चितवन राष्ट्रिय निकुञ्जको वारि राप्ती नदीको किनारमा छातैछाता झुण्ड्याएर पर्यटकलाई आकर्षित गर्ने गन्तव्य तयार पारिएको छ।
भरतपुर-२२ पटिहानीको यो ‘अम्रेला स्ट्रिट’ मा बिदाको दिन आन्तरिक पर्यटक खचाखच हुन्छन्। उनीहरू छातासँग फोटो खिच्छन्। आडैमा बगिरहेको राप्ती, पारिको जंगल, डुलिरहेका वन्यजन्तु हेरेर रमाउँछन्।
शनिबार यहाँ अन्य दिनमाभन्दा फरक हुँदै थियो। मान्छेहरू पालैपालो उभिएर कविता वाचन गर्दै थिए। घुम्न पुगेका पर्यटकहरू ध्यान दिएर कविता सुनिरहेका थिए।
यहाँ पर्यावरणको बारेमा कविता प्रतियोगिता चलिरहेको थियो। भरतपुर महानगरपालिका प्रज्ञा प्रतिष्ठानअन्तर्गतको साहित्य कला प्रवर्द्धन उपसमितिको आयोजनामा राष्ट्रिय पर्या कविता प्रतियोगिता-२०८१ भएको थियो।
हेटौंडाका सुवास सिन्तान लामाले ‘चौतारोः एक आत्मालाप’ शीर्षकको कविता सुनाए। विकासको नाममा मासिँदै गरेका चौतारोको आत्मालाप उनको कवितामा थियो। उनले यो प्रतियोगिताबाट प्रथम पुरस्कार जिते।
उभिएर आफ्नै चिहानमाथि शीर्षकको कविता सुनाएकी रौतहटकी रेणुका जिसी दोस्रो भइन्। उनले मान्छेले गरिरहेको प्रकृतिको विनाशका कारण भावी पुस्तालाई अँध्यारो र अस्वस्थ संसार हस्तान्तरण गर्नुपर्ने अस्था देखिएको भन्दै कवितामार्फत सजग गराएकी थिइन्।
भरतपुर-२८ का परिवेश चापागाईंले भेन्टिलेटरको सहर शीर्षकको कवितामार्फत तेस्रो पुरस्कार प्राप्त गरे। उनले बढ्दो सहरीकरण र प्रदूषणले पारेको असरका कारण भोग्नुपरेका समस्यालाई कवितामार्फत व्यंग्य गरेका थिए।
समर्पण न्यौपानेको अनन्त मुस्कान र सिजन श्रेष्ठको पर्वतको यात्रामा…शीर्षकको कविताले सान्त्वना पुरस्कार प्राप्त गरे।
महानगर प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव बालकृष्ण थपलियाकाअनुसार प्रतियोगिताका लागि देशका अधिकांश जिल्लाबाट कविता प्राप्त भएका थिए।
पर्यावरणको विषयमा २३० वटा कविता प्राप्त भएकोमा १६८ वटा मापदण्डभित्र परेर मूल्यांकनमा परेका थिए। तीमध्येबाट १० वटा कविता छनोट गरेर अन्तिम प्रतिष्पर्धा गरिएको थपलियाले बताए। अन्तिम प्रतिष्पर्धामा ८ जनामात्रै सहभागी भए।
निर्णायक गीता त्रिपाठीले बढिरहेको सहरीकरणले प्रकृति जोखिममा परेको बेलामा भरतपुरमा गरिएको पर्या कविता प्रतियोगिताले संरक्षणमा भूमिका खेल्ने बताइन्। ‘बाँच्नकालागि हाम्रो जति अधिकार छ अरू प्राणीको पनि त्यति नै अधिकार छ,’ उनले भनिन्, ‘प्रकृतिलाई बचाउन, प्रकृतिमैत्री बन्न, बनाउन यस्ता कार्यक्रम सहयोगी हुन्छन्।’
पर्या कविता प्रतियोगिताको संयोजन कवी भूपिनले गरेका थिए। उनकाअनुसार नेपाली साहित्यमा प्रकृति संरक्षणको विषयले असाध्यै कम स्थान पाइरहेको छ।
‘प्रतियोगिताहरूमा सयौं कविता वाचन हुँदा पर्यावरणबारे २-४ वटा पनि कविता हुँदैनन्। प्राय: कविता परदेशका पीडा, महिलाका पीडा, उत्पीडन, विभेद, देशभक्तिका कुरामा आधारित लेखिने गरेका छन्,’ उनले भने, ‘चितवन वन, वन्यजन्तुमा आधारित पर्यटनको केन्द्र भएकाले पर्यावरण जोगाउन यहाँ गरिने कला साहित्यसम्बन्धी गतिविधिको भूमिका पनि महत्वपूर्ण हुन्छ भनेर यो कार्यक्रम गरिएको हो।’
प्रकृति संरक्षणका लागि जनचेतना जगाउन कला साहित्यलाई माध्यम बनाउने उद्देश्यले २०५५ सालमा पोखरामा संरक्षण कविता आन्दोलन सुरू भएको थियो।
गाउँ-गाउँमा पुगेर संरक्षणको विषयमा कविता लेख्ने, सुनाउने गर्थ्यो त्यो आन्दोलनले। साहित्यकार सरुभक्त संयोजक रहेको यो आन्दोलनका सदस्य कवि भूपिनले पर्यावरणका विषयमा धेरै कविताहरू लेखेका छन्। पछिल्ला पुस्ताले पनि संरक्षणबारे कविताहरू लेखिराखे पनि प्रतियोगिताहरूमा निकै कम सहभागी हुने उनले बताए।
भरतपुर-२२ का वडाध्यक्ष विष्णुराज महतोले जलवायु परिवर्तनको असर भोगिरहेको बेलामा पर्या कविता प्रतियोगिताले वातावरण संरक्षणका लागि सजग गराएको बताए।
‘अहिले विकासको नाममा वन विनाश, चुरे दोहन भइरहेको छ। हिमालको हिउँ सुकिरहेको छ। हामी हात बाँधेर बसे प्रकृति थप बिग्रिँदै जान्छ,’ महतो भन्छन्, ‘चितवनको त सम्भावना र भविष्य पर्यापर्यटन नै हो। यहाँ प्रकृतिले दिएको सम्पत्तिलाई जोगाउन सबै जिम्मेवार बनेर लाग्नुपर्छ।’
प्रतियोगितामा त्रिपाठीसँगै निमेश निखिल र प्रकाश चापागाईं पनि निर्णायक थिए।