम गरेर गुजारा चलाइरहेकी उनले यहाँसम्म आइपुग्दा ठाउँठाउँमा यौन दुर्व्यवहार भोग्नुपर्छ।
स्वास्थ्य कमजोर भए पनि मानसिक रूपमा बोल्ड अरूभी आफूसँग बलात्कार र दुर्व्यवहार गर्नेहरूलाई एउटा चर्चित टेलिभिजन कार्यक्रममार्फत् सार्वजनिक गर्ने अठोट लिन्छिन्।
अरूभीले उक्त टेलिभिजन कार्यक्रममा गएर जे गर्छिन्, त्यसले दर्शकलाई चकित पार्छ।
कार्यक्रम खिच्ने बेलाका घटनाक्रमले मिडिया र राजनीतिसम्मका कुरामाथि व्यंग्य हान्छ। बिरामी र स्वस्थ मान्छे को भन्ने प्रश्न उठाउने यो फिल्मले प्रहरी र सुरक्षाकर्मीहरूको काम गर्ने फितलो शैलीमाथि पनि प्रश्न उठाउँछ।
फिल्मको मुख्य पात्र अरूभीको अभिनयले मन जित्छ।
सामाजिक मुद्दा बोकेको फिल्मको कथालाई थ्रिलर शैलीमा देखाइएको छ। निर्देशन पक्ष उत्तिकै बलियो छ।
निर्देशकले सुरूमा फिल्मको गति समात्न गाह्रो पार्ने खालको रफ्तारमा अनि मध्यान्तरपछि अलि सुस्त गतिमा बिस्तारपूर्वक कथा भनेका छन्।
फिल्मको सिनेमाटोग्राफी र पार्श्व संगीत पनि रामो छ।
सन् २०१७ मा रिलिज भएको यो तमिल फिल्म अरूण प्रभुले निर्देशन गरेका हुन्। जम्मा एक करोड भारूमा बनेको यो फिल्म सुपरहिट हो। यसले ३५ करोड भारू कमाएको थियो।
फिल्मले विभिन्न विधामा १५ वटाभन्दा धेरै अवार्ड पनि जितेको छ।